सुन्दरी बनाउने खेतीपाती
मनोज घर्तीमगर
खेतीपाती गर्ने किसान बाहेक अरुको लागि जेठ-असार अफ सिजन हो । पानी बढी पर्ने तथा आर्थिक वर्षको अन्त्य भएकाले धेरैले असारलाई अफ सिजन मान्छन् । त्यहि भएर यतिबेला खासै ईभेन्टहरु हुदैनन् । तर, सुन्दरी छान्ने ब्यूटि ईभेन्टका यहि अफ सिजन फलिफाप भएको छ । यहाँ बाह्रैमास सुन्दरी छान्ने कार्यक्रम त भएकै हुन्छन् । जेठ-असारमा त हरेक हप्ताजस्तो यहा कुनै न कुनै ब्यूटि ईभेन्टहरु आयोजना गरिन्छन् ।
पोखरा सुन्दरी प्रतियोगिताको उर्वर भूमि कहलिएको छ । हरेक वर्ष यतिबेला लगातार हुने सुन्दरी प्रतिस्पर्धाले सहर तताउँछ । अहिले सुन्दरी बनाउने कार्यक्रमको बाढी आएको छ । विभिन्न नामका ‘टाइटल’ जित्न यहाँका युवतीहरुको प्रतिस्पर्धा त हुन्छ नै, सुन्दरी खोज्ने आयोजकबीच पनि खरो प्रतिस्पर्धा हुन्छ । यतिसम्म कि सुन्दरी प्रतियोगिताको नाम जुटाउन धरी आयोजकलाई हम्मे हुन्छ । केही नाम नभेटिएपछि उस्तै नाममा दुई-तीन वटा कार्यक्रम हुन्छन् । यो साता एउटै नाममा दुई वटा सुन्दरी प्रतियोगिता भए । आयोजकबिच कार्यक्रम कसले अघि गर्ने भन्ने प्रतिस्पर्धा नै चल्यो ।
कार्यक्रम हुने मिति घरि अघि घरि पछि बनाउँदा धेरै त अलमलमा परे । ‘ब्यूटि प्याजेन्ट गर्नु लहर भइसक्यो, देखासिकीले यस्तो भएको हो’ दशकदेखी ब्यूटि इभेन्ट गर्दै आएको ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङको अनुमान छ,‘पैसा कमाउने उद्देश्यले नयाँनयाँ नाममा इभेन्ट गर्छन् । सोचेजस्तो नभएपछि निरन्तरता दिन सक्दैनन् । त्यही भएर पनि कामर्यक्रमभ जुध्ने र नयाँनयाँ नाममा ब्यूटि इभेन्ट हुन्छन् ।’ गोस्पेल मल्टी मिडिया प्रालिले आइतबार पोखरा सभागृहमा ‘मिस्टर एन्ड मिस एसएलसी नेपाल–२०१५’ ग¥यो । १० जना युवति र ८ युवा सहभागी प्रतियोगिता पहिलो पटक गरिएको हो । यस्तै १६ युवती लिएर ईभेन्ट्स फर युको आयोजनामा ‘मिस एसएलसी पोखरा’ शुक्रबार पोखरा उद्योग वाणिज्य संघमा सम्पन्न भयो ।
यी दुई प्रतियोगिताको चर्चा सेलाउन नपाउँदै द लुक्स फेसन होमले असार ४ गते शुक्रबार ‘मिस एसएलसी पोखरा क्वीन’ नामको ग¥यो । यी तिनै कार्यक्रमको लक्षित युवती एसएलसी दिएर बसेकाहरु हुन् । एउटै नामका तीन कार्यक्रमले गर्दा सहभागीता कम भयो । अभिभावक समेत झुक्किए । ‘सबैभन्दा पहिले हामिले कार्यक्रम गर्ने तयारी थालेका हौं, पछि अरुले उस्तैउस्तै कार्यक्रम गर्छन् भने केही भन्नु छैन’ गोस्पेल मल्टिमिडिया प्रालिका अध्यक्ष निरु पुनको दाबी छ, ‘हामीले केटा र केटी दुवैलाई लिएर मिस्टर एन्ड मिस एसएलसी नेपाल–२०१५ गरेका हौं । यो अरुभन्दा फरकखाले प्रतियोगिता हो ।’
