काठमाडौँ, १२ माघ
राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका बारेमा निर्णायक छलफल गर्न प्रमुख तीनदलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय बैठक काठमाडौँस्थित गोकर्ण रिसोर्टमा सुरु भएको छ ।
एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी सो बैठकमा ती दलहरुले शान्ति प्रक्रिया र नयाँ संविधान लेखनमा आगामी दिनमा आफ्नो पार्टीले गर्ने कामको ‘रोडम्याप’ प्रस्तुत गर्ने र साझा निष्कर्षसमेत निकालिने बताइएको छ ।
राष्ट्रपति डा रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिनुभएको पाँचदिनको समयावधि आज सकिँदैछ । ती तीन दलका शीर्ष नेताहरु राष्ट्रिय सहमति कायम गर्न द्विपक्षीय, त्रिपक्षीय छलफलमा जुटिरहेका छन् ।
शीर्ष नेताहरुबीचमा नयाँ सरकार गठन सहमति नजुटेमा व्यवस्थापिका–संसद्ले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्नेछ । यसका लागि व्यवस्थापिका–संसद्को हिजोको बैठकले प्रधानमन्त्री निर्वाचन कार्यसञ्चालन नियमावली संशोधन प्रक्रियालाई बहुमतले पारित गरेको थियो ।