काठमाडौ, २० माघ
पुन जातीले आफूहरूलाई आदिवासी जनताजीमा सुचीकृत गरी आफ्नो मौलिक पहिचान र संस्कृतिको राज्यले संरक्षण, सम्बर्धन र विकास गर्नुपर्ने माग गरेका छन् ।
पुन समाज नेपालव्दारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो माग गरिएको हो । समाजले नेपालका आदिवासी जनजातीहरूको आफ्नै मौलिक संस्कार, संस्कृति भएको तर त्यसको संरक्षणमा राज्यले ध्यान नदिएका कारण विस्तारै लोप हुँदै गएको गुनासो गरेको कुरा पनि पत्रकार सम्मेलनमा बताइयो ।
आदिमकालदेखि धौलागिरी र राप्ती अञ्चलको उच्च पहाडी भू–भागमा बसोवास गर्ने पुन समुदायको मौलिक भाषा, धर्म, कुल, संस्कार, संस्कृति, भेषभुषा भएको तर त्यसको संरक्षणमा राज्यले पहल नगरेको समाजव्दारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपाल सरकार मन्त्री परिषद्को २०६५ चैत्र ५ गतेको निर्णय बमोजिम नेपालको भिन्न सामाजिक, साँस्कृतिक पहिचान भएका समुदायहरूको सुची परिमार्जन तथा सुझाव पेश गर्न डा. ओम गुरुङका संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय कार्यदल तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई समेत बुझाइसकेको उल्लेख छ ।
समाजका अध्यक्ष केशर पूर्जा पुनले पुन समुदायको आदिवासी जनजातीमा सुचिकृत गरी पुनहरूको मौलिक संस्कृति र पहिचानलाई सुरक्षित गर्नुपर्नेमा जोड दिए ।