दुई सुन्दरी प्रतियोगिता न्यून संख्यामा सहभागी युवतिमाझ सम्पन्न भयो । ‘मिस एसएलसी पोखरा क्वीन’ मा ११ युवती मात्रै छन् । उस्तैउस्तै कार्यक्रम भएपछि सहभागीता कम भएको उनीहरु स्वीकार्छन् । प्रतियोगिता आयोजना गर्नेहरु आआफ्नो कार्यक्रम पहिल्यै सार्वजनिक भएको दाबी गर्छन् उनीहरु । जसले जे भने पनि नामै नभएर अनि एसएलसी दिएका युवती लक्षित गर्दा कार्यक्रम सफल हुने आशले सबैले उस्तै नाममा कार्यक्रम गरेका हुन् । ‘हाम्रो प्रतियोगिता दोस्रो सँस्करणको हो, गतवर्ष पनि गरेकै हो । यति जान्दाजान्दै अरुले कपि गर्छन् भने हाम्रो सफलता ठान्छौं’ ईभेन्टस् फर यु का म्यानेजर शुरेन नेपालीले स्पष्टिकरणको शैलीमा प्रस्तुत भए, ‘नाम जुधाएर कार्यक्रम गर्न तछाडमछाड गर्नु गलत हो । तर, असल नियतले प्रतिस्पर्धा हुनु राम्रो हो ।’
‘मिस एसएलसी पोखरा क्वीन’ को तयारी सकाएको द लुक्स फेसन होमले सबैभन्दा पहिले कार्यक्रम तय गरेको दाबी गरेको छ । होमका प्रबन्ध निर्देशक रविन्द्र बज्राचार्यका अनुसार बैशाखमा हुने कार्यक्रम भैंचालोका कारण सरेको हो । अभिभावसँगै सल्लाह गरेर जेठमा गर्ने तय भए पनि बिचमा उस्तै नामका सुन्दरी प्रतियोगिता हुने भएपछि असारमा सारिएको हो । ‘हाम्रो कार्यक्रम थाह पाएपछि अरुले जुधाएका हुन् । त्यही भएर सहभागी कम भए । केही कमाइ हुन्छ भनेपछि यसमा लागेका होलान् । कसले कस्तो कार्यक्रम गर्छ भन्ने बच्चाहरुलाई थाह छ’ १७ वर्षदेखी विभिन्न नामका ब्यूटि इभेन्ट गरेको दाबी गर्ने रविन्द्र भन्छन्, ‘कसैले कमाइ खाने भाँडो, कसैले ठगी धन्दा के के भने केके । तै पनि म यसमै खुसी छु । जे कमाए यसबाटै कमाएँ ।’
रबिन्द्रको भनाइले बल पु¥याउँछ । राम्रोसँग ब्यूटि इभेन्ट गरे यसमा राम्रै कमाइ छ । आयोजकले जेजस्तो दाबी गरे सबैको उद्देश्य पैसा कमाउनु हो भन्ने कसैको सामु छिपेको छैन । फारम, प्रशिक्षण, भ्रमण लगायत विभिन्न नाममा सहभागीबाट पैसा उठाउनु र तिनै टाइटल दिने लोभमा सहभागीलाई टिकट बेच्न लगाएर पैसा कुम्ल्याउने धेरै सुन्दरी प्रतियोगिता गर्ने आयोजकको उद्देश्य हुन्छ । यतिसम्म कि जसले धेरै टिकट बेच्यो वा पैसाको चलखेल ग¥यो उसैलाई विजेता बनाईदिन्छन् भन्ने आरोप पनि लाग्छ आयोजकलाई ।
केही प्रतियोगितामा यस्तो नभएको पनि होइन । ‘यस्ता प्रतियोगिता गर्नेहरुको उद्देश्य नै पैसा कमाउनु रैछ’ मिस एसएलसीमा छोरी सहभागी गराएका प्रेम गुरुङ भन्छन्, ‘केके हो केके नाममा खाली पैंसा मात्रै खर्च । नजाउ भनेको छोरीले मानिन् । यस्ता कार्यक्रमबारे कति खर्च लाग्छ पहिल्यै अभिभावकलाई भन्नुपर्छ ।’ पोखरामा रिवर्थ ईभेन्ट म्यानेजमेन्ट, जिरो सिक्स वान ईन्टरटेनमेन्ट, ओम ईभेन्ट्स, ट्रेनर नेपाल, भिजुअल जोन, ब्लु कार्पेट, लुक्स फेसन जस्ता कम्पनीहरुले ब्यूटि ईभेन्टहरु आयोजना गर्दै आएका छन् ।