मनोज घर्तीमगर
पोखरामा साहित्यसँग सम्बन्धित दर्जनौं संस्था छन् ।
तिनको नेत्तृत्व प्रायः पुरुषले गर्छन् । महिला क्षमतावान हुँदाहुँदै त्यहाँ जान दिँदैनन् वा महिला जान चहाँदैनन् । यसबारे खासै बहस सुनिदैन । बहस नभए पनि पछिल्लो सयम महिला हस्तक्षेपकारी भूमिका निर्बाह गर्न तम्सिनेक्रम बढ्दो छ । साहित्यसँग सम्बन्धित संस्थामा महिला नेत्तृत्व आउने क्रम जारी छ । पोखराको सबैभन्दा पूरानो संस्था पोखरेली युवा साँस्कृति परिवारको नेत्तृत्व सरस्वति प्रतिक्षाले सम्हालेको केही वर्षमै मुक्तक मञ्च पोखराको नेत्तृत्व लिन सरला लामिछाने ‘सरु’ आएकी छिन् ।
शनिबार भएको मुक्तक मञ्च पोखराको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनले ‘सरु’को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष प्राञ्जल, सचिव पवित्रा भण्डारी ‘पारु’, कोषाध्यक्ष रामजीप्रसाद आचार्य र सह–सचिव भरतराज पौडेल छन् । सदस्यहरूमा सम्झना रेग्मी ‘सानु’, रोशन तलकोटे, अजय अनमोल, कमल पौडेल ‘आवेश’, वसन्त पोखरेल ‘विवश’ र रवीन ढकाल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष सरुले मुक्तकलाई पृथक विधाको रुपमा चिनाउन र पोखरालाई मुक्तकको उर्वर क्षेत्रको रुपमा स्थापित गर्न आफ्नो टिम सँधै लागिरहने प्रतिबद्धता जनाइन् ।