मनोज घर्तीमगर
हिन्दु महिलाको सबैभन्दा ठूलो चाड तीज आउन एक महिनाभन्दा बढी समय बाँकी छ ।
भैंचालोले गर्दा पोहोरजस्तै नभए पनि पोखरेलीलाई तीजले छोईसकेको छ । तीजमा रमझम गर्ने महिला यतिबेला आ–आफ्नै योजनामा छन् । चेलीहरुलाई छमछमी नचाउनका लागि गायिकाहरुले आफ्नै सुरले तयारी गरिहेका छन् विभिन्न भाकामा गीति एल्ब निकालेर । उनीहरु यतिबेला कोही तीजका गीत रेकर्ड गराउन व्यस्त छन् त कोही म्यूजिक भिडियो बनाउनमा । कोही आफ्नो गीतको प्रचारमा लागेका छन् । कोही भने तीनै गीतमा मोडल बनेर छमछमी नाचिरहेका छन् । जो जुन काममा व्यस्त भए पनि सबैलाई तीजको चटारोले छोएको छ ।
लोकदोहोरीको भाकामा गाईएका गीतहरुले यतिबेला सांगीतक बजार तीजमय बन्दै गएको छ । पोखराका फेवाताल, केदारेश्वर मन्दिर, विन्ध्यावासिनी मन्दिर, यहाँका चौतारो, बाटोघाटोमा तीजसम्बन्धी थुप्रै म्यूजिक भिडियो छायाङ्कन भईरहेको दृश्य देखिन्छ । प्राज्ञ एवं लोक गायीका हरिदेवी कोईरालाले यो बर्ष तीजको मौकामा भूकम्प सम्बन्धी गीत रेकर्ड गराइन् । ‘सानो होर भूईँचालो गैह्री थरर’ बोलको तीज गीतमा हरिदेवीलाई शान्ती गुरुङ, वालमाया पुन, लक्ष्मी गिरीले साथ दिएका छन् । ‘भैंचालोले भत्काएका संरचना पुननिर्माणमा जुटौँ भन्ने सन्देश तीजे भाकामा गीत गाएको हुँ’ उनले भनिन् । तीजमा पुराना गीतलाई पनि पुन रेकर्ड गर्ने गरेको बताउने हरिदेवीले २०४५ सालबाट तीजका गीत गाउन सुरु गरेकी थिइन् । चेलीका दुःख व्यथा, उनीहरु माइत जान नपाएका पीडादेखी सामाजिक, राजनितिक, विविध पक्षलाई गीतमा उतार्ने उनले अहिलेस्म्म ३२ वटा भिसिडी निकालिसकेकी छिन् ।
वास्तवमा अहिलेका गीतमा तीजको कुनै गन्ध नै हुँदैन । केवल मायाप्रितिका कुरा मात्रै हुन्छन् । तैपनि तिजे गीत भन्दै बजारमा ल्याइन्छन् । गीतमा मौलिक भाका भेटिदैनन् । यस्तोमा पुराना कलाकारभन्दा नयाँ धेरै छन् । जसले चलेका कलाकारलाई गीत गाउन लगाएर आफू चर्चामा आउन चहान्छन् । बाग्लुङे गायीका देवी घर्तीमगरलाई हरेक वर्ष तीजे गीत निकाल्ने चटारोले भ्याइनभ्याई बनाउँछ । यस वर्ष पनि उनलाई त्यस्तै चटारो छ । ‘हरेक वर्ष तीजका बेला गीत गाउनमा व्यस्त हुन्छुु’ उनी भन्छिन्,‘भैंचालोले केही प्रभाव पारे पनि व्यस्तता घटेको छैन ।’
तीजे गीतमा पुरुषले गाउने चलन ल्याउने पोखराका गायक प्रजापती पराजुली हुन् । उनले २०५८ सालमा तीजे गीतको एल्बम ‘बेदनाको पोको’ बजारमा ल्याएपछि झन्डै ८० हजारप्रति बिक्रि भएर रेकर्ड बनाएको थियो । प्रजापतिको एल्बम बजारमा चम्किएपछि तीजे गीतमा पुरुषले गाउने क्रम ह्वात्तै बढेको हो । चार वर्ष अघि तीजका गीत रत्यौलीजस्ता भन्दै गाउन छाडेका उनी यो वर्ष पूरानै लयमा फर्किएका छन् । उनले वेदनाको पोको–भाग ११ निकालेका छन् । तीज गीत वेदनाको पोको ९ भाग सम्म ल्याएका उनी चार बर्षपछि फेरी वेदनाको पोकोतिरै फर्केका हुन् । पराजुलीकै शब्द संगीत रहेको तीज गीतमा सरला पाण्डेको स्वर छ । ‘बर्षौ हुँदा पनि संविधान आउन नसकेको संविधान बनाइ सहमतिको सरकार निर्माण गरेर देशलाई एक ढिक्का बनाउनुपर्ने व्यङ्ग गीतमा गरिएको छ’ उनले गीतका टुक्का सुनाए,‘मुहि माग्नी किन हो, ढुङग्रो लुकाउनी, बेला आयो वेदनाको पोको फुकाउनी ।’
राजन कार्कीले यो बर्ष पनि तीज गीत बजारमा आएको बताए । २०६५ सालबाट तीज गीत गाउँदै आएका उनलाई माया गुरुङले स्वरमा साथ दिएकी छन् । उनकै लय रहेको गीतमा माया गुरुङको शब्द छ । ‘रमाइलो र आफुले मन पराएको मान्छे आफैले बनाएको गीतमा उल्लेख गरिएको छ’ उनले भने,‘यो गीतमा मेरो आफ्नै कथा छ ।’ अर्का गायक केशव घिमिरे पोखरामा रहेर तीज गीत निकालिरहेका छन् । ६ बर्षअघि तीजका गीत गाउन थालेका उनले यो बर्ष ‘एक नम्बर’ ल्याउँदैछन् । उनको शब्द÷लय स्वर रहेको गीतमा महिलातर्फ देवी घर्तीमगरको स्वर छ । यो बर्ष घिमिरेको शब्द लयमा अर्को तीज गीत ‘गुनिलो चोली ल्याइदिम्ला’ आउँदैछ ।
साहित्यकार एबम लोक गायिका अम्बिका भण्डारीले पनि यो बर्ष तीज गीतको तयारी रहेको जानकारी दिइन् । ‘खुसी राख्छौं बाबा तिमीलाई’ गीतमा भण्डारीको एकल स्वर छ भने भण्डारीकै शब्द र लय सिर्जना हो । ‘मैले सकेसम्म हरेक वर्ष तीजे गीत गाउने गरेको छु’ उनी भन्छिन्,‘तिजे गीतका नाममा अनेकन विकृत गीत आइरहेका बेला मैले सानो भए पनि प्रयास गरेका हुँ ।’
अघिल्लो बर्ष पोखराबाट धेरै तीज गीत निस्के पनि यो बर्ष केही केही कमि भने आएको छ । बैशाखमा गएको भैंचालोले गीत निकाल्ने की ननिकाल्ने भन्ने अन्यौल थपेकाले गीत रेकर्डिङ घटेका अनुमान लगाउँछन् नमस्ते पोखरा रेकर्डिङ स्टुडियोका संचालक छवि सुवेदी ‘अघिल्ला वर्षहरुमा यतिबेला मेरै स्टुडियोबाट २०÷२५ वटा एल्बमका गीत रेकर्ड भइसकेका हुन्थे’ उनी भन्छन्,‘अहिले जम्मा ८ वटा गति रेकर्ड भए, केही रेकर्डिङको प्रक्रियामै छन् ।’
तस्वीर : केशव घिमिरेको फेसबुकबाट