पुन सखाप पार्ने राजनीति कताबाट आइरहेकोछ ?

Read Time:15 Minute, 42 Second

नेपाल मगरसंघको कतै अस्तित्व नठउ्दै म्याग्दीका समाज सुधारक तथा प्रख्यात पुन हिलका खोजकर्ता टेक बहादुर पुन मगरले १३-१५ माघ २०१३ सालमा स्थानीय पुनहरुलाई भेला गराई जातीय चेतना अभिबृद्धि गराएकाथिए ।

जेवी पुन मगर

त्यसको केहि महिनाको अन्तरालमा भार्सेका गिरिप्रसाद बुढाथोकी मगरले वरपर जिल्लाका सयौंको संख्यामा मगरहरु जम्मा गरि मगर सुधार समिति गठन गरेकाथिए । कालान्तरमा बुढाथोकी १ दर्जन बढी समय महत्वपूर्ण मन्त्री बनेर रेकर्ड कायम गरे । त्यसैको प्रतिफल र जागरणकै कारण नेपाल मगरसंघको सागठानिक शुरुआत भएको मानिन्छ । २०३८ सालमा बुटवलमा पोखराका हेमबहादुर पुनको अध्यक्षतामा गठन भएको नेपाल लांघाली परिवारले २०३९ सालमा पूर्णता पाएकोथियो । त्यसको अध्यक्ष पनि हेमबहादुर पुन नै थिए । समितिका कोषाध्यक्ष मनीबर गर्वुजा पुन मगर थिए । त्यसपछिको महाधिवेशनले कविराज पुन मगरको अध्यक्षतामा नया कार्यसमिति गठन गरेकोथियो । जसको कोषाध्यक्षमा यसचोटी पनि मनीवर गर्वुजा नै चुनिएका थिए ।

पुन मगरहकै नेतृत्वमा स्थापना भएर यहँसम्म आइपुगेको मगरसंघ अहिले १६ लाख मगरको साझा घरको रुपमा स्थापित छ । तर केहि अज्ञानीहरुको बदमासीलाई देखाउदै केहि उपद्रयाहाहरु ‘पुन मगर नै हैनन्’ भन्ने जहर फैलाउन उद्दत देखिन्छन् ।  तिनका हैसियत, पृष्ठभूमी, बुझाइ, बौद्धिकता कस्तो छ भन्ने तिनले मगर हैनन् भन्ने आधारहिन  तर्क देखेर नै झल्किन्छ । आफुले त अध्ययन गरेनन् गरेनन् अशिक्षित र सोझा पुनहरुलाई समेत तिनले उटपटांग गफ दिएर वेवकुफ बनाउन खोजिरहेकाछन् । पुन समाज नेपाल नामक संस्थाका केहि ब्यक्तिहरुको उटपटांगका कारण विश्वभरका पुनहरुले लज्जा ब्योहोनु परेकोछ । तिनका खाली मगजबाट उत्पन्न आधारहिन तर्कले धेरै पुनहरुले अन्य समूदायहरुमाझ मुन्टो झुकाउनुपरेकोछ ।

यस्ता तर्क गर्नेहरुले जर्वदस्ती कित्ताकाटको राजनीति शुरु गरेकाछन् । पुनलाई मगर भन्नेहरुलाई दुश्मनको रुपमा ब्याख्या गर्न थालेकाछन् । तोरण पुनको सम्पादकीयमा निक्लने पुनहिल पत्रिकाको (बर्ष ४ अंक ९ जेठ ०६७) सम्पादकीयमा पुन समाज नेपालले गरेको ‘पुन मगर हैनन्’ भन्ने निर्णय नमान्नेहरुलाई आधिकारिक रुपमा समाजले ठेगान लगाउने लेखिएकोछ । एउटा संचार चलाउने ब्यक्तिले समेत कलम र अक्षरको मर्म र शक्ति नबुझेको यो भन्दा गतिलो अर्काे उदाहरण हुनै सक्दैन ।

