मनोज घर्तीमगर
नेपाली फिल्म नरेको पोखरामा स्पेशल स्क्रिनिङ भएको छ ।
शनिबार साँझ पोखरामा भएको स्क्रिनिङमा फिल्म र संचारक्षेत्रका व्यक्तित्वहरुको सहभागिता रह्यो । पहिलोपटक पोखरामा भएको स्क्रिनिङ पनि फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया सहभागीहरुले दिए । माओत्से गुरुङ निर्देशित फिल्म ‘नरे’मा गायक नरजंग गुरुङ प्रमुख भुमिकामा देखिएका छन् । फिल्म उनकै चरित्रको वरिपरी घुमेको छ ।
खासगरि गुरुङ समुदायमा व्याप्त आईडी किनेर हङकङ जाने परिपाटीलाई फिल्मले आफ्नो कथाबस्तु बनाएको छ । निर्देशक माओत्से आफैँले फिल्मको कथा लेखेका हुन् ।
एउटा सोझोँ र सामान्य परिवारको युवा पैसा कमाउने लोभमा कसरी भुमरीमा फँस्छ भन्ने कुरालाई फिल्मले बोकेको छ । अभिनेता नरजंग गुरुङको वास्तविक जिवनसँग जोडिने केहि किस्साहरु पनि फिल्ममा समावेश छ । फिल्ममा नरजंगसँगै एलिशा गुरुङ र सबिना गुरुङले जोडी जमाएका छन् । कमेडी र सेन्टिमेन्ट्स मिलाएर बनेको फिल्म अगस्टको २ तारिखमा हङकङमा पनि प्रदर्शन हुने निर्माण यूनिटले जनाएको छ ।
फिल्मलाई नेपालका अन्य स्थानमा पनि प्रदर्शन गरिने निर्देशक माओत्से गुरुङले जानकारी दिए ।