भूकम्प पीडितलाई सहयोग गर्न मगर स्वयंसेवक दस्ता निर्माण किन नगर्ने ?
बिष्णुकुमार सिंजालीमगर
सबलाई थरथरी कमायो । निमेषमै रिङ्टा लाग्यो । हल्लायो जमिन । एकछिनमै कोलाहल मच्चियो, भुइँचालो आयो…, भुइँचालो आयो… । भागदौड मच्चियो । घरघरबाट मान्छेहरु सडकमा निस्किए । जमिन हल्लाउन छोडेन । गोर्खालाई केन्द्र बिन्दु बनाएर बैशाख १२ गते शनिबार गएको ७.दशमलब ६ रिक्टरको भुइँचालोले देश तहनहस बनायो ।
एक्कासी आएको भुइँचालोले देशभर बिपत्ति ल्यायो । भत्कायो हजारौं संरचना । झन्डै नौ हजारको ज्यान लियो । हजारौंलाई बेपत्ता बनायो । एकछिन अघि घरमै बसेका धेरैलाई बनवास लगायो । लाखौंको सर्वश्व खोसिदियो । साँच्चै त्यो विनासकारी भुइँचालोले सबै तहसनहस नै बनायो । भुइचालोका साना पराकम्पन जान अँझै छाडेका छैनन् । यतिबेला देश पुनः निर्माणमा जुट्ने बहस चलेको छ । विभिन्न ठाउँमा स्वंय सेवी दस्ता बनाएर गाउँ पुननिर्माणमा जुटेका छन् युवा । नेपालका धेरै मगर गाउँ पनि ध्वस्त भएका छन् । त्यहाँको हाल बेहाला छ, यस्तो बेला त्यहाँ सहयोगको जरुरी छ । ती गाउँ बनाउन नेपाल मगर संघ बनाउँदा राम्रो हुन्थ्यो । यसै सन्दर्भमा बुद्धिजिवी, लेखक एवं पिएचडी शोधार्थी बिष्णुकुमार सिंजालीमगर लेख्छन् ।
नेपालमा मगर जाति जनसंख्याको दृष्टिकोणले तेस्रो ठूलो जनसंख्या भएको जाति हो । यस जातिको छुट्टै पहिचान, संस्कार र संस्कृति छ, जसले ऐतिहासिक कालखण्डमा नेपाल निर्माण तथा नेपालमा भएका क्रान्तिहरुमा ठूलो भुमिका निभाएको छ । अहिले नेपाल महाभुकम्पले क्षतविक्षत भएको छ यस्तो अवस्थामा नेपालमा रहेका मगरहरुको पुननिर्माणमा ठूलो भुमिका रहन्छ । मगरहरुको छाता संगठन नेपाल मगर संघ र यसका शाखाहरु नेपाल भरि छरिएर रहेका छन् भने यसका भातृ संगठनहरु नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर महिला संघ, नेपाल मगर युवा संघ, मगर बौद्ध सेवा समाज आदि पनि नेपाल भरी छरिएर रहेको अवस्था छ । यसका साथै सयौं सानातिना मगर जातिका संघ संस्थाहरु छन् । यस्तो अवस्थामा मगरहरुले देशमा भएको क्षतिको पुननिर्माणको लागि हजारौं स्वयंसेवक दस्ता बनाएर गाउँ–गाउँ र बस्ती–बस्तीमा परिचालन गर्न जरुरी छ, यसको नेतृत्व नेपाल मगर संघले गर्नु पर्दछ । सबै संघ संस्थाहरुलाई समेट्नु पर्दछ । हामी मगरहरु पनि स्वतः स्फुर्त स्वयंसेवामा मगर संघको झण्डा मुनी स्वयंसेवक बनेर भुकम्प पिडितहरुको सहयोगार्थ केही दिन श्रम गर्न तयार रहनुपर्दछ ।
किनभने,
(१) भुकम्पमा हराइरहेका मगर दाजुभाई/दिदिबहिनीहरुको खोजी गरी लगत राख्नु जरुरी छ । मर्दापर्दा मगर दाजुभाईले नसघाए कसले सघाउने ? त्यसैले सर्वप्रथम आफ्नो दाजुभाई/दिदिबहिनी तथा आफन्त खोजी नेपाल मगर संघको नेतृत्वमा गर्नुपर्दछ ।
