नेपाली भाषाको प्रयोग बहिस्कार गर्नुपर्दछ:भाषाविद

Read Time:7 Minute, 36 Second

विष्णुकुमार सिंजालीमगर

  काठमाडौ,१८ असार २०७२ – नेपाल मगर लेखक संघ, केन्द्रीय समितीको आयोजना तथा आ.ज.उ.रा.प्र. जावलाखेल, ललितपुरको प्रायोजनमा “आदिवासी जनजाति मातृभाषाहरुमा पहिचानित वर्णहरुको टंकन प्रयोजनार्थ वर्ण उत्पादन सम्बन्धी कार्यशाला गोष्ठी” नेपाल मगर संघ, के.स.को भवन कलंकीमा आज सम्पन्न भएको छ ।

सो कार्यक्रमको अध्यक्षता तथा अवधारणपत्रको प्रस्तुती मगर लेखक संघका केन्द्रीय अध्यक्ष कर्णबहादुर बुढामगरले गरेका थिए ।

  सो कार्यक्रममा प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालय, भाषाशास्त्र विभागका प्रमुख प्रा.डा. दानराज रेग्मी, विशेष अतिथीका रुपमा अमृत योञ्जन तामाङ, नेपाल मगर संघका पूर्व अध्यक्ष यामबहादुर बुढाथोकी तथा भाषाविद डा. अम्बिका रेग्मी, बलाराम अधिकारी, प्रतिज्ञा रेग्मी, वरिष्ठ अधिवक्ता गौबहादुर आले लगायत, मगर संघ तथा यसका भातृ संगठनका पदाधीकारीहरुले आतिथ्य ग्रहण गरेका थिए ।

सो गोष्ठीमा मातृभाषा तथा साहित्य, लिपी सम्बन्धी चासो भएका सत्तरी भन्दा बढी विद्धानहरुको उपस्थीति थियो । सो कार्यक्रममा स्वागत भाषण कुलमान (कमलबहादुर) बुढामगर तथा सञ्चालन विष्णुकुमार सिंजालीमगरले गरेका थिए । सो कार्यक्रममा प्रथम शहिद लखन थापामगर तथा ज्ञात अज्ञात शहिदहरु र गत बैसाख महिनामा गएको महाभुकम्पमा परि ज्यान गुमाउनेहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

सो गोष्ठीमा आदिवासीका मातृभाषामा रहेका वर्ण तथा ध्वनीहरु समेट्ने गरि अन्तराष्ट्रिय प्रचलनमा आधारीत रहेर देवनागरी लिपीमा डाइक्रियाटिक थपी प्रस्तावित आदिवासी फन्टको प्रमुख अतिथीबाट प्रदर्शन गराई छलफल गरिएको थियो ।

छलफलमा आदिबासी जनजातिका मातृभाषामा रहेका ध्वनीहरुहरु समेट्न विभिन्न सुझावहरु आएका थिए र आयोजक संस्थाले ति सुझाबहरु समेटेर आदिवासी फन्टको विकास गर्ने जनाएको थियो । सो कार्यक्रममा डा.अम्बिका रेग्मीले आफ्नो शोधपत्रमा आधारीत पुस्तक जो जर्मनीबाट प्रकाशित भएको थियो, सो पुस्तक नेपाल मगर संघको पुस्तकालयको लागि उपहार प्रदान गरेका थिए र सो उपहार भाषिक उपाध्यक्ष भिमबहादुर रोकायामगरले ग्रहण गरेका थिए ।

 

