धादिङ, १८ माघ
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले शान्ति र संविधानलाई सुनिश्चित गर्न एकीकृत नेकपा माओवादी प्रतिबद्ध रहेको बताएकाछन । धादिङ जिल्लाको मैदी गाविसस्थित संस्कृत तथा साधारण उच्च माविको स्वर्ण महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नेपाली काँग्रेस र एमालेले विभिन्न सर्त अगाडि सारेर आगामी जेठ १४ गतेभित्र संविधान जारी हुन नदिई संविधानसभा विघटन गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले उनीहरूको षड्यन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने दृढतासमेत व्यक्त गरे ।
जेठ १४ भित्र संविधान निर्माण हुन नसके देशमा भयङ्कर दुर्घटना हुनसक्ने तर्फ सङ्केत गर्दै डा. भट्टराईले जनताले थप्पड हान्न थालेको घटनालाई नेताहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।