अभिनय भोक जगाइदिने एक्टशाला

Read Time:7 Minute, 53 Second

मनोज घर्तीमगर

पोखरेली युवा अभियनका भोका छन् । नाटक होस् वा आर्ट फिल्म । म्यूजिक भिडियो होस् वा फिचर फिल्म । सडक नाटक होस वा रेडियो । सबैमा जम्ने रहर गर्छन् । यि सबैमा काम गर्न अभिनय कला चाहिन्छ । त्यहि भएर उनीहर अभिनय सिक्न लालायित छन् । तैपनि भनेजस्तो अभिनय सिकाउने ठाउँ छैन पोखरामा । अभिनय भोक मेट्न आक्कलझुक्कल काठमाडौं गएर सिक्ने बाहेक बिकल्प छैन । त्यसको बिकल्प दिन कस्सिएका छन् काठमाडौंमा रंगकर्म गरेका महेश श्रेष्ठ र अम्बर सुवेदी । थुप्रै फिल्म, नाटक, रेडियो र सडक नाटकमा अभिनय गरिसकेका यी दुई युवाको अगुवाइमा एक वर्ष अघि पोखरामा एक्टशाला सुरु भएको हो । यसले धेरैपटक अभिनय कलाबारे वर्कसप गरिसेको छ । यो सातादेखी एक्टशालमा ‘मास्टर क्लास इन एक्टिङ विथ अनुप बराल’ सुरु भएको छ । यसले पोखरेली युवाको अभनिय भोक मेटाउने होइन्, झनझन् जगाइदिएको छ ।

अभिनय सिक्न काठमाडौं नै पुग्नु पर्ने बाध्यता भएपछि पोखरामै उत्कृष्ट कार्यशाला भएपछि पोखरेली युवा खुसी छन् । आफनै ठाउ“मा प्लेटर्फम पाएपछि कलाकर्ममै लागिरेका झन् उत्साहित छन् । रंगकर्मका आइकन अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ, कृष्ण उदासी, सरुभक्त जस्ता हस्तीले देखाएको बाटोलाई पछ्याउँदै अभिनयको यात्रा फराकिलो हुँदैछ पोखरामा । यसको जिम्मा युवा पुस्ताले लिएपछि होस्टेमा हैंसे गर्न १० वर्षपछि पोखरा आइपुगेका छन् अनुप बराल । भूकम्पले गर्दा फिल्म ‘दोख’को सुटिङ रोकिएपछि घर आएको मौका छोपी अनुप बरालालाई लिएर पोखरामा यो कार्यशाला भएको हो । ‘मैले पोखरामा स्पेश खोजिराखेको थिएँ । त्यतिबेलै यो कार्यशाला सेतु बनेर आएको छ’ जन्मथलोमा अभिनय सिक्न लालायितको जमात देखेपछि हौसिएका उनी मुस्कुराउँदै बोले,‘ पोखरालाई कलाको हब बनाउने योजना छ मेरो । यो शुरुवाती फेज हो । त्यसैले यहाँ अभिनय भोक जगाउने प्रयास गरिरहेको छु ।’

अभिनय सिक्ने चाहनेको एक्टशालातर्फ आकर्Èण बढिरहेको छ । रंगकर्मका आइकन अनुप बरालले सिकाइरहेको कार्यशालामा धेरैले जानकारी नगराएको गुनासो गरेका छन् आयोजकलाई । कोही भने विभिन्न सुत्र प्रयोग गरेर एक्टशालासम्म आइपुगेका छन् । अभिनेता, निर्देशकको परिचय बनाएका ४० वर्षिय राजेन्द्र अधिकारी त्यस्तै कलाकार हुन् । ‘एक्टिङ भन्ने कुरा जति सिक्दै गयो त्यति निखारपन आउँछ, मैले फिल्म खेले भन्दैमा अभिनयमा पोख्त छु भन्ने होइन’ घरपरिवार, दोषी, मायाको संसार, साहसी, हम जायगा, अनिकाल लगायत थुप्रै फिल्ममा फरकफरक रोल गरिसकेका राजेन्द्र दैनिक एक्टशालामा भेटिनुको राज सुनाउँछछन्, ‘यहाँमध्ये सबैभन्दा बुढो भए पनि म अभिनय सिक्न आएको हुँ । जसले अभिनयमा अझ नयाँपन दिन सघाउनेछ ।’

पोखरामा एक्टशाला सुरु भएपछि अभिनयबारे युवाबिच सोधिखोजी हुन थालेको थियो । हरेक दिन रियाज गर्ने योजनासहित सुरु भएको एक्टशाला केही समय रोकिएपछि फेरी जुर्मुराएको छ । खासै हल्लाखल्ला नगरि चलेको एक्टशालामा अभिनय सिक्न आउने युवाको लर्को छ । यस पटक अनुपले सिकाए पनि अरु प्रशिक्षक ल्याएर बेलाबेला अभिनय सिकाउने योजना छ एक्टशालाको । ‘ढिलै होस् पोखराको रंगमञ्चले पुनः अनुपलाई पाएको छ । पोखरेली रंगकर्मीहरुको लागि खुशिको कुरा हो’ एक्टशालाका महेश आशावादी देखिए,‘विस्तारै अगाडि बढिरहेको पोखरेली रंगमञ्चमा अनुपको यो उपस्थितीले पक्कै पनि ईट्टा थप्ने काम गर्नेछ ।’

काठमाण्डौको एक्टर्स स्टुडियो र पोखराको ‘एक्टशाला’ले असार १ देखी सुरु गरेको १५ दिने कार्यशालामा फिल्ममा चलेका कलाकारदेखी नयाँ अनुहार गरि २० जनाले अभिनय कला तिखार्दै छन् । ‘अभिनय भन्ने कुरा सिकेर कहिल्यै सकिँदैन । यो सँधै अपडेट भइरहने कुरा हो’ थुप्रै गुरुङ फिल्म अभिनय गरिसकेकी र निर्देशक भएर अरुलाई अभिनय गराइसकेकी जसु गुरुङ भन्छिन्,‘मलाई अभिनय भोकले नै एक्टशालामा ल्याएको हो । यहाँ धेरै कुरा सिक्न पाएको छु ।’

पछिल्लो समयमा पोखरामा नाटक र फिल्मको गतिविधि अधिक बढेको छ । यहीबाट ठूलो पर्दाको सिनेमा बन्न थालेपछि अभिनयमा आउन चाहने बढिरहेका छन् । काठमाडौं सुटिङका लागि आउने फिल्म निर्माताले समेत यहा“का कलाकार खोज्ने गर्छन् । अझ युथ क्रियशन थिएटरले पोखरामै नाटकघर बनाउन कस्सिएपछि अभिनय सिक्नेहरुको जमात बढेको छ । ‘पोखरामा छिट्टै सुविधा सम्पन्न थिएटर खुल्दैछ, त्यसका लागि पनि कलाकारको खाँचो छ’ एक्टशालमा अभिनय सिक्दै गरेका थिएटरका अध्यक्ष कपिल शर्मा भन्छन्,‘हाम्रो टिम नै कस्सिएर लागेको छ । केही समयमै पोखरामा नाटकको लहर चल्नेछ ।’

एक्टशालामा नयाँभन्दा पनि कलाकर्ममा लागिरहेकाहरुको चाप बढी छ । विभिन्न क्षेत्रमा अभिनय गरे पनि आफ्नो प्रस्तुति निखार्न र साँच्चिकै अभिनय भोक भएकाहरु एक्टशालामा आइपुगेका छन् । अहिले अनुपले सिकाए पनि यसपछि अरु प्रशिक्षक ल्याएर अभिनय सिकाउने योजना छ आयोजकको । एक दशकदेखि रंगमञ्च र फिल्ममा सक्रिय युवा महेश श्रेष्ठ र अम्बर सुवेदीको अगुवाईमा एक्टशाला जन्मेकाले धेरैले यसको निरन्तरता र कलाकार उत्पादनमा कोषेढुंगा हुने सावित गरेका छन् । ‘एक्टिङ प्यासन हो, प्यासन सम्झनेले मात्रै निरन्तरता दिनसक्छन्’ नेपथ्य र नाइकेमा हिरोको रोलमा देखिएका रेम बिक भन्छन्, ‘प्यासनमै डुबेका युवाको अगुवाइमा एक्टशाला चलेकाले यहाँ उत्कृष्ट प्रशिक्षण त हुन्छ नै । भर्ना पनि जो पायो त्यही नहुने भएकाले राम्रो कलाकार उत्पादन हुन्छन् ।’
तस्वीर ः छवि मगर र महेश श्रेष्ठ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %