-अमृत योन्जन तामाङ
मगर नेपालको प्राचिन आदिवासी हो । जनसंख्याको आधारमा नेपालको कुल जनसंख्याको तेश्रो स्थान ओगट्ने ७.१३ %(जनगणना २०११ अनुसार) र आदिवासी जनजाती मध्य प्रथम स्थान ओगट्ने जातीको राज्य सत्तामा पहुच भने अल्पसंख्यक जातिको भन्दा टिठ लाग्दो छ । शासक जातिको लागि बन्दुक को भारी बोकेर होस् या राजनीतिक मुद्दामा सधैं विश्वासिलो पात्र रही महत्वपूर्ण भूमिका निर्वाह गरेको जिउदो जाग्दो ईतिहास छ, नेपालको गोर्खा शासको एकिकरणको सवालमा होस वा माओवादीको कथित १० वर्षे जनयुद्दमा होस् मगर हरुको अहम भूमिका रह्यो, उनिहरुको योग्दान नेपालमा मात्र सिमित नरहेर ब्रिटिश साम्राज्य विस्तारमा पनि अतुलनिय रहेको छ वीरहरुका पनि महावीर भनेर चिनिने यो जातिले प्रथम र दोश्रो बिस्व युद्दमा देखाएको अद्दित्य बहादुरिका कारण ब्रिटिश शासकले दिने सुप्रसिद्द विक्तोरिया क्रस अवार्ड पनि यही जातिले सर्वप्रथम चुम्न सफल रह्यो । गोर्खा सैनिकले प्राप्त गरेको १३ वोटा विक्तोरिया क्रस मध्य सभै भन्दा बढी यही जातिले प्राप्त गरेको ईतिहास छ । यसरी देश र बिदेशमा समेट महत्व पूर्ण योग्दान गरेको जाती मगर अरुको लागि लडिदिएर, अरुलाई सत्ता र बाग्दोरको उचाई चुम्न सफल पार्ने मगर जाती सधैं सत्ताधारी को नजिक रहेर पनि उनिहरुको बिकासको भने सताधारीहरुको अप्रिय पात्र बने वा राज्यसत्तामा उनिहरुको पहुच सुन्य रह्यो । यत्रो बहादुरिको टक्मा थाप्ने, राज्य एकिकरणमा महत्व पूर्ण भूमिका निभाए पनि यो जाती गोर्खाली शासक जातिको आँखाको कसिङर बनी रहे उनीहरुको उपस्थिती राज्यसत्तामा अल्पसंख्यक जातीको भन्दा दर्दनाक किन भयो ? उनिहरु नेपाली सेनामा न त उच्च ओहदामा पुग्न सफल रहे न त पुलिसमा नै न त सरकारी प्रशासन मा न त प्राज्ञीक क्षेत्रमा राम्रो उपस्थिती नै रह्यो ! यसको मुल जड् अधिकांस मगरलाई हिन्दू धर्मको नाममा उल्लु बनाएर अन्धो बनाइदिएको, राज्यसत्ताले थोपरिदिएको संस्कृती खस बाहुन भाषालाई आफ्नो भनी मगर भाषालाई लात हानेर जबर्जस्ती संस्कृत खस नेपाली भाषाको विस्तारमा लाग्नु रहेको विचार सुप्रसिद्द भाषा विज्ञ अमृत योन्जन ले व्यक्त गरेका छन उहाको विचार पढ्नुहोस् – सम्पादक
– “Magars who had fought for the Gorkha rulers as soldiers” आखिर मगरले के पायो ? अब उस्ले के गर्नु पर्छ ?
(१) मैले Ethnolinguistics Perspective (जातिभाषावैज्ञानिक दूष्टिकोण)बाट मगरबारे गत वर्ष एउटा लेख लेखेको थिए र सो लेख मगर जर्नलमा र अन्यत्र पनि छापियो त्यो निकै चर्चामा रह्यो । मलाई लागेको थियो- मगरहरुले ठोकछन् होला । तर गोष्ठीहरुमा पो बोलाउन थाले । मैले भनेको थिए – ११ लाख मगरहरुले आफ्नो मातृभाषा छोडेर नेपाली भाषी भएका छन र नेपाली भाषालाई ४% योगदान दिएका छन् । नेपाली भाषालाई ४४% पुर्याएका छन् । तर यस बापत उसले पायो के ? कति जना मगरहरु नेपाली भाषाका प्राध्यापक बने वा छन् ? उत्तर आउँदो रहेछ- शुन्य । नेपाली भाषा सर्वसत्तावादी भाषा बन्नुमा मगरहरुको अहम् योगदान रह्यो तर प्रश्न दोहोरिरहन्छ- मगरले पायो के ?
(२) केही तामाङहरु भन्ने गर्दाछन् काभ्रे, रामेछाप र पूर्बतिर पनि मगरहरु जहाँजहाँ छन् राम्रो र उब्जाउ भुमिमा छन्। तामाङ इतिहासको एउटा कुनामा लेखिएको रहेछ- “During the time of Prithivi Narayan Shah, the Kingdom of Ghising in Talejugang (Sailung, Remechhap) is said to have been destroyed. The land of Tamang was confiscated and given to army members from the Hindu Chhetri caste and to Magars who had fought for the Gorkha rulers as solders (Gabriele Tautscher, 2007) राज्यहरु जिते पछि स्थानीय समुदायकालाई बिस्थापित गर्दै शासक जातिका साथै मगरहरु राम्रा र उब्जाउ जग्गा-जमिनमा जमे । गोर्खाली राज्य विस्तारमा अगुवा भएर टिस्टा काँङगडासम्म लडे । उसले पायो के ? २५० वर्ष शासकको सेवा गरेबापत पाए- तिन टुक्रामा विभाजित आफ्नो भूमि “मगरात”। कस्तो उपहार हो यो ।
(३) निश्चित रुपमा ब्रिटिस साम्रज्यवादी फौजमा रहेर टाढाटाढा सम्म पुग्दा, भारतको दार्जिलिङ खर्साङ, कालिङ्पोङतिरका चियाबारीको बुट्टामा अल्झिरहदा उनीहरुले पहाडे, पर्वते बोलीलाई नेपाली भाषा बनाए, मारुनी नाँचको विस्तार गरे । रातो टिका र जमरामा गौरव गरे । आखिर पायो के ? शासकहरुले उनीहरुलाई नेपाली भाषी बनाए, हिन्दू बनाए, गहुँत खाने बनाए । आज उसँग न आफ्नो मौलिक संस्कृति छ न धर्म । अहिलेका पुस्ता हिन्दू मिथक गाएर सोरठी, घाँटु आदि नाँच आफ्नो भनिरहेका छन् । यसैको आडमा कमल थापाहरु ९२% हिन्दुको धाक दिइरहका छन् । घर्मको राजनीति गरिरहेका छन् । मगरहरुले लाहुरेको धाक जति लगाए पनि उनीहरु तामाङ (राणाहरुले कमारो बनाइएका जाति)को भन्दा न शिक्षामा धेरै माथि छ, न आर्थिक अवस्थामा, न स्वास्थ्य स्थितिमा नै ।
(४) हिन्दू शासकहरुलाई बोकेर होस् वा माओवादी जन्माएर होस् आज राजनीतिमा निकै उचाई लिइसकेका यस जातिका अग्रज नेताहरु, संघीयताको सिमाङकनको बेला अचानक हराए, न बादल, न पासाङ, न लोकेन्द्र विष्ठ, न बर्षमान पुन, न सुरेश आले, न एमं.एस. थापा आदि देखिए । ६ प्रदेशको खाका सार्वजनिक हुने वितिकै मगरहरु अक्क न बक्क भए । तिन प्रदेशमा बाटेर सवैतिर अल्पसङ्ख्यक बनाइएको छ । सधै बन्दुकलाई सिरानी लगाउने मगरका सन्तानले पायो के ? यसबाट हामी सवैले सिक्नु पर्ने पाठ धेरै रहेछ- आफ्नो सतित्व लुटाएर, आफ्नो अस्तित्व लुटाएर, आफ्नो पहिचान लुटाएर त्वम् शरणम् हुनु नहुने रहेछ । अाफ्नो राज्य लुटनेहरुलाई नै प्रभू ठानेर सेवा गरेको परिणाम हो आजका मगरहरु । जहिले नि मगरहरुले आफ्नो शत्रु चिन्न सकेनन् । शासकहरुले पनि किन हो कुन्नी मगरहरुलाई कहिल्यै शासनमा सहभागी बनाउन चाहेनन्, दास नै ठाने । गोर्खाली फौजले जस्तै रुकुम रोल्पाबाट उठेको सिंहनादले गणतन्त्र ल्याउन अग्रणी भूमिका खेल्ने मगर जातिबारे कमसे कम प्रचण्डले त बुझ्नु पर्ने हो नि ?
(५) जे होस् मगरहरुले भदौं ३ गते आन्दोलनको आव्हान गरेका छन् । ऊनीहरु निकै चेतेको अवस्थामा छ । अब उसले वार वा पारको लडाई लडनु नै पर्छ । ऊ सफल असफल उस्को नारामा निर्भर हुनेछ । नारा भनेको सपना हो । मेरो विचारमा उसलाई कमारो (दास, गुलाम) बनाउने मूख्यतं दुइ तत्व छन् – हिन्दू धर्म र नेपाली भाषा । जबसम्म उनीहरुले नेपाली भाषा र गहुँतको वहिष्कार गर्दैन, विरोधमा आवाज उठाउन सक्दैन, तबसम्म उस्को आन्दोलन पुरा हुन सक्दैन, उसको सपना साकार हुँनेछैन ।
मगर आन्दोलनमा तामाङहरुको साथ सहयोग रहनेछ । म पनि साथ दिइरहनेछु ।शुभकामना ।
तामाङ भाषा बिज्ञ हुन ।