मनोज घर्तीमगर
कुनै बेला लोक नाटकको मानक बनेको पोखरेली रंगमञ्च धर्मराउँदो अवस्थामा छ । पोखराबाट लेखिएका लोकनाटकले नेपालभर चर्चा पाउँथे ।
लेखनमा मात्रै नभएर नाटक मञ्चनमा पनि पोखरा नेपालकै अग्रणी स्थानमा आउँथ्यो । तर उदाउँदै अस्ताउँदै गर्ने पोखरेली रंगमञ्च अब सँधैका लागि ब्यूझने भएको छ । लामो समयको गृहकार्यपछि पोखरामा स्तरिय नाटकघर बन्ने पक्का भएपछि यहाँको रंगमञ्च फेरी मुर्झाउन लागेको हो । नाट्य समुह युथ क्रियशन थिएटरले पोखरको नागढुंगास्थित डेढ रोपनी जग्गा भाडामा लिएर भवन निर्माण सुरु गर्न लागेपछि पोखरेली नाटकप्रेमी हौसिएका छन् ।
नाटक घर निर्माणको लागि संस्थाले विशेष आर्थिक संकलन अभियान थालेको छ । ‘सामाजिक सहभागितामुलक हिसाबले हामीले नाटक घर निर्माण थालनी गर्ने भएका हौँ ’थिएटरका अध्यक्ष कपिल शर्मा भन्छन्,–‘नाटक घर बनाउने ऐतिहासिक काममा सबैको सहयोग मिल्छ भन्ने आशा छ ।’ नाटक घर बनाउन आर्थिक अभियान शुरु भएसंगै केहि सहयोगीहरुले आर्थिक सहयोग गरिसकेको उनले जानकारी दिए । पोखरामा नाटक घर बन्नु पोखराकै गर्वको कुरा भएकाले सम्पूर्ण पोखरेलीहरुलाई आर्थिक सहयोग गर्न उनले आह्वान समेत गरे । नाट्य गतिविधि भैरहने पोखरामा नाटक घर स्थापना भएसंगै नाट्यकर्मीहरुलाई पनि धेरै सहज हुने विश्वास छ ।
नाटक घर निर्माणको लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान संस्थाको छ । नाटक घरसँगै नाटक मञ्चनका लागि आवश्यक सबै सामाग्रीहरु यहि खर्चमा उम्काउने थिएटरका सचिव सौगात पोखरेलले बताए । उनले पर्यटकीय हिसाबले अग्रस्थानमा रहेको पोखरालाई साँस्कृतिक पर्यटकीय गन्तब्य बनाउन पनि नाटकघरले भुमिका खेल्ने सुनाए ।
उनका अनुसार यो वर्षको साउन अन्तिमसम्ममा नाटक घर निर्माण भइसक्नेछ । पोखरामा नाटक घर बन्ने भएसँगै यहाँका नाट्यकर्मीहरु हर्षित छन् ।