मनोज र्घीमगर
चर्चित गीतका सर्जक तथा संगीतकार सुक गुरुङको ‘यी मेरा अन्तर्वेदनाहरु’ नामका संग्रह बजारमा आएको छ । ‘
छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झलझली हितैको दौंतरी’, ‘भाई टीकामा भेट्न आउँला’, ‘दोष कसैलाई दिन चाहन्नँ’ जस्ता लोकप्रिय गीतका सर्जक सुकको संग्रहलाई गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीले विहीबार पोखरामा विमोचन गरे । दुई खण्डमा बिभाजन गरी प्रकाशित कृतिमा ७८ वटा गीत, कविता र मुक्तक संग्रहित छन् ।
पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भएको कार्यक्रममा संग्रहको परिचर्चा समेत गरियो । परिरचर्चाकार र्याण्डम रिडर्स सोसाईटी अफ् नेपालका अध्यक्ष गनेस पौडेलले सरल शब्दमा सबैलाई मनछुने लेखक तथा सर्जकको रुपमा गुरुङलाई चित्रण गरे । कृतिकार गुरुङले आफ्ना केही रहर र आकांक्षाले आफ्नै ज्यानको ख्याल गर्न नसक्दा आँखाको ज्योति गुमेको अनुभव साटे । उच्च रक्तचापका कारण जीवनमरणको दोसाँधबाट आफुलाई बचाउनेहरुप्रति धन्यवाद दिँदै गुरुङले आफुले कृति निकाल्ने धोको पुरा गर्न सकेकोमा गर्व महशुस गरे ।
उनले दुई वटा गीति एल्बम बजारमा ल्याइसकेका छन् । कृतिका प्रकाशक झलकप्रसाद खनाल हुन् ।