माओवादीले युद्धकालमा प्रतिद्धन्द्धिहरुलाई कार्वाही गर्दा प्रयोग गर्ने ‘ठेगान लगाउने’ शब्दले भौतिक कार्वाही जनाउछ । माओवादीले ठेगानको नाममा सयौंको संख्यामा निर्दाेषहरुको  निर्मम हत्या गरेकोछ । के पुन समाजले गर्न खोजेको त्यहि हो ? आफ्नो बेतुके लेडेढिपी नमान्नेलाइ कार्वाही गर्छु भन्नेहरुले उठाएको तर्क र मुद्दा कत्तिको इमान्दारीपूर्ण उठाइएकोछ, तौलनै पर्देन । यसैले स्पस्ट पार्छ । पुन समाज नेपाल माओवादीको भातृसंगठन हो वा होइन अझै घोषणाा नगरिसकिएको हुनाले केहि भन्न सकिदैन । तर यसका घोषणा, ब्यवहार र तर्क त्यहि बाटो उन्मूख देखिन्छ । बिना आधार आफ्नो नेतृत्व फाइदाका लागि जसरी माओवादीले जातीय राज्य भन्दै जनजातिलाई उक्सायो पुन समाज नेपालको पनि त्यस्तै लहड देखिन्छ । उपयोग गर्नमात्र यस्ता नारा दिइएको रहेछ भन्ने माओवादीले त्यो नीति छाड्नुले नै प्रस्ट हुन्छ । प्रचण्ड आफु सत्तामा पुग्न हतियार बनाएका र पछि मिल्काइएका जनजातिहरुका घैटामा बल्ल घाम लाग्न थालेकोछ तर यो रोग पुन समाज नेपाल भन्ने संस्थामा सरेको देखिन्छ ।

बहसमा शक्ति पुनजीले उठाएजस्तो म्याग्दीका पुनहरुको संस्थाले सबै पुनमगरहरुबारे निर्णय गर्ने कुनै अधिकार राख्दैन । त्यसले स्वंय म्याग्दीका पुनहरुको पनि निर्णय गर्ने हैसियत किन राख्दैन भने पुन समाज नेपालको महाधिवेशनमा बहुमतले पुनहरु मगर  हुन् भन्ने पारित गरिसकेकोछ । त्यहि कारण पुन मगर समाज नेपाल नामाकरण गरिएकोथियो । तर केहि ब्यक्तिको सनकमा रातारात बैठक डाकेर नामै परिवर्तन गरि मगर हटाइएकोछ । त्यसपछि मात्र पुन समाज नेपाल भएको हो ।  पुन मगर समाजका सल्लाहकार चीन बहादुर पुनको भनाईमा यो पूरै गैरकानुनी थियो । विधानमै नभएको र महाधिवेशनले दिएको म्यान्डेटलाई केहि ब्यक्तिहरुको जघमटबाट हटाउने निर्णय गैरकानुनी रहेको वहाको भनाई छ । यसले पनि यो संस्था माओवादी जस्तै कानुनीराज भन्दा पनि भद्रगोलमा विश्वास राख्छ भन्ने देखिएकोछ ।

पुन मगर हैनन् भन्नेले के के कारणले हैनन् त्यसको बैज्ञानिक कारण दिनसक्नुपर्छ । देशभर छरिएका पुन मध्ये कुन पुन मगर हैनन्  प्रस्ट खुलाउनसक्नुपर्छ । पुनभित्र पनि पाचसय बढी थरहरु छन् ति मध्ये ‘को मगर हुन् को हैनन्’ भन्न सक्नुपर्छ । एबीसी जान्ने बच्चाले बिश्वबिद्यालयको परिक्षा दिन्छु भनेसरी ब्यवहार देखँइरहेका ति उपब्रुजुकहरुले यसबारेमा केहि तयारी गरेका छन्, छैनन् भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण छ । यदि त्यस्तो अध्ययन गरिएको छ भने बाहिर ल्याउनुपरयो । सबै पुनलाई मगर हैन भन्ने पुन मगर समाज नामक संस्थाको बैधानिकता , त्यसको हैसियत म जस्ता पुनहरुले चिन्दैनन् पहिला त्यो पनि प्रस्ट पार्नुपरयो ।

नेपाल मगरसंघको निर्णयलाइ मैले सदा आदरपूर्वक मान्दै आएकँेछु । म जस्ता लाखौ मगरले मानेकाछन् । तर त्यहाँ पनि आफ्नो विमति राख्न पाइन्छ र राखिदै आइएकोछ । एमएस थापाले खोज गरेको अक्खारिकालाई सबै मगरले मानेकैछन् किनभने त्यसलाई लामो प्रक्रिया मार्फत मगरसंघले बैधानिकता दिएकोछ । भोलि कसैले त्यसको विकल्पमा अर्काे खोज गरेर नल्याउदासम्म या चुनौती नदिंदासम्म हाम्रो आधिकारिक लिपि अक्खालिपि नै हो ।मगरसंघले काइके, खाम र मगरात भाषालाई मान्यता दिएकोछ र यो बैज्ञानिक पनि छ । तर कुनै गतिलो बैज्ञानिक प्रमाण बिना केहिलाई मन नपरेकै आधारमा कुनै अमुक ब्यक्तिले यी मगरका भाषा हैनन् भन्छ भने त्यस्तो तर्क लाई मान्ने प्रश्नै उठ्दैन । त्यसको मगजमाथि नै हामी प्रश्न उठाइहाल्छौ । या उसको बदमासी केलाउन थाल्छौ ।  अहिले पुन मगर हैनन् भन्ने तर्कलाई दुरुस्त यहि कोटीमा राख्न सकिन्छ ।

मगरसंघले मगरको धर्म बौद्ध हो भनि महाधिवेशनबाट पारित गर्यो । केहिले यसमा असहमति पनि राखे । फरक मत राखे । मगर त बौद्ध मात्र हैन क्रिश्चियन, हिन्दु, मुस्लिम जे पनि हुनसक्छन् । तिनका लागि अन्याय भयो भनियो । यो तर्क स्वाभाविक थियो । तर ब्यक्तिले जे मानेपनि सामूहिक रुपमा बौद्ध नै सदर गरिएकोछ र प्रायश सबैले यो निर्णयलाई मानेकाछन् । महाधिवेशनबाट यो निर्णयलाई नहटाइदासम्म यो सबै मगरका लागि बैधानिक निर्देशन हो ।
तर पुन समाज नेपालको महाधिवेशनले पुन मगर हैनन् भन्ने निर्णय अझैसम्म गरेकोछैन ।  केहि ब्यक्तिको जमघटले मात्र त्यसो गरेकोछ जुन अबैधानिक छ । त्यसमाथि यो संस्थाले सबै पुनलाई समेट्दैन । पुन बस्ने राप्तिका कुनै प्रतिनिधि यो संस्थामा छैन । त्यसको अर्थ बहुसंख्यक पुनहरुले यसबारे केहि जानकारी पाएकाछैनन् ।े त्यसकारण पनि यदि यो संस्थाले महाधिवेशनबाटै यस्तो निर्णय गरेको भए पनि त्यसको बैधानिकतामा ठूलो प्रश्नचिन्ह उठ्ने थियो ।
पुन मगर समाज केन्द्रीय समिति २०६६ मा विधिवत रुपमा कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको  हो । यसको प्रथम महाअधिवेशन २०६६ सालमा भएको थियो । जसमा बहुमतबाट पुन समाजको नाम परिवर्तन गरि पुन मगर समाज गरिएकोथियो । तर केन्द्रीय समितिको बैठकबाट पुन मगर समाजको नाम परिवर्तन गरि पुनः पुन समाज गरि पुन समाजको केन्द्रीय भेलामा अनुमोदन गरियो । जुन विधानसम्मत नै छैन ।

अचम्म छ । आफुलाई मगर हैन भन्ने पुन समाज नेपालका अध्यक्ष केशर पुन  १२–१५ वर्ष मगर संघको केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पदमा रहेर काम गरेका हुन् । यिनलाई यतिबेला ब्रम्हज्ञान आएकोछ पुन मगर हैनन् भन्ने । समाज केन्द्रीय समितिमा रहेका व्यक्तिहरु नेपाल मगर संघमा पनि छन् . माओवादीको भातृसंगठन मगरात मुक्ति मोर्चाको जिल्ला र केन्द्रीय समितिको सल्लाहकार समितिमा पनि छन् अर्थात दुवै तर्फ रहेर सर्वसाधारणलाई भ्रममा पारिरहेका छन् । आफु मगर र मगरात भन्दै राजनीति गरिरहेकाछन् यता पुन मगर हैनन् भन्दै उक्साउदै हिंडिरहेकाछन् । पुनसमाज केन्द्रीय समितिका वर्तमान सल्लाहकार मनवीर गर्बुजा नेपाल लाङ्घाली परिवार संघ अर्थात नेपाल मगर संघको संस्थापक कोषाध्यक्ष थिए । २०३८ साल देखि २०५१ सालसम्म लगातार उनी त्यहि पदमा सक्रिय थिए । यी गर्वुजा हाल मगरात मुक्ति मोर्चाका केन्द्रिय सल्लाहकार पनि हुन् । तर यी बृद्धलाई देखाएर ‘पुन मगर हैनन्’ भन्ने उपद्रयाहाहरुले सबैको आखामा छारो हालिरहेकाछन् । मगर समाजका लागि  सम्पूर्ण यौवन सुम्पने यी बृद्ध कहिल्यै मगर विरोधी रहेनन् न छन् । 

पुन समाज नेपालका  सचिव खेम गर्बुजा मगरात मुक्ति मोर्चाका केन्द्रिय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हुन् । यीनका उटपटांग हेर्दा मगर भाडने यो मुद्दा माओवादीकै जाति जाति लडाउन्े षड्यन्त्र अन्र्तगत आएको हो भनि किन नमान्ने ? माओवादीले सबै जातिको राजनैतिक मोर्चा बनाएर ती जातिका संस्थाहरुमा भांडभैलो गराउदै आएकोछ । त्यसैको निरन्तरता होइन भन्ने आधार नै छैन ।अहिले नेपाल मगरसंघमा अध्यक्ष एमाले र अन्य सबै पद माओवादीको नेतृत्वमा छ ।  उनीहरु उता माओवादीको मगरात मोर्चामा पनि प्रमुख पदमा छन् । जस्तै नेपाल मगरसंघका महासचिव बसन्त घर्ती मगरात मुक्ति मोर्चामा उपाध्यक्ष छन् । यी नेताहरु मगरसंघ भन्दा बढी मुक्ति मोर्चामा सक्रिय देखिन्छन् ।

एमाले र माओवादी सबै जातीय संस्थामा घुसेर त्यसलाई निस्क्रिय पार्ने र आफ्ना भातृसंगठनहरुलाई बलियो बनाृउने रणनीतिमा लागिरहेकोछ । हाल जातीय संस्थाहरु पगुं बन्नुमा यहि रणनीतिले काम गरेकोछ । मगरात मुक्ति मोर्चामा सक्रियहरुले मगरसंघलाई कमजोर पार्न अनेकन षड्यन्त्र गर्न गरेकाछन् ।
जुन जुन जातीका संस्थाहरुमा माओवादी र एमाले घुसेकाछन् जुनमा घुस्न पाएका छैनन् त्यसको सक्रियता नाप्ने हो भने यो छर्लगं हुन्छ । त्यसैले भर्खर बामे सर्न थालेको र विश्वभर नेवटर्क बनाउन थालेको पुन समाजलाई छिन्नभिन्न पारेर एकजुट  हुन नदिने प्रचण्डपथले मगर समाजलाई नै भताभुंग पार्न खोजेको देखिन्छ ।
देशको तेस्रो ठूलो जातिलाई संगठित हुन नदिएपछि त्यसले कसलाई फाइदा पुर्याउछ त्यो भन्नै पर्देन । हिंजो युद्धकालमा पश्चिमा मगरहरुको खुनपसिनाले काठमाण्डौ खाल्डोमा छिरेका प्रचण्डहरु आज गण्डकका मगरहरुलाई उपयोग गरेर त्यसमा टिक्न चाहन्छन् । पुन मगर हैनन् भन्ने बिषाक्त हावा त्यहि घृणित राजनीतिबाट आएकँे हो । हिंजो देखि नै चल्दै आएको यस्तो राजनीति बुझ्ने हो भने यसको दुस्परिणामबाट सतर्क भए मात्र पुग्छ, डराउनुपर्देन ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %