देब पचभैया
जेठ २२ पाल्पा -पाल्पा श्रीनगर समाज हङकङ्ग र पाल्पाली समाज यूएईले पाल्पाका भूकम्प पीडितहरुको लागी ९ लाख १८ हजार बढी रकम सहयोग गरेका छन् ।
तानसेनमा बिहिबार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी उनीहरुले जिल्ला दैविप्रकोप उद्धार समिति पाल्पाका संयोजक एबं प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीलाई नगद र चेक हस्तान्तरण गरेका हुन् ।
पाल्पा श्रीनगर समाज हङकङ्गका सचिब झलक पल्लीले ३ लाख १८ हजार नगद र पाल्पाली समाज यूएईका महासचिव वेदप्रसाद अर्यालले ६ लाख १ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरेका थिए ।
सहयोग रकम हस्तान्तरण गर्दे पाल्पा श्रीनगर समाज हङकङ्गका सचिब झलक पल्लीले भूकम्पले ठूलो क्षती पुर्याउँदा पाल्पाका पिडितहरुमा थोरै भए पनि राहत पुगोस भनेर सहयोग गरेको जानकारी दिए ।
सन २००४ मा स्थापना भएको पाल्पा श्रीनगर समाज हङकङ्गले सामाजिक क्षेत्रमा पनि सक्रिय रुपमा काम गर्दे आएको छ । समाजले देशैभरका भुकम्प प्रभाबितहरुको लागी पनि यस अधि प्रधानमन्त्री राहतकोषमा पनि रकम जम्मा गरेको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा पाल्पाली समाज यूएईका महासचिव वेदप्रसाद अर्यालले रोजगारीको लागी बिदेशमा रहँदा भुकम्पले पिल्सिएका नेपालीको पीडाले मन पोलेको र आफूहरुको गाँस कम गरेरै भए पनि सहयोग गर्ने इच्छा अनुसार रकम संकलन गरेको बताए ।
सहयोग रकम र चेक बुझेपछि पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले वैदेशिक रोजगारमा रहेका पाल्पालीहरुले मातृभूमीप्रति देखाएको सदासयताले बास्तबिक भूकम्प प्रभावितलाई सहयोग पुग्ने भन्दै सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।