काँग्रेसबाट पौडेल नै प्रधानमन्त्रीको उम्मेवार

Read Time:3 Minute, 36 Second

 

 काठमाडौँ, १९ माघ

नेपाली काँग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले प्रधानमन्त्रीका उम्मेदवारमा संसदीय दलका नेता रामचन्द्र पौडेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकले सर्वसम्मतिले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको महामन्त्री प्रकाशमानसिंहले पत्रकारहरूलाई बताए  ।

यसअघि संसद्मा १६ औँ पटकसम्म भएको प्रधानमन्त्री निर्वाचनबाट कुनै परिणाम आउन नसकेपछि पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको थियो । त्यसपछि नयाँ चरणको प्रधानमन्त्री निर्वाचनको प्रक्रिया फेरि सुरु हुँदैछ । सो प्रयोजनका लागि आज संसद्मा उम्मेद्वारी दर्ता गर्ने प्रक्रिया प्रारम्भ भई भोलि मतदान कार्य सुरु हुँदैछ ।

काँग्रेस केन्द्रीय समितिको बैठकमा सभापति सुशील कोइरालाले यसअघि पनि पौडेलको उम्मेदवारी रहेको र संसदीय परम्पराअनुसार संसदीय दलको नेतालाई नै प्रधानमन्त्री उम्मेदवार बनाउन उपयुक्त हुने बताउँदै प्रस्ताव गरेको थियो ।

संसदीय दलका नेता पौडेलले पनि आफ्नो उम्मेदवारी कायमै राख्नुपर्ने धारणा राख्नुभएको थियो ।
 तर वरिष्ठ नेता शेरबहादुर देउवाले आफू प्रधानमन्त्री उम्मेदवार हुँदा अरू पार्टीको पनि सहमति जुटाउन सजिलो हुने भन्दै आफ्नो दावेदारी प्रस्तुत गरेका थिए  ।

बैठकमा बोल्ने केही केन्द्रीय सदस्यले वरिष्ठ नेता देउवालाई विकल्पका रूपमा अघि सार्नुपर्ने धारणा राखेका थिए ।

केही सदस्यले भने पार्टीले यसअघि पनि पौडेललाई उम्मेदवार बनाएकाले फेरि अवसर पाउँदा संसदीय दलका नेता पौडेललाई नै उम्मेदवार बनाउनुपर्ने धारणा राखेका थिए ।

बैठकमा सभापति कोइराला, वरिष्ठ नेता देउवा, संसदीय दलका नेता पौडेल, केन्द्रीय सदस्यहरू डा रामशरण महत, अर्जुननरसिंह केसी, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतले बोलेका थिए ।

बैठकपछि बोल्दै केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रधानमन्त्रीका वैकल्पिक उम्मेदवारका रूपमा वरिष्ठ नेता शेरबहादुर देउवालाई उम्मेदवार प्रस्तुत गर्नुपर्छ भन्ने आवाज पनि उठेको बताउँदै तर बहुमतले संसदीय दलका नेता पौडेललाई नै उम्मेदवार बनाउने भन्ने निर्णय भएको जानकारी दिए  ।

अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँडले आफूहरूले बैठकमा बोल्न नपाएको भन्दै बहुमतले एकलौटी ढङ्गले निर्णय भए पनि पार्टीको निर्णय मान्न र पार्टीले उठाएको उम्मेदवारलाई भोट खसाल्ने बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %