काठमाडौँ, ६ माघ
सरकार निर्माण र प्रधानमन्त्री निर्वाचनसम्बन्धी संसदको नियमावली संशोधनका विषयमा तीन दलका शीर्ष नेताबीच एमाले संसदीय दलको कार्यालयमा आज बिहान भएको छलफल कुनै निष्कर्षमा पुग्न सकेन ।
सरकारको नेतृत्वमा तीनै दलले आ–आफ्नो नेतृत्वको दाबी कायमै राखेपछि छलफल कुनै निर्णयमा पुग्न नसकेको हो । तर पनि दलहरुबीच शान्ति र संविधानलाई केन्द्रविन्दुमा राखेर सहमति खोज्न तयार भएका छन् ।
नेकपा (एमाले), एनेकपा (माओवादी) र नेपाली काँग्रेसका नेताबीच भएको सो छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि भोलि बिहान पुनः छलफल हुने भएको छ । तीनै दलका नेताहरुले सहमतीय सरकार निर्माणमा जोड दिँदै सहमति जुटाउन शुक्रबार बिहान शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पुनः छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री निर्वाचनसम्बन्धी संसदको नियमावली संशोधनमा सो बैठकमा छलफल भएको थियो । तर सबै दलका आ–आफ्नै अडानका कारण कुनै निष्कर्षमा भने नेताहरु पुग्न सकेनन् । सरकार कसको नेतृत्वमा बन्नेभन्दा पनि सहमतीय सरकार निर्माणका लागि छलफल तीब्र पारेर अघि बढ्न नेताहरु सहमत भएका हुन् ।
नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सहमतीय सरकार निर्माण र संसद नियमावली संशोधनका विषयमा छलफल भएको वताए । “विषय केन्द्रित भएर छलफल गर्न नेताहरु सहमत भए, नियमावली संशोधनबारे दलहरुका आ–आफ्नै अडानका कारण निर्णयमा पुग्न सकिएन ।” नेता पौडेलले भने ।
उनले नियमावली संशोधनको प्रक्रियामा रहेकाले नयाँ प्रक्रियाबाट निर्वाचन प्रक्रिया सुरु हुने र पुरानो नियमावलीमा नजाने बताए । काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार कसको नेतृत्वमा बन्नेभन्दा पनि शान्ति र संविधानलाई केन्द्रविन्दुमा राखेर सहमति खोज्नेमा बैठकले जोड दिएको बताउँदै सरकारको नेतृत्वमा काँग्रेसको दाबी कायमै रहेको बताए ।
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानलाई केन्द्रविन्दुमा राखेर राष्ट्रिय सहमति जुटाउने विषयमा छलफल भएको जानकारी दिँदै आजको बैठकमा सबै नेताहरुले आ–आफ्नो धारणा राखेको बताए ।
उनले सरकार निर्माणका लागि सर्वोत्तम विधि राष्ट्रिय सहमति नै भएको तर त्यसको विकल्प छैन भन्ने चाहिं होइन भने । नेकपा (एमाले)का वरिष्ठ नेता केपी शर्मा ओलीले सरकार निर्माण, शान्तिप्रक्रिया कार्यान्वयन र संविधान निर्माणको विषयसँग जोडिएको भन्दै सहमति नभए स्वाभाविक रुपमा बहुमतीय प्रक्रियामा जाने बताए ।
सो छलफलमा नेपाली काँग्रेसका तर्फबाट सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महत, मिनेन्द्र रीजाल र अर्जुननरसिंह केसी सहभागी थिए ।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य किरण सहभागी हुनुुहुन्थ्यो । नेकपा एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, केपी ओली, भरतमोहन अधिकारी लगायतका नेताहरु सहभागी थिए ।