हुम सुनारी मगर
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार वैदेशिक रोजगारको लागि दोश्रो ठुलो गन्तब्य राष्ट्र साउदी अरेवीया हो ।
जहाँ ६ लाख भन्दा बढी नेपालीहरू रहेकाछन् । जस मध्ये १५ देखि २० प्रतिशत अथवा एक लाख भन्दा बढी त मगरहरू मात्रै रहेको अनुमान गर्न सकिन्छ ।
साउदी अरेवीयामा सन् २००६ सालदेखि मगरहरू आधिकारिक रूपमा सङ्गठित भएका छन् । नेपाल मगर संघ, साउदीले आफ्नो स्थापना कालदेखि विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गर्दै आइरहेका छन् । त्यसैको निरन्तरतामा आगामी २२ सेप्टेम्बर २०१५ मा नेपाल मगर संघ, साउदीले दोश्रो साधारण सभाको आयोजना गर्दैछन् ।
सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महिला महासंघ, बेलायतका केन्द्रीय अध्यक्ष कमला थापामगरलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको छ । सो समारोहमा उहाँको उपस्थिति रहने पक्का भईसकेको छ ।
नेपाल मगर संघ, साउदीले सन् २००९ मा नेपालबाट राष्ट्रिय कलाकारहरूलाई निम्त्याएर बृहत सांस्कृतिक कार्यक्रमका साथ मगर एकता दिवस मनाएका थिए भने सन् ०१२ मा तत्कालिन अर्थमन्त्री बर्षमान पुनमगरको प्रमुख आतिथ्यमा ऎतिहासिक मगर एकता दिवस मनाएका थिए ।
नेपाल मगर संघ, साउदीले विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय भूमिका रहेको इतिहास छ । नेपालका कैयौं पिडित नेपालीहरूलाई आर्थिक सहयोग गर्नेदेखि गत भूकम्पबाट महाविपदमा परेका नेपालीहरूलाई झन्डै ३ लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेका थिए ।
नेपाल मगर संघ, साउदी अरेवीया मगर अन्तर्राष्ट्रिय मञ्चको सचिबालय सदस्यमा पनि आवद्ध रहेको छ ।