भूकम्प पीडित सहयोगार्थ मगर चलचित्र “रैंयाँ”को प्रिमियर शोमा उल्लेख्य दर्शक

Read Time:4 Minute, 30 Second

रूद्र श्रीसमगर,मीना थापामगर,उमा आलेमगर

पोखरा, २ जेठ
पृथक कथावस्तुमा आधारित मगर कथानक चलचित्र “रैंयाँ”को शनिबार पोखरामा प्रिमियर शो गरिएको छ । भूकम्प पीडितका लागि सहयोगार्थ पोखरा सभागृहमा आयोजित प्रिमियर शोमा दर्शकको उल्लेख्य उपस्थिति रह्यो ।
मेनोको फिल्म एण्ड मिडिया हाउसको पहिलो प्रस्तुती रहेको मगर चलचित्र “रैंयाँ” मगर महिलाको ३६ गहनामध्येको एक रैंयाँको महत्वमाथि आधारित चलचित्र हो ।
प्रिमियर शोमा सोंचे भन्दा धेरै दर्शकको उपस्थितिले आफूहरू उत्साहित बनेको चलचित्रका निर्माता एवं कथाकार हर्क आलेमगरले बताए । उक्त चलचित्रको प्रिमियर शोबाट संकलित रकमको १० प्रतिशत रकम भूकम्प पीडितका लागि राहत स्वरुप वितरण गरिने समेत निर्माता आलेले जानकारी दिए ।
गत वैशाख १२ गते र २९ गते आएको महाभूकम्पबाट सिंगो देश शोकमग्न र भयभीत भएका बेला चलचित्रको प्रिमियर गरिएको भएपनि दर्शकको उत्साहजनक उपस्थितिले आफूहरूलाई थप हौसला मिलेको अर्की निर्मात्री तारामाया थापामगरले बताइन ।
मगर भाषा तथा संस्कृतिमा आधारित सो चलचित्रमा मगर महिलाको गहना “रैंयाँ”को महत्वलाई मुख्य विषयवस्तु बनाइएको बताउँदै चलचित्रले मगर संस्कृतिमा रहेको विविधतालाई समेत प्रतिनिधित्व गरेको निर्देशक मेजन पुनमगरले बताए ।
मेजन पुनमगरले निर्देशन गरेको चलचित्रका निर्माताहरूमा हर्क आलेमगर, तारामाया थापामगर र अंकित पुनमगर रहेका छन । रैंयाँलाई मगर महिलाको सुन्दरता, पवित्रता र अस्तित्व अनि आत्मरक्षाको कवज मानिन्छ ।
सञ्चारकर्मी हर्क आलेमगरको कथा रहेको चलचित्रमा कौह्रा, सालैजोसहित ४ वटा गीत समावेश गरिएका छन् । २० लाखको लगानीमा निर्माण गरिएको उक्त चलचित्रको छायाड्ढन तनहुँको भिमाद, मिछुर्लुङ, कास्कीको धम्पुस, टाइगर टपलगायतका ठाउँहरूमा गरिएको चलचित्रका सह–निर्देशक भीम रानामगरले जानकारी दिए ।
चलचित्रमा सञ्चारकर्मी कमला थापामगर “प्रिया” र अशोक आलेमगरको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारमा तारामाया थापामगर, मीन पुर्जा पुनमगर, दुर्गा ठाडामगर, पूर्ण थापामगर “सुगा”, अनिता रानामगर, गगन पुनमगर रहेका छन् ।
चलचित्रमा मेकअप सनमकुमार ९शरद्०, अनुशीलन कला केन्द्रको पहिरन, फोटोग्राफर भीम रानामगर, कास्टिङ डाईरेक्टर राज थापामगर, द्वन्द्व निर्देशन गणेश थापा, नृत्य गोरे गुरुङ, सहायक नृत्य मीरा थापामगर, सम्पादक लालबहादुर पुनमगर, याम पुनमगरको सिनेम्याटोग्राफी र सहायक निर्देशकमा भीम रानामगर रहेका छन ।
चलचित्र विभिन्न स्थानमा समेत प्रदर्शनीको क्रममा रहेको छ । यसैबीच, जेठ ९ गते तनहुँको दमौलीमा, १५ गते साँघे, १६ गते थर्पु, ३० गते खैरेनी र असार १२ गते दुलेगौंडामा प्रदर्शनीको तयारीमा रहेको निर्मात्री तारामाया थापामगरले जानकारी दिइन ।
रैंयाँ चलचित्रको प्रिमियर शो सकिएपछि सभागृहबाहिर मगर जातिको मौलिक संस्कृति कौह्राको प्रत्यक्ष प्रस्तुती समेत देखाइएको थियो । जसमा गायक याम सारूमगर, पदम थापामगर लगायतले गाएका थिए भने नायिकाद्वय कमला थापामगर र अनिता रानामगर लगायतले कौह्रा नाचेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %