दलका नेताहरूलाई पार्टी एकीकरण गर्न विदेशबाट दबाब पत्र ।
हुम सुनारी मगर
विश्वको विभिन्न देशहरूमा स्थायी अथवा अस्थायी रूपमा बसोबास गर्ने र विभिन्न संघ संस्थाहरूमा आवद्ध भएका व्यक्तित्वहरूले आदिवासी जनजाति नेताहरूले नेतृत्व गरेका सबै राजनीतिक दलहरूलाई पार्टी एकिकरण गर्न दबाब दिएका छन् । अन्तर्राष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समितिका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेवीयाका अध्यक्ष समेत रहेका हुम सुनारी मगरको नेतृत्वमा यो पहल भएको हो ।
[Unity makes strength (Bulgarian) as the motto on the Coat of arms of Bulgaria एकता नै बल हो भन्ने यो बल्ग्रेयाको लोगो नमुनाको लागी यहाँ राखिएको हो]
नेपालको सबैभन्दा ठूलो समूदाय आदिवासी जनजातिहरू समान अधिकार प्राप्तिको लागि सामाजिक र सांस्कृतिक रूपमा मात्र नभएर अब राजनीतिक रूपमा पनि ऎक्यबद्धता जनाउनु पर्ने यतिबेला सहि समय भएको कुरा दलका नेताहरूलाई दिईएको सुझावमा उल्लेख गरिएको छ । बर्गीय र जातीय रूपमा सदियौंदेखि विभेद र उत्पीडनमा पारिएका सबै समूदाय र पक्षहरूको साझा घरको रूपमा नयाँ शक्तिशाली राजनीतिक दल निर्माण होस् भन्ने पनि सुझावमा उल्लेख भएको छ।
नेताहरूलाई लेखेको पत्र यस प्रकार रहेको छ :
२९ अगष्ट २०१५
आदिवासी जनजाति नेताहरू
विभिन्न राजनीतिक दलमा आवद्ध,
बिषयः अबिलम्ब पार्टी एकिकरण गर्ने सम्बन्धमा ।
२५० बर्षदेखि नेपालको सबैभन्दा ठुलो समूदाय, हामी आदिवासी जनजातिहरू नेपालको राज्यसत्ताबाट बहिस्करणमा पारिंदै आइरहेका छौ ।
नेपालको मूलकानून संविधान जस्तो आम नेपाली जनताको साझा दस्तावेज लेखनदेखि लिएर राज्यको हरेक निकाय र अङ्गहरूमा नीति निर्माण बनाउँने जस्ता अति संबेदनशील र महत्वपूर्ण कार्यहरूमा हामी सबैभन्दा ठूलो समूदाय आदिवासी जनजातिहरूलाई जहिले पनि अलग्याइएको हुन्छ । राज्यद्वारा निर्मित हरेक नीतिनिर्माण बनाउँने प्रकृयाबाट नै हामी नेपालको सबैभन्दा ठूलो समूदायहरूको संलग्नता र सहभागिता नहुने भएपछि हाम्रा भावना, आकांक्षा र मुद्धाहरू राज्यद्वारा निर्मित ति नीतिहरूमा नसमेटिने स्वभाविक नै भयो । संविधान निर्माण प्रक्रियामा पनि तीन जना बाहुन नेताहरू (सुशील कोइराला, केपी ओली र प्रचण्ड)को मात्रै सहभागिता, संलग्नता र सकृयताले बन्दै गरेको नयाँ संविधान पनि हामी डेढ करोड आदिवासी जनजातिहरूको हितबिपरित बन्ने कुरामा दुईमत नै छैन ।
देशविदेशमा रहेका हामी आम आदिवासी जनजातिहरू सामाजिक र सांस्कृतिक रूपमा मात्र नभई राजनीतिक रूपमापनि ऐक्यबद्धता जनाउनु पर्ने अहिलेको प्रमुख आवश्यकता भएको छ । हामी सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमापनि एकजुट भएर सङ्गठित हुन सक्यौं भने मात्रै राज्यको हरेक निकायका नीतिनिर्माण बनाउँने स्थानमा पुग्न सकिने वातावरण बन्नेछ । एउटै राजनीतिक बिचार र सिद्धान्तमा टेकेर आफ्नो राजनीतिक जीवनवृति गरेका कैंयौ तपाई आदिवासी जनजाति नेताहरू भिन्नभिन्न दल खोलेर राजनीतिक मैदानमा आइरहँदा उत्पीडनमा पारिएका लाखौं नेपाली जनताहरू अलमल्ल परेका छन्, बाँडिएका छन् र हाम्रा मुद्धाहरू तपाईहरू कै कारणले ओझेलमा पारिएको अवस्था छ । तपाईहरूले एउटा मात्रै राजनीतिक दल निर्माण गरेर बर्गीय र जातीय उत्पीडनमा पारिएका लाखौं नेपाली जनताहरूलाई एकिकृत बनाई तिनीहरुको आशाको केन्द्रबिन्दु बन्न सक्ने एउटा बृहत राजनीतिक शक्ति निर्माण गर्न केले रोकेको छ ? यदी पदकै लागि राजनीति गर्नुभएको हो भने प्रजातान्त्रिक मूल्य र मान्यतालाई अवलम्बन गरि एकतावद्ध हुनुहोस् ।
हामी विदेशमा रहेका समानुमातिक समावेशिताको लागि आवाज उठाईरहने आम आदिवासी जनजाति अभियन्ताहरूले तपाई आदिवासी जनजाति नेताहरूले नेतृत्वगर्ने सबै राजनीतिक दलहरूलाई पार्टी एकिकरण गर्न गराउँन हामी तपशिलमा उल्लेख भएका व्यक्तित्वहरूले विनम्र आग्रहका साथ पार्टी एकिकरण गर्न दबाब सृजना गर्ने निर्णय गरेका छौं । आशा छ तपाईहरूले निकट भबिष्य मै एउटा बृहत राजनीतिकशक्ति निर्माण गरेर लाखौं उत्पीडित जनसमुदायहरूलाई एकिकृत बनाउँने र सबै पक्षहरू समावेश हुनसक्ने एउटा बृहत राजनीतिक शक्तिकेन्द्रको निर्माण गर्नुहुने छ ।
आम उत्पीडनमा पारिएका आदिवासी जनजातिहरूको चाहना बमोजिम अबिलम्ब पार्टी एकिकरण गरिनुपर्ने दलहरूः
१) सङ्घीय समाजवादी जनमुक्ति पार्टी
२) सङ्घीय समाजवादी फोरम
३) सामाजिक लोकतान्त्रिक पार्टी
४) सङ्घीय लिम्बुवान पार्टी
५) नेपा राष्ट्रिय पार्टी
६) थरुहट तराई पार्टी नेपाल
७) खम्बुवान राष्ट्रिय मोर्चा
८) राष्ट्रिय जनमुक्तिपार्टी (लोकतान्त्रिक)
९) नेपाल आदिवासी जनजाति पार्टी
१०) नेपाल सङ्घीय गणतान्त्रीक समाजवादी पार्टी (रुद्र जङ्ग पुलामी मगर अध्यक्ष ) ११) लिबिरल डेमोक्राटिक पार्टी (गोरेबहादुर खपाँगी मगर अध्यक्ष)