काठमाडौँ, १४ माघ
सहमतिको सरकार निर्माण गर्न सरकारको नेतृत्वको लागि आ–आफनो दाबी छाड्नुपर्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको लागि आफु नै हुनुपर्छ भन्ने दाबी छोडेर शान्ति प्रक्रिया कार्यान्वयन र संविधान निर्माणको काम पूरा गर्ने विश्वासिलो आधारसहित सहमतिका लागि लचिलो हुनुपर्ने नेताहरुले बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले माओवादी हतियार र लडाकुविहीन नभइञ्जेल सरकारमा माओवादी नेतृत्व स्वीकार्न नसकिने बताए ।
“लडाकूमाथि माओवादीको नियन्त्रण र निर्देशन, लडाकूको माओवादी सदस्यता र हतियार एवम् लडाकूसँग माओवादी सम्बन्ध नतोडिएसम्म उसको नेतृत्व स्वीकार्न सकिन्न” –नेता केसीले भने ।
उनले प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रियालाई अघि बढाउने प्रमुख पार्टी नेपाली काँग्रेससँग परामर्श नगरी माओवादी अध्यक्षसँग लडाकू विशेष समिति मातहत ल्याउन गर्नुभएको सहमति, शक्तिखोरमा काँग्रेस सभापतिलाई बोल्ने मौका नदिनु, सो कार्यक्रममा पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाम नलिनु तथा मन्त्रिपरिषद्मा कार्यभार फेरबदल गरेकोप्रति पनि आपत्ति जनाए ।
नेकपा (एमाले)का नेता एवम् प्रमुख सेचतक भीम आचार्यले काँग्रेसले २०१५ सालमा संसदमा पाएको बहुमतको धङ्धङी र माओवादीले संविधानसभामा पाएको ठूलो दलको स्थान सर्वकालीन ध्रुवसत्य हो भनेर नबुभ्mन आग्रह गर्दै आफनो नेतृत्व भएमात्र ठीक हुन्छ भन्ने सोचाइ त्याग्न दलहरुलाई आग्रह गरे ।
“सहमतिको सरकार अहिलेको आवश्यकता हो, दलहरुले त्यसका लागि लचकता देखाउनुपर्छ,” आचार्यले भने । उनले प्रधामन्त्रीमा आफ्नो दलका तर्फबाट अध्यक्ष एवम् संसदीय दलका नेता झलनाथ खनाल नै उम्मेदवार हुने बताए ।
एनेकपा (माओवादी)का नेता एवम् मुख्य सचेतक पोष्टबहादुर बोगटीले काँग्रेसले माओवादीको नेतृत्व स्वीकार गर्न नसक्ने भए माओवादी पनि उसको नेतृत्व मान्न बाध्य नभएको बताए ।
स्वभाविक रुपमा शान्ति प्रक्रियाको मुख्य अङ्ग र विशेष समितिअन्र्तगत माओवादी जनमुक्ति सेना आइसकेको सन्दर्भमा अबको सरकारको नेतृत्व माओवादीले नै पाउनुपर्ने नेता बोगटीको भनाइ थियो ।