दीपा पुनमगरको तेस्रो कृति लोकार्पण कार्यक्रम सम्पन्न

Read Time:4 Minute, 54 Second

कृष्ण सारू मगर

 काठमाडौँ, जेठ ३१, गोठाले नाटकघरमा राई समुदायहरूको परम्पराअनुसार नामाङ्कृत दिपा राई पुनमगरको तेस्रो कृति  ‘छुटेको बागदाता’ लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध विशिष्ट व्यक्ति, पत्रकार एवम् कविलेखक, साहित्यसिर्जनाका पारखी र साहित्यअनुरागीहरूको बृहत् उपस्थितिमा काठमाडौँको बत्तीसपुतलीस्थित गोठाले नाटकघरमा औपचारिक रुपमा लोकार्पण भएको थियो ।

  कार्यक्रमका प्रमुख आतिथि तुलसी दिवसले ब्यानर खोलेर लोकार्पण उद्घाटन गरेका थिए भने कविको ‘छुटेको बागदाता’ कवितालाई मन्चनसमेत गरिएको थियो ।

प्रमुख अतिथि तुलसी दिवसले आफूलाई लरतरो कवि र कविताले नछुने कुरा प्रष्ट्याउँदै दीपाका कविताले भने भावुक बनाएको कुरा राखे । समीक्षक महेश पौडेलले छुटेको बागदाता कृतिका कविताहरुको समीक्षा गरेका थिए । उनले दिपा राई पुनमगरले विदेशमा रहेर पनि नेपाली संवेदनालाई नै बढी मात्रामा कवितामा समावेश गरेको कुरा राखे । उनले थपे एउटी नारी स्रष्टाले परदेशी भूमिमा आफ्नो अमूल्य समयलाई सदुपयोग गर्दै सिर्जेका सिर्जनाहरुले नेपाली समाज र राष्ट्रका लागि अमूल्य योगदान गरुन् र तिनै सिर्जनाले कवि दीपालाई संरक्षण र संबर्द्धन गर्दै हौसला दिइरहून्, उनले हार्दिक बधाईसहित शुभकामना पनि दिएका थिए ।

को हुन् दीपा ?

  कवि दीपा राई पुनमगरको जन्म बाबा श्रीप्रसाद राई र आमा बिमला राईको कोखबाट वि. सं. २०२५ मा पाँचथर जिल्लाको रविमा भएको हो । त्रिभुवन विश्वविधालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरी हाल अमेरिकाको वोस्टनमा रहँदै आएकी दीपाले नेपाली साहित्य सिर्जनालाई जगेर्ना गरी आफूमा भएको प्रतिभालाई प्रस्तुत गर्ने काम गर्दै आएकी छन् । राईकी चेली दीपाले थानकोट निवासी लाहुरे धिरज पुनमगरसँग प्रेम विवाह गरी दुईवटा कृति शुभेचछुक माझ ल्याइसकेकी थिइन् । यो यिनको तेस्रो कविताकृति हो ।

दीपाले जीवनका तितामिठा शब्दमा यथार्थतालाई सरल ढङ्गले परिभाषित गर्दै ‘छुटेको बागदाता’ कृतिको जन्म दिएकी हुन् । यिनले कार्यक्रममा अमेरिकाको व्यस्तताको कुरा गर्दै धेरै कविता रेलयात्रामा सिर्जेको र नेपाल ल्याएको कुरा राखेर सबैलाई भावुक बनाइन् । धेरै कविता आफ्नै जीवनका यथार्थसँग नजिक रहेको कुरा खोल्दै सबै स्रष्टाको शब्दशब्दमा गहिरो साइनो रहने कुरा राखिन् । कति विषयले आफैँलाई आभाष गराएको बताउँदै आमाको सन्दर्भ उठाइन् र आफू एक असल आमाको छोरी हुँ भनिन् ।

यसको आशय कविता लेख्न आमाको प्रेरणा रहेको हो भन्ने थियो । अमेरिकामा कविता पढेर प्रतिक्रिया दिने समय पाठकहरुलाई नभएको भन्दै नेपालका पाठक र समीक्षकहरुलाई पढेर गल्ती प्रष्ट्याइदिन अनुरोध गरिन् । कार्यक्रममा केही कविता वाचन गरेर सबैको मन छुने काम गर्दै यिनले आफ्नो कृतिको समीक्षा गरिदिनुहुने अग्रजहरू साहित्यकारहरूप्रति आभार प्रकट गरिन् साथै समयाभावका वाबजुद पनि कार्यक्रममा उपस्थित भई प्रोत्साहन दिनुहुने सम्पूर्णमा सहृदयीहरुलाई धन्यवाद दिइन् ।

यस ‘छुटेको बागदाता’ लोकार्पण कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन उपस्थित सबैमा धन्यवाद दिँदै उक्त पुस्तक प्रकाशन कलरव धरानका प्रमुख हेमन यात्रीले औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

फोटो: भावेस भुमरी मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %