‘जुट्ने बेला फुट्ने ?’

Read Time:7 Minute, 45 Second

मगर समुदाय सक्रमणकालिन र सम्बेदनशील अवस्थाबाट गुज्रिराखेको यो बेला सबैले आ-आफ्नो बिचार अनि दृष्टिकोण राख्नु  कर्तब्य हुन आउछ ।  बिचार, बहस, कृया-प्रतिकृयाले निस्कर्ष   निस्कन्छ ।

सुरेश कुमार पुन ( पुर्जा ) मगर

सन्दर्भ पुन समाजको प्रथम राष्ट्रिय सम्मेलन कै हो, जहासम्म  समुदायको रितीरिवाज, भाषा, संस्कृतिको विकास टेवा पुग्छ भने पुन समाजलाई छाता संगठनको रुपमा दर्ता गराउन कुनै आपत्ति छैन तर जातिको हकमा ‘हामी मगर होइन पुन मात्रै हो’ भनिन्छ भने त्यसमा  घोर आपत्ति प्रकट गर्न चाहन्छु ।नेपाल एकिकरणको क्रममा शाहबङ्शको उदय मगर राज्यबाट शुरु भो र त्यहिबाट बिस्तार पनि हुन पुग्यो । हामी सोझा मगरले बाठाहरुको राजनीति बुझेनौ । मोटाघाटा र बलिया मगर ठिटाहरुसंग यी लुराले के जित्लान् भनि द्रब्य शाहलाई मगरहरु मात्र दौडने राजा हुने लिगलिगे दौडमा सामेल गरायौं । भुल हामीले त्यहि गर्यौं । तिनका षड्यन्त्ररचित जालमा फस्यौं र छलकपटले द्रब्य शाहलाई बिजेता बनाइयो ।उनी मगरका राजा भए । त्यसपछि मगरले आफ्नो गुमेको राजपाट लिन्छ भन्ने भयले उनले त्यसपछि कहिल्यै त्यस्तो दौड  प्रतियोगिता नै गराएनन् ।

त्यसरी छलकपटको बलमा खडा गरिएको गोर्खा राज्य जुन पहिला मगरको थियो, बाट बृहत राज्यको एकिकरण हुरु गरिएको हो । उनको त्यो अभियानलाई पृथ्बिनारायण शाहले पूर्णता दिए । बिशाल नेपालको अभियानमा लागे । यो अभियानमा तिनलाई  मगर युवाहरुले नै अग्रपक्तिमा लडेर सहयोग गरे । मगरलाई प्रयोग गरेर थुप्रा मगर राज्यहरु खोसिए । गोर्खामा गाभियो । त्यसैले त्यतिबेला गोर्खाली शासनसत्ता र फौजमा मगरहरुको उल्लेखनीय पहुँच थियो ।

तर शासक त्यतिबेला मगरसंग अत्यन्तै संशकित थिए । बलिया मगर राज्यका शासकहरु मिली पुन: सत्ता खोस्छन् भनेर उनीहरुलाई कहिल्यै एक हुन दिइएन । त्यसका निम्ति उनीहरुलाई सबभन्दा पहिला मातृभाषामा कुरा गर्न दिइएन । यदि त्यसो गरिएमा ज्यान सजाय समेत दिइने गरिन्थ्यो । त्यसैले कतिपय मगरहरु आज पनि भाषा बोल्न सक्दैनन् । यस्तो तथ्यसत्यको ठोस विश्लेषण नगरि भाषा नजानेकै भरमा पुन मगर हैन भनिन्छ भने त्यो भन्दा ठूलो अन्याय केहि हुन सक्दैन । किनकी हामी पुनलाई इतिहासले नै ठगेकोछ । मगरसंघको नेतृत्वले यसो भन्यो भन्दैमा हामीले पनि पुन मगर हैनन् भन्दै छुट्टिन खोज्छौ भने त्यो पनि सहि बाटो होइन । त्यो भत्र्सनायोग्य कदम हो ।

साझा मगर संगठनको सम्मानित पदमा बसेर सबैलाई समेटेर समाजलाई एकताको सुत्रमा बाधी यसको बिकास गर्ने क्षमता छैन भने उक्त पदमा बस्ने अधिकार पनि छैन र टुक्र्याउने दुश्प्रयास पनि नगर्नु होला । तपाईंहरुका यस्ता नकरात्मक दृष्टिकोणले नै बिकास होइन समाजलाई बिखन्डनको बाटो तिर लैजान्छ ।
समाजको सम्मानित पद ग्रहण गरेपछि के बोल्नुपर्छ,  बोल्दा त्यसको असर र प्रभाब के पर्छ भन्ने कुराको हेक्का हुनु अति जरुरी छ र हरेक कृयाकलापको परिणाम के हुनसक्छ भन्ने सोच्नु जरुरी छ । पुन मगर हैनन् भनेर अनुसन्धान गराइराख्नै पर्देन । थापा ,राना ,आले, श्रिश, घर्ती, बुढा, रोका, जस्तै पुन पनि मगरकै एउटा हाँगा हो ।  मगर एकल थर र जाती होइन, सबै उप थरका संयुक्त नाम नै मगर हो । अझै खुल्ला र दुर्दर्शी सोचाइ छन भने हामीबाट छुटेका आफन्त छन्त्याल र भुजेल हरुलाई पनि समाहित गराउनु पर्ने समय हो यो ।

सानोमा आफ्नो नाम सुरेश पुर्जा लेख्थे र पुर्जा भनेको के हो भन्दा मगर हो भन्थे । पुन लेख्नुपर्छ भन्ने बुद्धि मैले बुढानिलकण्ठमा छात्रबृत्ति पाएपछि मात्र पाए । मेरै गाँउका एक जना दाज्यू जो छात्रबृत्तिमै म भन्दा अगाडि देखि त्यहा पढिरहनुभाथ्यो, वहाँले उपथर हैन थर लेख्नुपर्छ भनेपछि मैले पुर्जा नलेखाई पुन लेखाएको थिए ।  मैले घर फर्केर बुवाले आर्मी छुट्टि आउदा ल्याएको बाकसमा हेरे त्यहाँ पनि पुन लेखिएको रहेछ । बाहिर हाम्रो पहिचान पुनले हुदोंरहेछ भन्ने ज्ञान मैले त्यतिबेला बुझे ।

मित्रहरुले भने झै परिवर्तन सोचाइबाट हुनु पर्दछ । पुन समाज जस्तै पुर्जा समाज, गर्बुजा समाज, बुदुजा समाज, फगामी समाज आदि भबिश्यमा खुल्न सक्छन् । तर अहिले सबै मगरहरु यो सङ्क्रमण कालिन समयमा एकजुट भएर मगर राज्यको माग राखी जुध्नु पर्ने ठाउमा यसरी फुट्नु दुर्भाग्य नै ठान्दछु । म लगायत थुप्रै महानुभावहरु  फुटेर जाने कुराको घोर बिरोध प्रकट गर्न चाहन्छौं ।

नेपालका अन्य थुप्रै जातिहरुमा जस्तो हाम्रो मगर जातिमा को सानो को ठुलो भन्ने नै छैन यही नै मगर जातिको बिशेषता हो ।केहि मगरले समय अनुसार हिन्दूवादी चपेटामा परि आफ्नो धर्म परिवर्तन गरे । भाषा बोल्न बाट बन्चित गराइए । कतिले मिल्दोजुल्दो थर र कतिले त थर नै परिवर्तन गरि मगर बाट क्षेत्री भई जातै परिवर्तन गरे । यी सबैको ईतिहास साक्षी छ । तर ईतिहास जहिले पनि जित्नेले लेख्छ र लिखित ईतिहासको गर्भ मै छ वास्तविक यथार्थ ।
हुनत जात,थर,धर्म, क्षेत्रका कुराले बिवाद ल्याउछ र आफ्नो समाजमा कहिले पनि यी कुराहरु नगर्नु नै बेश भनिन्छ तर सत्य त बोल्नैपर्छ । सत्य यहि हो, हामी प्रकृत्ति पुजक हौं र यो बुद्धधर्मसंग धेरै नजिक छ । यस्तो सत्यलाई मनन गर्दे सबै मगर बन्धुहरु आफ्नो संस्कृति, परम्परामा समाहित हुन हार्दिक अनुरोध गर्दछु ।

म्याग्दी, घोरेपानी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %