मगर भाँड्ने कथित ‘पुन’ राजनीति

Read Time:14 Minute, 32 Second

केहि समययता पुनहरु मगर हैनन् भन्ने एउटा भ्रमको हावा बिस्तारै चौतर्फी फैलिरहेकोछ । यस्तो भ्रम फैलाउन पुन समाज नेपाल भन्ने संस्था प्रत्यक्ष लागिरहेकोछ । उसले सरकारसंग गई हामी मगर होइनौ भन्ने आशयमा बिन्तिभाउ बिसाइसकेकोछ ।

-शक्तिकुमार पुन (सुतपहराइ ) मगर, रुकुम

पुन मगर हैनन भन्ने उनीहरुको तर्क अनौठो छ । उनीहरुका तर्क अनुसार पुनहरुको अन्य थरहरुसंग रहनसहन र संस्कृति नमिल्ने हुनाले पुन छुट्टै जाति हुन् । तर तिनले के जानेका छैनन् भने रुकुम मैकोटका पुनहरुले गोरुको बली दिन्छन । रुकुम रोल्पा तिर गाईको मासु खान हिच्किकिचाइदैन । के गण्डकका पुनहरुले यो सोच्न पनि सक्छन् ? पुनहरुका करिब पाँच सय उपथरहरु रहेको अनुसन्धानले देखाएकोछ ।  जस्तै सुतपहराई, तिलिजा आदि । ति कसैको कसैसंग रहनसहन मिल्दैन । के त्यसैको आधारमा पाँचसय उपथरहरुले पनि छुट्टै जातिको दावि गर्ने ?

रोल्पामा दशै मनाइदैन । तर म्याग्दी तिरका पुनले यो बाहुन क्षेत्रीले भन्दा बढी मान्छन् ।  पुनहरुमै  कुल देउतालाई भेंडा चढाउने चलन छ । राप्तीका पुन मगरले हिन्दुधर्मका देवी देउता हैन थानको पुजा गर्छन । त्यहाँका पुन प्रकृति पुजक हुन् । तर पहिचानको राजनीति बढेपछि जनगणना २००१ मा त्यहाँका अन्य मगर थर लगायत पुनहरुले आफ्नो मौलिक धर्म बौद्ध लेखे ।
उनीहरुले त्यसो गरेकै कारण पछिल्लो समय बौद्ध मगरहरुको जनसंख्या ह्वात्तै बढेकोथियो । तर यसको ठिक उल्टो म्याग्दीका सिख लगायतका ठाँउका पुन मगरहरु आफुलाई पृथक र उच्च जातिको रुपमा देखाउन जनै भिर्न उद्दत देखिन्छन् । यो समाचार समाचारपत्रले  प्रमुखताका साथ छापे । तिनले मगरका पूर्वज हिन्दुधर्मका बिद्धान भएको र पछि  खोसिएकोले पुनः समताधर्म हिन्दु धर्मलाई अंगिकार गरेको बेतुके तर्क दिइरहेकाछन् ।

मगरका थरबीच समानता छैन भन्ने अति बुझक्कडहरुले के बिर्सेकाछन् भने यस्तो परिवर्तन भौगोलिक कारणले हुनेगर्दछ । पाँचथरमा बस्ने मगर पनि राईको भाषा मज्जाले बोल्नसक्छ । त्यहि रहनसहन अपनाइरहेको हुन्छ । पाल्पाका कामी दमै ,बाहुनले मज्जाले मगर भाषा बोल्दछन् । तिनका रहनसहन पनि मगर मिल्दा जुल्दा हुन्छन् । त्यस्तो देखेर उनीहरु पनि मगरकै हाँगाविगाँ हुन् भनि कुनै मगज फुस्केका निस्कन सक्लान् तर त्यो यथार्थको कोसौ टाढा र अनुसन्धान बिनाको कसैलाइ लागेको भ्रम मात्र हुनेछ ।

