राजाको पाऊमा पैसा चढाउने गणतन्त्रवादी म राजावादी ! : खपांगी

Read Time:4 Minute, 54 Second

२०६७ सालको हिन्दुहरुको ठूलो पर्व विजया दशमी कसरी मनाउने सोच्नु भएको छ ?
      मगरहरुको धर्म हिन्दु होइन । आफनो धर्म नै नभए पछि कसरी दशै मनाउने ? नेपालका मगरहरुले  विगत केही बर्ष अघि देखि दशै परित्याग गरिसकेका छन् । नेपाल मगर संघले स्पष्ट रुपमा मगरहरुको धर्म हिन्दु होइन बौद्ध हो भनि निर्णय गरेको छ ।   सोही अनुरुप मगरहरुले दशैलाई विगत केही बर्ष देखि परित्याग गरिसकेको अवस्थामा मैले  दशै मनाउने कुरै आउदैन ।
   

शाहीकालमा मन्त्री हुदा  यहाँले दशैमा टिका लगाउनु भयो त ? 

 शाहीकालमा म मगरको तर्फबाट मन्त्री भएको होइन । राष्ट्रिय जनमुक्ति पार्टीको नेताको हैसियतले मन्त्री भएको हो । कुनै पनि राजनैतिक पार्टीको धर्म हुदैन ।
राजनैतिक पार्टीले धर्म पनि मान्दैन, राष्ट्रिय जनमुक्ति पार्टी पनि एउटा राजनैतिक दल भएको र म पनि उक्त दलको नेताको हैसियतले मन्त्री भएकोले राजाको पालामा मन्त्री भएको अवस्थामा टिका लगाएको हो । त्यतिखेर गोरे बहादुर खपाङ्गी मगरले टिका लगाएको होइन एउटा राजनैतिक पार्टीको नेताले लगाएको हो ।

तर जनजातिलाई दशै परित्याग गर्न लगाउने आफु चाहिं लगाउने भनेर निकै आलोचना खेप्नु भो नि ?
   यहाँका राज्यसत्ता संचालकहरुले कोसी, गण्डकी जस्ता नेपालको महत्वपूर्ण नदीहरु बेच्दा केहि हल्ला चल्दैन, चलाइदैन । सब चुप्प बस्छन् तर यो गोरे बहादुर खपाङ्गीले दशैमा टिका लगाउदा यत्रो हंगामा गर्नुको कारण उनीहरु मलाई डोमिनेट गरेर समूदायको चेतना र आन्दोलनलाई मनोबैज्ञानिक रुपमा दमन गर्न चाहन्थे । यो प्रचारमा ठूलो राजनैतिक स्वार्थ लुकेकोथियो, जुन कुरा हाम्रै साथीहरुले बुझ्न र बुझाउन चाहनु भएन ।
शासकहरुले के बुझेकाथिए भने राष्ट्रिय जनमुक्ति पार्टी देशको एउटा शक्तिशाली पार्टी बन्न लागेको छ ।

 पार्टीले उठाएको मुद्दा नेपालको अवस्थामा ठिक रहेको यहाका सत्ताधारीहरुलाई थाहा भएको हुदा उनीहरुले यो प्रपोगाण्डा मच्चाएको हो । यहाका राज्यसत्ता संचालकहरुलाई थाहा थियो कि  गोरेको पार्टी शक्तिशाली भए पछि हामीहरु पछि परिन्छ । त्यहि डरका कारण कसरी म र मेरो दललाई जनताबाट टाढा राख्न सकिन्छ भन्ने षड्यन्त्र बुन्न थालियो । त्यहि सोंचका साथ मलाई शाही मन्त्रीमा मनोनित गरेर टिकाकाण्ड गराइयो । र, मेरो मानमर्दन गरियो ।

 अनि, किन फस्नुभा’को त षड्यन्त्रमा ?
त्यतिबेला तत्कालिन राजाको पाऊमा पैसा चढाउनेहरु आज देश हाँकिरहेकाछन् तर मलाई अझै राजावादी भनेर दुस्प्रचार गरिदैछ । एउटा जातिको नियन्त्रणमा रहेको सत्ता र त्यसका संयन्त्रहरुले यो बुझेरै गरेकाहुन् ।हिंजोका मण्डलेहरु आज सबै गणतन्त्रवादी भैसके तर मलाई अझै त्यहि आरोपमा राखिराख्नुको एउटा मात्र सिधा कारण उनीहरु जनजातिका नेता कहिल्यै अगाडि नआउन भन्ने षड्यन्त्रमा चलिरहेकाछन् । यसमा हाम्रा हनुमान जनजातिहरुले पनि त्यतिकै भूमिका खेलिरहेकाछन् । 

नेपालमा जव सम्म एउटा  निश्चित जातिको नियन्त्रणमा  राज्यसत्तामा हालीमुहाली रहिरहन्छ तव सम्म आदिवासी जनजातिका नेताहरुलाई यस्तै झिनामसिना  काण्ड लगाएर डोमिनेसन गर्ने र शासनसत्ता सधै आफनो हातमा राख्ने खुराफात गरिरहन्छन्  त्यसैले यस्तो हंगामा त भैरहन्छ । तर अब जनजाति  बुद्धु छैनन् जाग्दैछन जब ति जाग्नेछन् त्यतिबेला यस्ता षड्यन्त्रले केहि लछारपछार गर्नेछैन ।

गोविन्द घर्ति, देवदह रुपन्देही

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %