ब्यूँतियो फेशन शो

Read Time:5 Minute, 30 Second

मनोज घर्तीमगर

तस्वीर : सुरज श्रेष्ठ/ठिकठाक डटकम

  मोडलिङमा पोखरा अगाडी छ, त्योभन्दा बढी ख्याती कमाएको थियो पोखराको फेशन शो ले । एकताका यहाँ साता बिराएर विभिन्न थिममा फेशन शो हुन्थे । पछिल्लो समय फेशन शो हुन छाडेपछि यसमा रमाउनेहरु चिन्तित बने । तर, आत्तिनुपर्ने छैन । खस्किएको फेशन शो पोखरामा फेरी जुर्मुराउन थालेको छ । यहाँको फेशन शो ब्युँतिएको संकेत दिएको छ, यहि साता भएको ‘परिचय नाइट फेशन शो’ ले । आयोजना गरेको थियो, पोखराको इन्टरनेशनल फेशन कलेज (आईएफसी) ।

पोखरामा खस्कीएको फेशन शो लाई ध्यान दिँदै यहाँको इन्टरनेशनल फेशन कलेज (आईएफसी) ले शुक्रबार साँझ ग्रान्ड फेशन शो गर्यो । पाँच तारे होटल पोखरा ग्राण्डमा जमघट भएका फेशन पारखीहरुले विभिन्न थिममा आधारित पहिरन लगाएर मोडल र्याम्पमा उत्रिदा भरपुर मनोरञ्जन लिए  । लामो समयको अन्तरालपछि भएको फेशन शो मा रंगीचंगी बत्तिको प्रकाशमा मोडलहरु र्याम्पमा कम्मर मर्काउँदा दर्शकहरु मख्ख परे । पहिलो थिममा मोडलहरु नेपालमा ‘२० वर्षपछिको पहिरन’ को थिममा क्याटवाक गर्दा त्यहाँ उपस्थित दर्शक हुटिङ्ग गर्दै तालि लगाउन बाध्य भए । ‘लाइफमा पहिलो पटक फेशन शो हेरेँ मजा भो । नयाँ अनुभव गरे’ यूमि जापानिज ल्याङ्ग्वेज इन्स्टिच्यूटका प्रबन्धक पूर्ण थापा भन्छन्, ‘फेशनबारे नयाँ र फरक जानकारी पाइयो ।’

पोखरा, बुटबल र चितवनका १ सय २५ जना फेसन डिजाइनरले निर्माण गरेका भिन्नभिन्न पहिरनमा पोखराका नयाँ र पुराना गरि १५ जना मोडलहले क्याटवाक गरेका थिए । नौ वटा थिममा विभाजित फेसन शोको ‘मदरउड’ थिममा दर्शक बढी उत्साहित देखिन्थे । र्याम्पमा देशभक्ति झल्काउने पहिरनमा मोडलहरु प्रस्तुत हुँदा उनीहरुलाई दर्शकले तालि लगाइरहे । राती एघार बजेसम्म बोल्ड एण्ड ब्यूटि, कलरफुल लाइफ, स्ट्रिट स्टाइल, रक एन्ड रोल लगायत थिममा मोडलहरुले क्याटवाक गरे । अन्तिममा आदिवासी पहिरन थिममा फेशन सो देखाइएपछि कार्यक्रम सकिएको थियो । ‘देश, काल र परिस्थितिको थिमलाई फेशनमा उता¥यौ,’ फेसन डिजाइनर एवं कोरियोग्राफर नवीन पाख्रीन भन्छन्, ‘कार्यक्रमको आम्दानीले भैंचालो पीडितलाई सहयोग गर्न फेशन शो गरेका हौं ।’

पोखरेलीहरु फेशन गर्न रमाउँने मात्रै हैन, फेशन शो मा पनि रमाउँछन् । उनीहरुले त्यसका लागि राखिएको महङ्गो टिकट समेत सहजै किन्ने गरेका छन् । परिचय नाइट फेशन शो हेर्न दर्शकले दुई हजार पाँच सयको टिकट किनेका थिए । यसको सम्पूर्ण आम्दानी भूकम्प पीडितलाई सहयोग गर्ने आयोजकले जनाएको छ । ‘जे जानेका छौं त्यही कार्यक्रमम गरेर भैंचालो पीडितलाई सहयोग जुटाउ भन्ने हेतुले फेशन शो गरिएको हो’ इन्टरनेशनल फेशन कलेज (आईएफसी) का प्रबन्ध निर्देशक सरस्वती गुरुङ भन्छिन्, ‘फेशन डिजाइनसम्बन्धी पढाइ हुने कलेज भएकाले फेशन सम्बन्धी नै कार्यक्रम गर्यौ।’

फेशन शो मोडलहरु र्याम्पमा उत्रनु मात्रै हैन । डिजाईनरहरुले बनाएका नयाँ–नयाँ कपडाका डिजाईनहरु सार्वजनिक गर्ने तरिका पनि हो । तर, पछिल्लो सयमा फेशन सो लाई मोडलहरु हेर्ने कार्यक्रमका रुपमा चिन्न थालिएपछि पनि फशेन शो घटेको हो । ‘फेशन शो लाई क्रियटिभ तरिकाले हेरिएन यसलाई मोडलहरु हेर्ने कार्यक्रमका रुपमा बुझियो’ कोरियोग्राफर सुरज थापा भन्छन्, ‘यस्ता भ्रमलाई चिर्न र पोखराको फेशन शो ब्यूँतिएको संकेत दिन कार्यक्रम गरिएको हो ।’

मोडलहरुले र्याम्पमा क्याटवाक गर्नुअघि गायक योगेश काजीले भूकम्पले पुर्याएको क्षतिमा  केन्द्रित गीत सुनाए । योगेशको गीतले सभाहलमा सान्नाटा नै छायो । अघिपछिको जस्तो होहल्ला सोमा थिएन । सबै शान्त थिए । कार्यक्रममा योगेशकाजीको गायन र एउटा खुट्टा नभएकी अन्जना गुरुङले बैसाखीको भरमा नृत्य गर्दा सबै मन्त्रमुग्ध बने । फेसन सो सकिएपछि डिजे सेसनमा कार्यक्रम हेर्न गएका दर्शक, फेशन डिजाइनर र मोडलहरु सँगसँगै नाचेर रमाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %