देवदह माघ १८
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद देवदहको बैठकले आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद जिल्ला समिति रुपन्देहीले ल्याएको जनजाति सशक्तिकरण परियोजनालाई सफल पार्न देवदहमा क्रियाशिल ६ वटा एकल जातिय आदिवासी जनजातिका संस्थाहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । बैठकले माघ २९ गते देवदह गाविसको सभाहलमा स्वस्थ, सरसफाई र खानेपानी सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
त्यसै गरि बैठकले शिक्षा सम्वन्धी चेतना मुलक कार्यक्रम गर्ने तय गरेको आदिवासी जनजाति समन्वय परिषद् देवहका उपाध्यक्ष माया गलामीले जानकारी दिइन । आदिवासी जनजातिहरुको जनघनत्व भएको देवदह गाविसको संयन्त्रमा आदिवासी जनजातिहरुको प्रतिनिधित्व नभएको हुदाँ गाविसको संयन्त्रमा आदिवासी जनजातिहरुको पनि प्रतिनिधित्व हुनु पर्ने, सिमान्तकृत आदिवासीहरुका लागि गाविसले चेतनामुलक कार्यक्रम ल्याइनु पर्ने, आय मूलक कार्यक्रमको तर्जुमा गर्नु पर्ने, आदिवासी जनजातिको लोपोन्मुख भाषा संस्कृती र संस्कारको जगेर्ना गर्न गाविसले विशेष बजेट छुट्याउनु पर्ने लगायतका मागहरु राखी गाविसलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् देवदहका अध्यक्ष भिम गुरुङको अध्यक्षतामा बसेको बैठकले फागुन २ गते प्रथम शहिद लखन थापा दिवस र फागुन १५ गते मगर दिवसलाई पूर्ण सहयोग गर्न सम्पूर्ण आदिवासी जनजाति संस्थाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
गोविन्द घर्ति