भूकम्प पीडितलाई साउदीको पश्चिमी क्षेत्रका प्रवासी नेपालीबाट २४ लाख सहयोग

Read Time:3 Minute, 28 Second

बाल कुमार राइ

जेठ २३ गते शुक्रवार, जेद्धा साउदी अरब

 गत बैशाख १२ गते शनिवार र त्यसपछि बैशाख २९ गते गएको विनाशकारी भूकम्पले सिर्जना गरेको राष्ट्रिय विपत्तिमा साउदी अरबको पश्चिमी क्षेत्रमा बैदेशिक रोजगारीमा रहेका प्रवासी नेपाली समुदायले २४ लाख ३१ हजार ५५ रुपैंयाँ राहत सहयोग संकलन गरि प्रधानमन्त्री प्राकृतिक प्रकोप राहत कोषमा पठाएको छ ।
साउदी अरबको पश्चिमी क्षेत्रबाट वृहत एवं एकीकृत रुपमा राहत संकलन गर्नको निम्ति गत मे १ तारिखका दिन नेपाली जनरल कन्सुलेट जेद्धाको कार्यालय परिसरमा यस पश्चिम क्षेत्रमा कृयाशील सबै नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, जनरल कन्सुलेटका अधिकारी एवं समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्वहरुको संयुक्त भेलाले नेपाली जनरल कन्सुलेट जेद्धाको संरक्षकत्व रहने गरि समाजसेवी अन्जन पोखरेलको संयोजकत्वमा “भूकम्प पीडित राहत संकलन समिति, पश्चिम क्षेत्र, साउदी अरब” गठन गरि राहत संकलन अभियान थालेका थिए । साउदी अरबको पश्चिम क्षेत्र अन्तर्गत जेद्धा, ताईफ र याम्बुका प्रवासी नेपालीहरुले यस अभियानमा साथ दिएका थिए ।
अभियानको पहिले चरणको कार्यक्रम अन्तर्गत गत मे १२, १५ र १९ तारिखमा तिन पटक गरि प्रधानमन्त्रीको कोषमा १८ लाख ८१ हजार ७ सय छत्तिस रुपैंयाँ पठाएको थियो । दोस्रो तथा अन्तिम चरण अन्तर्गत ५ जुन शुक्रवारको दिन ५ लाख ४९ हजार ३ सय ४९ रुपैंयाँ पठाएको छ ।
हिजो ५ जुन शुक्रवारका दिन नेपाली जनरल कन्सुलेट जेद्धाको कार्यालय परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरि यस पश्चिमी क्षेत्रको भूकम्प पिडित राहत संकलन अभियान समापन गरेको छ । समापन समारोहमा अभियानका सबै अभियन्ताहरुको साथै कार्यवाहक कन्सुलर जनरल सुधिर भट्टराई तथा सहचारी टंक बहादुर राईको उपस्थिति रहेको थियो ।
समापन समारोहमा बोल्दै कार्यवाहक कन्सुलर जनरल भट्टराईले विपदको यस घडीमा साउदी अरबको पश्चिमी क्षेत्रमा रहेका आम प्रवासी नेपालीहरुले राष्ट्र प्रति देखाएको भावनात्मक संवेदनाको एवं अभियन्ताहरुको सकृयताको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको अन्त्यमा अभियानका संयोजक अन्जन पोखरेलले यस अभियानलाई साथ दिने सबै प्रवासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गर्दै यहाँका सबै अभियान समापन भएको घोषणा गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %