बेलायतमा ८२ भुटानीले शरण पाए

काठमाडाँै, ६ कात्तिक 

गृह मन्त्रालयले नेपालमा बसोबास गरिरहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने क्रम जारी रहेको जनाएको छ ।

    मन्त्रालयका सहप्रवक्ता प्रल्हाद पोख्रेलका अनुसार सरकारको उक्त नीतिअनुसार पछिल्लो समयमा बेलायतमा ८२ जना शरणार्थीको बसोबासको व्यवस्था मिलाइएको छ ।

    सरकारले भुटानबाट नेपाल आई शरणार्थी शिविरहरूमा रहेका नागरिकलाई तेस्रो देशमा बसोबास गराउने नीतिअनुरूप संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानडा, नर्वे, न्यूजिल्यान्ड, डेनमार्क र नेदरल्यान्डसमेत सातवटा मुलुकमा बसोबासको व्यवस्था मिलाउँदै आएको छ ।
    
    तर पछिल्लो समय बेलायतले शरणार्थीको व्यवस्था मिलाउन सहमत भएको मन्त्रालयले जनाएको छ ।

    सहप्रवक्ता पोख्रेलका अनुसार सरकारले असोज १४ गतेसम्म तेस्रो मुलुकमा गई बसोबास गर्ने शरणार्थीको सङ्ख्या ३६ हजार ६१८ जना रहेको छ ।

    तीमध्ये १८ हजार ७६ पुरुष छन् भने बाँकी महिला छन् ।

    मन्त्रालयका अनुसार हाल नेपालका शिविरमा रहेका शरणार्थीको सङ्ख्या ७५ हजार ६७१ रहेको छ ।

 

 

 

रासस