(२) भुकम्पबाट पिडित मगर दाजुभाई/दिदिबहिनीहरुको क्षतिको विबरण, घाईतेहरुको बिवरण संकलन गरी लगत राख्न जरुरी छ । जसले पछि महाभुकम्पले मगरहरुमा कस्तो क्षति पुर्याएको छ त्यसको जानकारी मगर जातिका संघसंस्थाहरुलाई जरुरी छ भविष्यमा नीतिनिर्माण गर्न तथा मगर जातिको उत्थान गरि देश निर्माण गर्नको निमित्त ।
(३) राहतको संकलन गरी राहत वितरण गर्नुपर्ने जरुरी छ । क्षतिको लगतका आधारमा भुकम्प पिडित मगरहरुलाई राहत दिएर जिवन रक्षा गर्नु मगर संघ र यसका मातृसंगठनहरुको जिम्मेवारी हो । विदेशमा रहेका मगरहरुले दिएको राहत बाँडेर मात्रै पुग्दैन । नेपालमा रहेका मगरहरुबाट पनि खाद्यान्न, लत्ताकपडा, जस्ता पाता, बाँस, फलामका डन्डीहरु आदि उठाएर भुकम्प पिडीत मगर तथा अन्य जातिका नेपाली दाजुभाई/दिदिबहिनीहरुलाई वितरण तथा पुनःस्थापनामा सघाउनु पर्दछ । नेपाल मगर संघले विज्ञप्ती निकाल्ने र मगर संघका शाखाहरु, भातृसंगठनहरु तथा मगरका संघसंस्थाहरुलाई चिठीपत्र पठाएमा गाउँ गाउँबाट बस्ती बस्तीबाट मगरहरुले कोदो, मकै, धान, गहुँ, दाल, गेडागुडी, लत्ताकपडा, बाँस तथा काठपात, जस्ता पाताहरु, फलामे डन्डीहरु उठाउन सजिलै सक्दछन् ।
(४) भुकम्पले प्रभावित मगर बस्ती तथा अन्य नेपाली बस्तीमा गएर हामीले श्रमदान गरी अस्थाई आवासको निर्माण, सरसफाई तथा स्वास्थ्य सम्बन्धी कार्यहरु, स्वाभिमानी जगाउने कार्यहरु आदि गर्न जरुरी छ ।
(५) यस्तो अवस्थामा नेपाल मगर संघ र यसका भातृसंगठनहरुले संगठित भएर स्वयं सेवक खटाउने, देशभरी छरिएर रहेका मगरहरुबाट राहत संकलन गर्ने तथा पुनःनिर्माणमा सघाउन जरुरी छ । यदि यस्तो कार्य नगर्ने हो भने हाम्रो जस्तो जातिय संगठनका अगुवाहरुलाई बाहुन क्षेत्रीहरुले “टाठाबाठा मगरहरुले ज्यान पाल्ने मेसो” को आरोप सहि साबित हुन्छ । यसैले मगर संघले टुलुटुलु हेरेर बस्नुहुँदैन, राष्ट्रिय विपत्तीमा सहयोग गर्न हातेमालो गरौं । बिपत्तीमा सघाउन सक्नु नै ठूलो मानव धर्म हो । नेपाल मगर संघ तथा यसका भातृ संगठनहरु तथा मगर सम्बन्धी संघसंस्थाहरु मगर जातिको हितको लागि तथा देशको लागि र मानवताको लागि खोलिएको र सञ्चालनमा रहेको रहेछ भनेर पुष्टि गर्ने यो सुनौलो मौका पनि हो ।
त्यसैले ल है साथी हो ! नेपाल मगर संघको नेतृत्वमा स्वयंसेवक दस्ता बनिसकेको भए, त्यसमा सबै सामेल हौं । नबनेको भए बनाउन आग्रह गरौं । महाभुकम्पको ल्याएको बिनाशको पुननिर्माणमा जुटौं । नेपाल मगर संघले नेतृत्व गरेको स्वयंसेवा दस्तामा जनस्वास्थ्य तथा सरसफाई, निर्माण कार्यमा म आँफु एक महिना दुर्गममा समेत गएर श्रमदान गर्न तयार छु । तँपाईहरु कति दिन श्रमदान दिन सक्नुहुन्छ कुन्नी ?
(सिङ्जालीमगर पिएच डी शोधार्थी, त्रि.वि. काठमाडौ,हुन)