यसै गरी सो कार्यक्रममा बलाराम अधिकारी, डा. अम्बिका रेग्मी, यामबहादुर बुढाथोकी, अमृत योञ्जन तामाङ, प्रा.डा. दानराज रेग्मीले प्रस्तावित फन्ट विकासका लागि सुझाबका साथ मन्तव्य दिएका थिए  । उनिहरुको जोड राज्य मातृभाषाहरु प्रति अनुदार बन्दै गएको र त्यसको लागि सबै मिलेर राज्यलाई झकझकाउनु पर्नेमा थियो । यहि क्रममा भाषाशास्त्री तथा भाषा अधिकारकर्मी अमृत योञ्जन तामाङले हाल संविधान सभामा प्रस्तावित संविधानको मास्यौदामा नेपालमा रहेका मातृभाषाहरु प्रति वेवास्ता गरेको, राज्यले लगानी गर्न नचाहेको, भेदभाव गरेको र यो मस्यौदा पञ्चायतकालिन र वि.सं. २०४७ को संविधान जस्तो पश्चगामी भएको कुरा प्रष्ट्याउँदै अब मातृभाषा बचाउनको लागि अव नेपाली भाषाको बहिस्कार गरी आन्दोलन गर्नुपर्ने कुरा बताएका थिए ।

जसरी भारतमा माहात्मा गान्धी अंग्रेजहरुको विरोध गर्दा त्यसरी नै अ‍ैग्रेजी भाषा बहिस्कारको आन्दोलन चलायका थिए अब नेपालमा पनि त्यसरी नै आन्दोलनको आवस्यकता रहेको उनले बताए । उनले एक जाति बहु–मातृभाषा, बहुजाति एक मातृभाषा हुन सक्ने सिद्धान्त बताउँदै मगरहरुले पनि मगर जातिमा रहेका मातृभाषाहरु संरक्षण र विकास गर्न नेपाली भाषा बहिस्कार गरी आन्दोलन गर्नुको विकल्प नरहेको कुरा बताएका थिए । उनले बहुभाषिक शिक्षा नीति अवलम्बन गर्दै राज्यले लगानी बढाउनु पर्नेमा पनि जोड दिएका थिए ।

 

यसै गरी प्रा.डा. दानराज रेग्मीले मातृभाषाको विकास गर्न सम्बन्धीत जातिले धेरै भन्दा धेरै विज्ञ (भाषाशास्त्री) उत्पादन गर्नुपर्ने, विज्ञताले वैज्ञानिक प्रमाण दिएर समाज सापेक्ष बनाउन सक्ने बताउँदै, नेपाल राज्य विगत लामो समयदेखि मातृभाषाहरुको संहार गर्न लागि परेको इतिहास बताएका थिए । उनले राज्य जहिले पनि कुर्सी र सत्ता जोगाउने खेलमा लाग्दै आएको र समग्र नेपालीको हित नचाहेकोले गर्दा नेपालमा रहेका मातृभाषाहरु जोगाउन लगानी नगरेको आरोप लगाए ।

राज्य सत्तामा पुगेका वर्गले जहिले पनि विभेदको नीति अपनाउने गर्नाले आदिवासी जनजाति तथा मातृभाषीहरुमा वितृष्णा थपेको बताए । उनले आउँदो संविधानमा पनि नेपालमा रहेका मातृभाषाहरुमा राज्यको लगानी गर्ने नीति नभई एक भाषाको नीति अपनाउँदछ भने सबै मिलेर संघर्ष गर्नुपर्ने र नेपालमा रहेका मूर्त तथा अमूर्त सम्पदाहरु जोगाउनु हामी नागरीकहरुको कर्तव्य रहेको पनि बताए । यसका साथै सो गोष्ठीमा भाषा लेखन सरल र सबैले सजिलै बुझ्न सक्ने भएमा भाषा जोगाउन सजिलो हुने बताएका थिए ।

यसै गरी नेपाल मगर संघ, यसका भातृसंगठन तथा मगर सम्बन्धी काम गर्ने संघ संस्थाहरुले आफ्नो मिटिङ माइन्युट पनि बहुभाषीक (कम्तीमा पनि मगर ढुट, मगर खाम/पाङ, मगर काईके र नेपाली भाषामा) हुनुपर्ने भनी चर्चा भएको थियो जसले वास्तविक रुपमा मातृभाषाको संरक्षण र विकासमा योगदान दिन सक्दछ ।

(सिंजालीमगर पि.एच.डि शोधार्थी हुन)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %