मनोज घर्तीमगर
पोखरामा पाठक र लेखकबिच आमनेसामाने बहस हुन थालेको केही वर्ष भयो ।
‘पढौं र ज्ञान बाँडौं’ भन्ने नारा लिएर यहाँका केही पढन्ते मिलेर जन्माए, र्याण्डम रिडर्स सोसाइटी । त्यहि फोरममा जोडिन्छन् लेखक र पाठक अनि गर्छन् आमनेसामने बहस । ५४ औं श्रृङखलामा जोडिए आख्यानकार नारायण ढकाल । ढकालले पञ्चायती व्यवस्थाभित्रको राजनीतिक र प्रशासनिक निरिहतालाई साँढेको बिम्बबाट ओकलेर पाठकसामु ल्याएका छन् ‘वृषभ वध’ नामक उपन्यास
। युवा समीक्षक गुरुङ सुशान्तले शनिबार ‘वृषभ वध’ माथी खरो छलफल चलाए । किताबको परिचर्चा गर्दै समीक्षक गुरुङ सुशान्तले सरल र वर्णनात्मक शैलीबाट पाठकलाई आफूसँगै हिडाउनु लेखकको खुबी भएको बताए । ‘नलेखिएका इतिहास समयले बिस्तारै अनावृत्त गराउँछ भन्ने गतिलो उदाहरण वृषभ वध हो’ सुशान्तले भने,‘लेखक ढकाल पञ्चायतविरोधी राजनीतिमा लागेकाले उनलाई उपन्यासको कथा बुन्न झनै सजिलो बन्यो ।’
‘इतिहासविना कुनै पनि मान्छे अपुरो हुने भएकाले वर्तमानको छटपटी दर्शाउन पछाडी फकिर्एर आख्यान लेखेको हुँ’ सिमसिम पानी छलेर पोखरा उद्योग वाणिज्य संघको हलमा जम्ममा भएका करिब २ सय पाठककाबिच लेखक नारायण ढकालले स्पष्टोक्तिको शैलीमा बोले,‘अघिल्ला कृतिभन्दा राम्रो लेख्छु भन्ने सबैको चहाना हुन्छ । मेरो पनि त्यहि हो । कसैलाई प्रेतकल्प मन पर्छ, कसैलाई इन्द्रजाल, कसैलाई वृषभ वध ।
मैले सबैमा उत्तिकै मेहनत गरेको छु ।’ कार्यक्रममा र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष गनेश पौडेल, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, शिव पौडेल, तारा बराल, रघुनाथ अधिकारी लगायतले उपन्यासबारे आआफ्ना धाराण र जिज्ञासा राखेका थिए ।