माओवादी जनयुद्ध र जनजातीको राज्यसत्ता प्राप्तिको वाटो

Read Time:3 Minute, 45 Second

नन्दबहादुर घर्ती मगर

 

०५२ देखि संचालित तत्कालीन माओवादी जनयुद्धको मुख्य निशाना राजसंस्था थियो ।

राजसंस्था उन्मूलन भएपछि सपनावाट व्यूतें झैं मुलुकको समस्या हल हुन्छ भन्ने जनतामा घोकाउँने गरिन्थ्यो । विशेषगरी नेपालको जातीय समस्याको हल पनि राजसंस्था उन्मूलनसँग जोडिएको कुरा गर्थे । तर, जातीय समस्याको मूल श्रोत राजसंस्था हो या वाहुनवाद यसवारे जनजाती जगतमा कहिल्यै वौद्धिक वहस हुनसकेन । यद्यपि यो वहस अहिले पनि वन्न सकेको छैन । यसो नहुनुमा हामीमा गहिरो पीडावोध छ ।

माओवादी जनयुद्ध संचालन हुनुमा मुख्यतः निम्न दुई कारणले अपरिहार्य थियो ।

पहिलो कारण, नेपाली जनजातीमा सामाजिक पुनर्जागरणको उर्लदो भेल आइरहेको थियो । यसको अन्तिम लक्ष्य राज्यसत्ता प्राप्ति थियो । जनजातीको दिर्घकालीन वाटो तय भएको देखेर सत्ताधारीवर्ग अत्तालियो र यसलाई दिशाहीन वनाउन माओवादी जनयुद्ध अपरिहार्य थियो । राजसंस्था ढाल्नेमा जनजातीलाई मोड्ने काम भयो । नमोडिनेहरुको टाउको र जीउ अलग भए ।

दोश्रो कारण, विदेशी शक्तिको लागि नेपाल एशियाको सामरिक महत्वको दृष्टिकोणले पहिलो सूचिमा पर्दछ । उनीहरुको लक्ष्य प्राप्ति गर्न नेपालको राजसंस्था वाधक थियो । राजसंस्था उन्मूलन नगरी लक्ष्यमा पुग्न नसक्ने निश्कर्षले विदेशीको गर्भवाट माओवादी जनयुद्ध जन्मनु अपरिहार्य थियो । यो कुरा २०६४ सालमा भारतको अल्जजिया टेलिभिजनमार्फत भारतीय वर्तमान राष्ट्रपति प्रणव मुखर्जीले प्रष्ट्याइसकेका थिए ।

राजसंस्था उन्मूलन त हुन्छ तर जातीय समस्या जहाँको तहिँ रहिरहन्छ । माओवादी नेतृत्वले जुक्ति निकाल्यो त्यो हो जातीय स्वायत्ततासहितको संघीयता । स्यालको सिं खोजे झैं पहिलो खुड्किलामा राजसंस्थाको अन्त्य र दोश्रो खुड्किलामा जातीय संघीयता । अहिले सारा जनजातीहरु जातीय संघीयतामा झुम्म परेका छन् । यो मुद्धा आफैमा गुलियो छ । तर, यो मुद्धा मृगतृष्णा हो वा होइन अहिलेसम्म वुझ्न सकेका छैनौं । यस मुद्धामा सचेत वा अचेत एमएस थापा लगायतकाहरु संक्रमित भए र छन् ।

नेपालको जनजातीहरुको आक्रोश राजसंस्थावाट जातीय संघीयतातिर मोडिदिएको पो हो कि ? यो एजेण्डाको मागमा जनजातीलाई उफार्नुमा जनजातीको राज्यसत्ता प्राप्तिको वाटोलाई विर्सजन गरिदिएको पो हो कि ? यस विषयमा हामी वौद्धिक वहसमा भाग लिनुपर्ने अपरिहार्य छ भन्ने मेरो दृढ विश्वास छ ।

किनकि हाम्रो जनजाती जगतमा धित मर्नेगरी वौद्धिक वहसको खुराक अत्यावश्यक छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %