मनोज घर्तीमगर
मनिषा गुभाजु आजभोलि एकाबिहानै पोखरा पालिखेचोक नजिकै हिपहप एरोविक्स पुग्छिन् । म्युजिकको धुनमा शरिर हल्लाउँदै पसिना निकाल्छिन् । अनेकन व्यायाम गर्छिन् । शरिर हल्का मोटो देखिएपछि त्यसलाई मेन्टन गर्न दिनहुँ बिहानै एरोविक्स धाउनु उनको पहिलो काम हो ।
आफ्नो तौल ६५ केजी पुग्दा जति चिन्तित थिइन, अहिले त्योभन्दा कयौं गुणा खुुसी छिन् उनी । चार महिनादेखि एरोविक्स धाउन थालेकी २२ वर्षिया मनिषाकोे तौल अहिले ५९ केजीमा झरेको छ । ‘तौल घट्नुका साथै एरोविक्सले शरिरमा स्फूर्ती दिन्छ’ उनी मुँस्कुराउँदै भन्छिन्,‘आफूलाई चूस्त राख्न पनि यसले फाइदा गरेको छ ।’
मनिषा जस्तै ३२ वर्षिया कुमारी गुरुङले एरोविक्स व्यायामबाट चार महिनामा ७ केजी तौल घटाउन सफल भइन् । पोखरा नदिपुरकी कुमारी पनि एरोविक्स व्यायाम गर्नु अघि ६९ केजी थिईन् । मोटोपनकै कारण उनलाई स्वासप्रश्वासमा समस्या थियो । चार महिनामा उनी ६२ केजीमा झरेकी छिन् । तौल घटेपछि स्वासप्रस्वास समस्यामा समेत कमि आएको छ । ‘एरोविक्स गरेपछि मैले कल्पना नगरेको नजिता पाएँ । पहिले सुत्न पनि गाह्रो हुन्थ्यो’उनी भन्छिन्‘एरोविक्स व्यायामबाट नयाँ जीवन पाएको अनुभव गरेकी छु ।’
पोखरा रानीपौवाकी ५० वर्षिया मञ्जु गुरुङ पनि दिनहुँ एरोविक्स धाइरेकी छिन् । आमा बनिसकेकी यी हृहिणी महिला मोटोपनका कारण निकै चिन्तामा थिईन् । उनले तौल घटाउन बिहान हिड्ने देखि पोखराका विभिन्न ठाउँको उकालो पनि चढ्नि । तर, तौल घटाउन उनी असफल भइन् । केही सिप नचलेपछि तौल घटाउन उनले एरोविक्स व्यायामको सहारा लिइरहेकी छिन् । १०/१२ वर्षदेखी लगातार एरोविक्स गइरहेकी उनी भन्छिन्, ‘स्वस्थ रहन र तौललाई मेन्टेन गर्न लगाउन लगातार एरोविक्स आइरहेको छु ।’
पोखरामा अहिले एरोबिक्सको फेशन नै चलेको छ । पछिल्लो समय युवायुवतिमा पनि छरितो हुने रहर बढ्दो छ । आठ महिनादेखि एरोविक्स सिकिरहेकी २१ वर्षिया सन्ध्या कास्र्की व्यायामबाट आफूले थुप्रै लाभ पाएको र यसलाई लामो समयसम्म निरन्तरता दिने बताइन् । एरोविक्स गर्नु अघि तौल घटाउनका लागि डाइटिङ को सहारा लिएकी थिईन् उनले । ‘तौल त घट्यो तर, मासु चाउरियो’ एरोबिक्स गर्नुको कारण स्पष्ट पार्दै उनी भन्छिन्‘अहिले सबै ठिक भएको छ ।’
एरोविक्स धाउने १२ देखी ८० वर्षसम्मक छन् । तर, सबैभन्दा बढी युवायुवति छन् । त्यसमा पनि एरोविक्स गर्नेमा युवाभन्दा युवति धेरै छैन । किन कि युवा जिम जान्छन् । तर, पाका उमेरका पुरुषले भने एरोविक्सको सहारा लिइरहेका छन् । युवायुवतिको पातलो हुने रहरलाई एरोविक्सले पुरा गरेको मात्र छैन, मोटोपनका कारण शरिमा देखिएका विभिन्न रोगहरुबाट उन्मुक्ति दिलाएको छ । ‘संगीतको धुनमा एरोविक्स व्यायाम गरिने हुँदा मुख्यतया युवायुवति यसप्रति आकर्षित छन्’ हिपहप एरोविक्स पोखराका प्रबन्धक सुनिल गौतम भन्छन्,‘स्वास्थ्यका लागि पनि एरोविक्स लाभदायक छ ।’
पोखरामा एरोविक्सको लहर आए पनि यसको जति हुनुपर्ने थियो त्यति प्रचार भने हुन सकेको छैन । एरोविक्सलाई शहरिया तथा उच्च वर्गका व्यक्तिहरुको व्यायामका रुपमा पनि प्रस्तुत गर्ने गरिन्थ्यो । त्यसले पनि पोखरामा एरोविक्सको सोचे जति विकास हुन नसकेको प्रशिक्षकहरुको दावी छ । एरोविक्सका थुपै्र फाईदा छन् । त्यसैले पनि यसप्रति आकर्षण बढ्दो छ । यसले मोटोपन घटाउनुका साथै व्यक्तित्वलाई अझ शसक्त बनाउँछ । विभिन्न रोगबाट टाढा राख्छ ।
पोखराकी पहिलो एरोविक्स संचालक एवं प्रशिक्षक अपेक्षा बिजुक्छे एरोविक्सका धेरै फाइदा हुँदाहुँदै निरन्तरता दिनेभन्दा फेशनको रुपमा लिने धेरै भएको बताउँछिन् । ‘सबैले नियमित व्यायम गर्न जरुरी छ, तर प्रायः छोटो समय एरोविक्स सिकेर बिचमै छोड्ने गर्छन्’ १७ वर्षदेखि एरोबिक्स सिकाउँदै आएकी प्रशिक्षक अपेक्षा भन्छिन्,‘तौल घटाएपछि निरन्तरता दिँदैनन् । उनीहरु मर्निङवाकपट्टी लाग्छन् ।’ यूके र सिंगापुरबाट तालिम गरेर आएकी उनले महिलाका लागि मात्रै भनेर पोखरामा पहिलो पटक एरोविक्स सेन्टर खोलेकी हुन् । अहिलेसम्म उनको सेन्टरबाट एक हजार ५ सयभन्दा बढीले एरोविक्स गरिसकेका छन् ।