पुन मगर हैनन् भनि तर्क गर्नेहरुले यो कुनै अनुसन्धान र तथ्य र सत्यको आधारमा भनिरहेका छैनन् । कसैलाई लागेकै भरमा यत्रो ठूलो निर्णय लिइदैछ र अबुझ र सोझा पुन समूदायलाई यस्तो भ्रमपूर्ण बाटोमा हिंड्न उक्साइदैछ । यसो गर्नुको पछाडि उनीहरुको आफ्नो केहि राजनैतिक स्वार्थ सिधा देखिन्छ । हिंजो जातीय मुद्दाका कुरा उठ्दा दुलोभित्र लुकेर सत्ताको चाकरी गरि पुन समाजकै अवनति मा लाग्ने केहि किरा अहिले सलबलाउनुको स्पस्ट कारण छ ।  यिनले चाहेर पनि देशको तेस्रो ठूलो जनसंख्या ओगट्न्े मगरसमूदायभित्र माखो मार्ने हैसितय राख्दैनन् । यो भ्रमको झण्डा बोकेर हिंड्ने ब्यक्तिहरुको पृष्ठभूमी हेर्दा यी आफ्नो वडा र गाँउस्तर भन्दा माथि उठ्न सक्ने हैसियतका पनि देखिदैनन् । यी सानो ठाँउमा भुरेटाकुरे राजा भएर राज गर्न चाहन्छन् ।
यिनलाई सानो समूह छुट्याएर राजनीति गर्नुपरेकोछ । त्यसैले कुनै प्रमाण र तथ्य बिना यत्रो ठूलो प्रपन्च रच्ने कार्य गरिकएकोछ । मगरसंघका केहि ब्यक्तिको कमजोरी र तिनले केहि पुन बन्धुहरुमाथि गरेको ब्यक्तिगत ब्यवहारलाई बहाना बनाई यस्तो भ्रम खडा गरिएकोछ । हो मगरसंघका अध्यक्ष झक बहादुर थापाले उत्तम पुन र राजकुमारी पुनसंगको ब्यक्तिगत रिसइवीका कारण पुन समाजलाई नै गलत रुपमा बुझेर त्यहि अनुरुप ब्यवहार गर्ने गरेकाछन्  भन्ने सुनिएकोछ । तर यसो भन्दैमा दाज्यूसंग रिसाएर बुवाआमालाई म तेरो छोरै हैन भन्नु भन्दा मूर्खता  के हुन सक्छ र ।
यस्तो तुच्छ र छुद्र ब्यवहार गर्नेहरु स्वभावत संकिर्ण हुने नै भए । यिनको सोचाईको दायरा साघुरो हुने नै भयो । तर यिनले के बिर्सेकाछन् भने यसले  समग्र मगर समूदायको मात्र हैन तिनले राजनीति गरिरहेको एउटा निश्चित क्षेत्रका पुनहरुकै कुभलो गरिरहेकोछ । लाखौं जनसंख्यामा रहेका मगरले त राज्यलाई दवाव दिन नसकिरहेको अवस्थामा त्यसबाट सानो चोइटा छुट्याएर यी ‘क्रान्तिकारीहरु’ले जनजाति आन्दोलन भुत्ते बनाउन खोजिरहेकाछन् ।
पुन मगर हैनन् भन्नेहरु पुनलाई नै सत्ताको नजिक पुग्ने बाटोमा हैन अर्काे बाटोमा डोहोरयाउन खोजिरहेकाछन् । यो षड्यन्त्र कसको दिमागको उपज हो यो पनि खुल्दै जाला तर जसको भाँउतोमा लागेर केहि उपब्रुजुकहरु उफ्रिरहेकाछन् ति अज्ञानीहरुले आफुसंगै समाजलाई पनि संगसंगै डुबाउन खोजिरहेकाछन् । म्याग्दीमा पुन समाजलाई शिक्षाको दिक्षा दिने टेक बहादुर पुनलाई उद्दरण गर्दे यस्तो दुस्कार्य गरिरहेका हरुले के लुकाउन खोजेकाछन् भने टेक बहादुर यति सानो सोचाइका थिएनन् । फिमलामा उनको बारेमा छापिएको आलेख अनुसार उनले समस्त मगर समूदायकै हितका लागि काम गरेकाथिए । उनको सत्कर्मबाट पाठ सिक्नुको साटो गलत ब्याख्या गरेर समाज नै भाड्ने काम गरिदैछ ।
मुलत यो संकिर्ण सोच फैलाउने काम म्याग्दीका केहि निश्चित क्षेत्रका पुन दावि गर्नै ब्यक्तिहरुबाट आइरहेकोछ । सुनिए अनुसार, पुन समाजको नाममा केन्द्रिय समिति बनाइएकोछ जसमा शतप्रतिशत म्याग्दीकै पुन हुँ भन्नेहरु संगठित छन् ।  बुटवल, कावासोती, चितवन, काठमाण्डु, पोखरामा छरिएर रहेका म्याग्दी वरपरका पुनहरुको सामाजिक संस्था हो यो  । यस्तो संस्था खोल्नु गलत किमार्थ होइन तर जातीय हकहित र तिनलाई राज्यसत्तामा पुरयाउन रणनीति कसरी बनाउने भन्न छाडेर त्यहाँ जान रोक्न खोज्नु पक्कै गलत हो ।

यो संस्थाले जनै लगाउने पुनहरुबारे बिरोध गरेको कहिल्यै सुनिएकोछैन । हिन्दुधर्मको  महायज्ञ लगाउने र तिर्थाटन मा डुल्ने आफ्ना सहोदरहरुलाई आफ्नो धर्म संस्कृतिको ज्ञान दिएको पनि देखिदैन । भाषा बिर्सेर बसेका गण्डकका पुनहरुलाइ कसरी भाषाको ज्ञान दिने भनेर सोच्नुको साटो यो तेरो यो मेरो भनेर भाषिक राजनीति पनि शुरु गरेकोछ । पुन समाजका नेताहरुका घरमा भुण्डिएका हिन्दु देवी देउताका तस्वीर मुर्तीहरुले नै प्रस्ट पार्छन् पुन समाजलाई कता डोहोरयाउन चाहन्छन् यी ।  हालसालै तेजप्रकाश पुन जस्ता नकली पुनको बदमासीको बारेमा पत्रिकामा पढ्न पाइयो । के थाहा त्यस्तै नकली पुनहरु संस्थामा घुसेर यस्तो समाज भाँड्ने कार्यमा लागेका त हैनन् ?

सुनिदैछ, हालसालै म्याग्दीमा कर्पाकेली बाजेको मुर्ति बनाइदैछ । म्याग्दी वरपरका पुन समाजमा उनले कतिको देन दिएकाथिए त्यो अध्ययनकै गर्भमा छ तर त्यसले म्याग्दीका वरपरका पुनहरुले एउटा पुर्खा पाएकाछन् । कम्तिमा त्यसले बिस्तारै दुर्गा लक्ष्मी शिव पार्वतीको ह्यागओवरबाट मुक्त गर्न सहयोग गर्ला तर यसले सबै पुनको मर्मलाई भने समेट्दैन । उनी एउटा प्रतिक मात्र हुन् । त्यो पनि म्याग्दीका पुनको । पुन समाज यदि साँच्चिकै पुनको लागि स्थापना गरिएको हो भने त्यसले फराकिलो दायरामा आउनैपर्छ । सबैभन्दा बढी पुनहरु बस्ने र पुनको उदगमस्थल मानिएको राप्तीमा पुन संस्कृति बिद्यमान छ । त्यहाँबाट हाम्रो मौलिकता खोज्नुपर्छ । पुनको मौलिकता म्याग्दि नजिक रहेको मुक्तिनाथबाट पाइदैन ।
म्याग्दीका पुनहरुलाइ भजाएर हिंजो उत्तम पुन, नारायणसींह पुनहरु सत्ताको नजिक पुगे । तर तिनले आफुसंगै आफ्नो समूदायलाई त्यहाँ लैजाने कुनै कार्य गरेनन् । नारायणसींहले अन्तिम समयमा खोलेको समता पार्टी त्यसैकारण मृतअवस्थामा छ । किनकी उनले त्यो उद्देश्य बमोजिम कसैलाई दिक्षित नै गर्न चाहेनन् । उनीहरु दास उत्पादन गर्न मात्र चाहन्थे ।

आफ्नो संस्कृति बचाउन पाँच हजार दिने तर हिन्दुको महायज्ञमा पाँच लाख बाँड्दै हिंड्ने तिनको ब्यवहारले उनले कसको धर्म , संस्कृतिलाई पालित पोषित गरिरहेकाथिए प्रस्ट हुन्छ । तिनै पुनबाट दिक्षित भएका केहि ब्यक्तिहरु जो हाल माओवादीको झण्डा मुिन ओट लाग्न पुगेकाछन् तिनैले अहिले पुनको नाममा  काइते राजनीति गरिरहेको बताइदैछ । म्याग्दीबाट पोखरा आइ  जमेका उत्तम पुन र राजकुमारी पुन जस्ताहरु जहिले पुन समाजाई आफ्नो खल्तिमा राखिराख्न चाहन्छन् । अहिलेको राजनीतिमा मगरसंघको विरोधको मन्त्र उनीहरुबाट पनि कबमेसी आएको देखिन्छ ।
उत्तमहरु अझै पनि पंचायतकै शैलीमा रमाउन चाहन्छन् । आफुलाई म्याग्दीका केहि पुनका राजाको रुपमा प्रस्तुत गर्न खोजिरहेकाछन् । यी महानुभावले यदि यस्तो काइते बुद्धि उनको कार्यकर्तालाई लगाएर  गरेका हुन् भने यो उनको कार्य ब्यक्तिगत र समाजकै हित प्रतिकूल छ । आश्चर्यलाग्दो प्रसंग के छ भने यो आन्दोलनमा लाग्ने नेताहरु कोहि पनि ठिक ढंगले पढेका छैनन् । साक्षरहरुको जमात मात्र देखिन्छ । न ति जातीय आन्दोलनमा यसअघि कतै देखिएकाछन् । यस्ताले ल्याएको यो आन्दोलन न बौद्धिक छ न जातीय हित अनुकूल ।

एउटा निश्चित जातिको हैकम चल्ने र जनजातिहरुलाई एकापसमा भीडाएर तमासा हेर्ने साम्प्रदायिक ब्यक्तिको नेतृत्व रहेको माओवादीले जातीय मुक्तिको नाममा राजनीतिको कखरा सिकिरहेकाहरु लाई भ्रम फैलाइरहेकोछ । हिंजो यस्तो काम राप्तिमा गरियो आज गण्डकमा गरिदैछ । हिंजो युद्धमा लड्ने यहाँका मगरहरुको यो दलमा आज अस्तित्व छैन । सबै अवसरवादी मुल्लाहहरुको जमघट भैसकेको छ । उनीहरु बिस्थापित भैसकेकाछन् । तिनको पिडा सुन्न रोल्पा रुकुमका गाँउमा आए हुन्छ ।
बर्षमान पुन र नन्दकिशोर पुन पनि केहि समयका लागि मात्र हुन् तिनका पनि अवनतिका दिनगन्ति शुरु भैसकेकाछन् । उनीहरुलाई पाखा लगाउने उद्यम शुरु भैसकेकोछ । तर यस्तो राजनीति पहिल्याउन नसक्ने ब्यक्तिहरु फेरि पुष्पकमल दाहाल प्रचण्डकै षड्यन्त्रमा परेर पुन राजनीति गरिहेका छन् । समयमै नचेत्ने हो भने  तिनले टाउको समातेर रुने बेला धेरै कुर्ने पर्देन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %