मनोज घर्तीमगर
तस्वीर सौजन्य : सुरज श्रेष्ठ / ठिकठाक डटकम
सेलीब्रेटी सपनाले पोखरा – १८ की सिमा पाण्डेलाई एसएलसी दिने बित्तिकै एउटा ब्यूटि प्याजेन्टमासम्म पुर्यायो ।
सानैदेखीको मोडलिङमा लाग्ने उनको रहर खेर गएन । मिस एसएलसीको फस्ट रनर अप भईन् । यो उपाधीले केही मलजल त गर्यो नै सेलिब्रेटी सपनाको नशालाई झन्झन् बढायो । त्यसपछि उनी पोखरामा हुने फेशन शो हरुमा सहभागी हुन् थालिन् । झन्डै ५ पटक र्याम्पमा उत्रिएपछि उनको करिअरले नयाँ मोड लियो । जेठ २ गते पोखरामा भएको एक फेशन शो पछि उनी जति चर्चामा रहि त्यत्तिकै तनावमा ।
उनी रातारात हिट भइन् । भलै, त्यसमा केही विवाद देखियो । राष्ट्र्रिय झण्डा देखिने गरि तयार गरिएको पहिरन लगाएर उनी र्याम्पमा उत्रिएकी थिइन् । जुन पहिरन विवादमा तानियो । पहिरनको सवालमा मोडललाई आक्षेप नआउनुपर्ने हो । डिजाईनरले जस्तो परिहन तयार पारे, मोडलले शो मा त्यहि लाएर हि“ड्नुपर्छ । तर, सामाजिक संजालमा मोडल सिमाकै फोटो भाईरल बन्यो । उनलाई धेरैले आलोचना गरे । उनी एक दुई दिन बढी तनावमा रहे पनि अहिले उत्साहति छिन् । ‘सेलिब्रेटी सपना साँचेर यो क्षेत्रमा छिँरे । बिस्तारै सबैले चिन्न थालेका बेला एक्कासी हंगामा भो’ कक्षा ११ पढ्दै गरेकी सिमा उत्साहित देखिइन्,‘मेरो पहिरनबारे जुन चर्चा भयो त्यसमा म खुसी नै छु । टिप्पणी आउनु स्भावविक हो । काम गर्दै जाँदा सिक्ने हो । चर्चासँगै धेरै सिक्न पाएकी छु ।’ अहिले सिमालाई फिल्म, म्यूजिक भिडियो, मोडलिङमा काम गरिदिन अफर गर्नेको लर्को लागेको छ ।
सिमा सानै उमेरमा चर्चित भइन् । त्यसका सकरात्मक र नकरात्मक दुवै टिप्पणी आए । उनलाई मोडलिङमा लागिरहन यसले झन् उर्जा दिएको छ । सिमा जस्तै सेलिब्रेटी बन्ने रहर कसको हुँदैन ? जुनसुकै माध्यमबाट भए पनि आफुलाई हिरो देखाउन अहिलेको युवापुस्ता मरिहत्ते गर्छ । रहर बोक्ने सबैजना सेलिब्रेटी बन्न मुस्किल छ । उनीहरु सेलिब्रेटी बन्न अनेकन उपाय खोज्छन् । कोही म्यूजिक भिडियोमा अभिनय । कोही मोडलिङ ।
पोखरा फलेपाटनका अर्जुन थापाले सेलिब्रेटी बन्न म्यूजिक भिडियोलाई रोजे । स्वरुपराज आचार्यले गाएको ‘सम्झ त प्रिय…’ बोलको गीतमा मोडलिङ गरेपछि अर्जुनलाई सेलिब्रेटीको नशा लाग्यो । प्रमोद खरेलले गाएको ‘नियतिको फल…’ गीतमा अभियन गरेपछि धेरै मोडल भनेर जिस्क्याउन थाले । मोडलिङ गर्न उनको शरिरले पनि साथ दिएको छ । पाँच फिट ६ इन्च अग्ला ह्यान्डसम छन् । ‘एकाएक चर्चा भएपछि सेलिब्रेटीलाई समाजले दिने मानसम्मान बुझेँ’ एक दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेका २६ वर्षिय तन्नेरी अर्जुको अठोट छ,‘मोडलिङमै भविश्य बनाउने धोको छ । मेहनत गरे यो क्षेत्रमा नाम र दाम दुवै छ ।’
सेलिब्रेटी बन्न दौडिनेको जमात ठूलो छ, पोखरामा । आसपासका जिल्लाबाट पोखरा झरेर संघर्ष गर्नेको कथा बेग्लै छ । कोही गीत गाउन सिक्छन् । कोही फिल्म खेल्छन् । पोखराका विभिन्न कला केन्द्रदेखि नृत्य प्रशिक्षणमा हिरो बन्ने सपना साँचेर प्रशिक्षण लिन आउने युवाहरुको संख्या देख्दा नेपाली फिल्म उद्योगमा नयाँको जगजगजी बुझ्न सकिन्छ । ‘हामीकहाँ नृत्य सिक्ने आउने ९० प्रतिशत युवापुस्ता कुनै न कुनै तरिकाले सेलिब्रेटी बन्ने चहाना पालेर आउँछन्’ अनुशिलन कला पाठशालाका नृत्य प्रशिक्षक तथा संचालक गोरे गुरुङले ठोकुवा गरे,‘शुरुमा नृत्य मात्रै सिक्ने भने पनि उनीहरुको अन्तिम लक्ष्य फिल्म, म्युजिक भिडियोमै देखिनु हुन्छ ।’
फिल्म र म्युजिक भिडियोका लागी नृत्यकला अत्यन्त जरुरी भएकोले नृत्य सिकाउने केन्द्रहरुमा युवायुवतीहरुको बाक्लो भिड छ, यतिबेला । त्योभन्दा फरक पाटो समाएर सेलिब्रटी बन्न खोज्नेको जमात पनि सानौ छैन । बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्ने नेपाली आहान सबले सुनेकै हो । घाँसीकुवा–६ तनहुँकी इनिसा दुराले यहि आहानलाई सिरोपर गर्दै बोल्ने कला सिकिन् । त्यही कलाले अहिले उनलाई सेलिब्रटी बनाइदिएको छ । सानैदेखी केहि न केही काम गरेर सानै भए पनि आफ्नो पहिचान बनाउने सपना साँचेकी उनलाई बोल्ने कलाले साथ दियो । गीत गाउने सिपले त्यसलाई थप उर्जा दियो । ‘सबैको आँखामा, सबैको मनमा बस्न पाउँ भन्ने इच्छा मेरो मात्रै होइन सबैको हुन्छ’ इनिसाले सेलिब्रेटी बन्नुका फाइदाको फेरिहस्त सुनाइन्,‘अहिले नामसँगै दाम पनि आइरेको छ । इज्जत त हुने नै भयो ।’
पोखरामा हिरो र हिरोइन भएर सेलिब्रेटी बन्नेहरुको जमातले अहिले आवश्यक ज्ञान लिन थालेका छन् । उनीहरु अभिनय, नृत्यकला र शारिरीक सुगठन बनाउन लागि परेका छन् । त्यसो त फिल्ममा ईन्ट्रि गर्न सजिलो होस् भनेर नै विभिन्न वेभसाईटहरुमा फोटो सेसन गराउनेको संख्या पनि पोखरामा बाक्लै छ । फोटो सेसन गरेर आफ्नो बारे वेभसाईटमा जानकारी दिएर फिल्म उद्योगको यात्रा रोज्ने समुहमा युवतीहरुको लर्को छ ।
‘विशेष गरि फिल्मकर्मीहरुको नजरमा पर्नका लागी युवतीहरुलाई फोटो सेसनले धेरै सघाएको पनि छ’, जक्सन डटकमका प्रबन्ध निर्देशक भूपालकुमार गुरुङले अनुभव सुनाए, ‘कतिपय युवतीहरुले फोटो सेसन गराएकै आधारमा विभिन्न फिल्म र म्युजिक भिडियोमा काम पनि पाईसकेका छन् ।’