पोखरा ९ साउन । चर्चित निर्देशक किशोर रानामगरद्वारा निर्देशित पछिल्लो फिल्म ‘प्रतिविम्ब’ हेर्न जाने दर्शकले पोखराको तेर्सापट्टी स्थित बिन्दावासनी फिलीम हल शनिवार ठेलामठेल भयो । मध्यान्ह १२ र दिउसो ३ बजे दुई शो मा भएको विशेष प्रदर्शनीले हल भित्र र बाहिर पनि भिडभाड बढायो ।
उसै त शनिवार बिदाको दिन , फिल्म हेर्न जानेको भिड लाग्ने त्यसमाथि बिशेष सो मार्फत उठेको रकम भूकम्प पिडितलाई सुम्पने निर्माण यूनिटको घोषणाले दर्शक संख्या बढायो । नेपाली भाषामा बनेको मगर संस्कृतिमा आधारित फिल्म अन्य समुदायकाले पनि रुचाए । बिशेष सो को लागि अग्रिम टिकट लिएका र हलमा पुगेर लाईन बसी टिकट काटेका सबै दर्शक झण्डै साढे दुई घण्टाको बसाई पनि खुसी हुदै बाहिरिएका थिए ।
च्यारिटि शो को आयोजना मगर राष्ट्रिय मुक्ति मोर्चाले गरेको थियो । फिल्मका मुख्य अभिनेता मनसुदन थापा र अभिनेत्री पवित्रा सारु मगर ‘डिम्पल’ पनि दर्शकको उत्साहजनक सहभागिताबाट निकै खुसी देखिन्थे । उनीहरुसँग तस्वीर खिचाउन ठेलमाठेल गर्नेहरु पनि उीत्तकै थिए । ‘ बिशेष शो सोचेको भन्दा पनि राम्रो र सफल भयो ’ थापाले भने ‘विशेष शोमा पोखरेलीले धेरै माया गरे हामी आभारी छौं , प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयोग गर्नु हुने सबैमा आभारी छौं ।’
भूकम्प पिडितको लागि सहयोग जुटाउन गरिएको विशेष च्यारिटि शो मा सहभागी सबैलाई उनले धन्यवाद समेत दिए । केहि खर्च कटाएर उठेको रकमको ३३ प्रतिशत रकम भूकम्प पिडितलाई छुट्टाएको निर्माणपक्षले जनाएको छ ।
द लाफा आर्टस इन्टरनेशनलको ब्यानरमा निर्मित फिल्ममा किशोर रानामगरको लेखन र निर्देशन रहेको छ । राजकुमार बगरको शब्द, संगीत र कथा रहेको फिल्मको कोरियोग्राफÞी कमल राईले गरेका छन् । शंकर महर्जनको द्वन्द्व रहेको फिल्म यम आलेमगरले खिचेका हुन् ।
फिल्ममा संचारकर्मी तथा गायक मनसुधन थापामगर, पवित्रा सारु मगर, गायक कुमार राना, मिस मगर हङकङ कमला पुनमगर लगायत कलाकरले अभिनय गरेका छन् ।
फिल्म ज्ञानु थापा मगर, के.बी राना, नेत्र थापा, चन्द्रज्योती आलेमगर, अनिता रानामगर, छक्कु उदासी र गोमा पुन लगायतको लगानीमा बनेको हो । फिल्ममा २५ लाख रुपैयाँ लगानी भएको छ । यो फिल्म चाँडै नै देशव्यापी रिलिज गर्ने तयारीमा रहेको निर्माण यूनिटले जनाएको छ ।