‘दशैंलाई राष्टिय पर्व नमान्नु एकता खल्बल्याउन खोज्नु ‘: सोमनाथ घिमिरे (बहसमा फरक मत)

Read Time:6 Minute, 49 Second

 

हामी नेपालीहरूको महान् चाड  बडा दशैंको महत्व धार्मिक-सांस्कृतिक हिसाबले मात्र उच्च रहेको नभै राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्ने विशेष पर्व र अवसरका रुपमा पनि विशिष्ट छ । नेपाल जस्तो बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधताले युक्त मुलुकमा बडा दशैंलाई सबै जातजाति, भाषाभाषी र विविध धर्मावलम्बीले विशेष राष्ट्रिय चार्डपर्वका रुपमा मनाउँदै आएको लामो परम्परा छ ।

बडा दशंै र विजया दशमीको प्रसंगसंग जोडिएका धार्मिक-सांस्कृतिक गाथाहरू एकातिर छन् भने सामाजिक सद्भाव र मेलमिलापको आदर्शमय संस्कृतिको जागरण र अनुशरणमा यो पर्वको विशिष्ट योगदान छ । यो चाड हिन्दु धर्म-संस्कृतिको कट्टर अनुयायीको पर्व मात्र हो भनेर संकिर्ण सोच राखी तदनुरुपकै व्याख्या गरिने हो भने नेपालको मौलिक राष्ट्रिय संस्कृतिको पहिचानमा नै धक्का लाग्छ ।मूलतः लामो समयदेखि चल्दैआएको सनातनी परम्परा र बहुसंस्कृतिभित्र निर्मित राष्ट्रिय संस्कृतिको समन्वित रुप नै बडा दशैं हो र राष्ट्रिय एकताको सूत्रमा आवद्ध सम्पूर्ण नेपालीको सामूहिक सद्भावको द्योतक हो । नेपालमा साम्प्रदायिक सद्भाव जगाउने विशिष्ट सांस्कृतिक पर्वका रुपमा बडा दशैंको महत्वलाई जीवन्त राख्नु इतिहास र परम्पराले सुम्पिएको दायित्व हो ।

राज्य पुनःसंरचनाको नयाँ चरण सुरु भएको परिवर्तित सर्न्दर्भमा राष्ट्रिय एकताको संस्कारगत धारणा बलियो पार्नका लागि बडा दशैंको ऐतिहासिक सान्दर्भिकता र महत्व निरन्तर रहिरहँदा नेपालीहरूको सांस्कृतिक सम्पदाको जगेर्ना भैरहने र राष्ट्रिय सद्भाव पनि अक्षुण रहिरहने हाम्रो विश्वास छ । सबै नेपालीको घर संघारमा आइपुगेको बडा दशैंले सामाजिक सद्भाव र मेलमिलापको असल जीवनशैली अनुशरण गर्न प्रेरणा प्रदान गरोस्- हाम्रो यही शुभकामना छ ।

नेपालको वर्तमान अवस्था राजनीतिक रुपले अन्योलग्रस्त र अस्थिर प्रकृतिको छ भने सांस्कृतिक विचलनको लहरले पनि सामाजिक सद्भाव, सहिष्णुता र एकतावद्ध भावना नै खलबल्याउने चेष्टा गरिरहेको छ । आमूल राजनीतिक परिवर्तनको लहरले मुलुकको समग्र क्षेत्र कुनै न कुनै रुपमा प्रभावित भैरहेको बेला नेपालको सामाजिक सद्भाव र मेलमिलापको राष्ट्रिय संस्कृतिविरुद्ध विधर्मीका सुनियोजित षड्यन्त्रका खेलहरू अनेक प्रसंगसंग जोडिएर आएका छन् । जातिगत, भाषागत, धर्मगत, संस्कृतिगत र क्षेत्रगत विभेदका लहरहरू निर्देशित रुपमा नै उठाएर नेपालको राष्ट्रिय एकता र अखण्डतामाथि नै आँच ल्याउने गरी अनेक गतिविधिहरू परिचालित हुँदैआएकाले सांस्कृतिक विचलनको गति तीब्रतर छ र त्यसले राष्ट्रिय समस्याकै रुप लिंदैगएको छ ।

सामाजिक-सांस्कृतिक सद्भावको आधार नै खलबल्याएर निषेधको कुसंस्कार जागृत गर्राई नेपालको सांस्कृतिक ऐक्यवद्धतालाई विशृङ्खलित पार्ने षड्यन्त्रात्मक प्रयासहरू निरन्तर जारी छन् । नेपालको पवित्र भूमि सबै जातजाति, भाषाभाषी, वर्ग, सम्प्रदाय र समुदायको साझा सम्पदा हो भने बडा दशैं पनि सबै नेपालीको सांस्कृतिक धरोहर हो । राष्ट्रिय चार्डपर्वका रुपमा बडा दशैंको सांस्कृतिक विशिष्टता जोगाइराख्नु राष्ट्रिय एकता र आवश्यकताको सर्म्वर्द्धन गर्नु हो । विधर्मीहरू र परचक्रीहरूको भेदकारी नीतिको उक्साहटमा उद्मारी चरित्र पर््रदर्शन गरी राष्ट्रिय संस्कृतिको मानमर्दन गर्ने अनर्थकारी हरकत पनि भैरहेका देखिन्छन् । हाम्रो राष्ट्रिय पहिचानको राष्ट्रिय संस्कृतिलाई आसन्न संकटबाट जोगाउन राष्ट्रिय जागरण अभियानकै अपरिहार्यता अनुभूत भैसकेको छ ।

बडा दशैंको शुभ सन्देश भनेको आमनेपाली जनताबीच सद्भावना, मेलमिलाप, सहअस्तित्वबोध र ऐक्यवद्ध सांस्कृतिक चेतको जागरण नै हो । शान्ति, सुख र समृद्धिको मानवीय चाहना सामाजिक-सांस्कृतिक सद्भावबाट मात्र पूरा हुनसक्छ । वियोग र विछोडको अवस्थालाई संयोग र मिलनको अवस्थामा पुर्‍याउने र खराब प्रवृत्तिमाथि विजय प्राप्त गरी असल जीवनशैली अनुशरण गर्न प्रेरित गर्ने बडा दशैंको शुभ सन्देश सदा र्सवदा जीवनोपयोगी छ । सत्ता स्वार्थको विकृतिजन्य राजनीतिक अभ्यासले सिंगो समाज ग्रस्त भएको वर्तमान सर्न्दर्भमा बडा दशैं तथा विजया दशमीको सद्भाव, एकता र मेलमिलापको परम्परागत रुपमा अविरल प्रवाहित सन्देशले सबै नेपालीको मन-मस्तिष्कमा उज्यालो ल्याओस् र ऐक्यवद्ध सांस्कृतिक चेत जागृत गरोस्, यही नै हाम्रो शततः शुभकामना हो ।

 २५ असोजमा युगसम्वाद साप्ताहिकमा छापिएको सम्पादकीय 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %