भबेश भूमरि
काठमाडौँ, वैशाख ४ गते – गीतकार इखमान पुनमगरको गीतिएल्बम ‘परदेशीको दिन’लाई एक समारोहका बीच प्रमुख अतिथि लोकप्रिय कवि तथा गीतकार प्राज्ञ श्रवण मुकारुङले विमोचन गरे ।
विमोचित कृतिका बारेमा समीक्षा गर्दै वरिष्ठ सङ्गीतकार तथा संस्कृतिविद् बुलु मुकारुङले विदेशमा कर्म गरेर नेपालका विभिन्न क्षेत्रमा सेवा गर्ने व्यक्तिहरूको सेवा भाव विकास हुँदै आएकोमा खुसी लागेको कुरा व्यक्त गरेका थिए । बेलायतमा कर्म गरी आफू जन्मेको ठाउँ गुनाम, रुकुमको श्री प्राथमिक विद्यालयको भौतिक पूर्वाधार र सोही ठाउँको बुद्ध मूर्ति निर्माणमा खर्च जुटाउनका लागि एल्बम निकालेकोमा गीतकार इखमान पुनमगरको कार्य सफलताको कामना गर्दै मुकारुङले सोही काममा थोरै भए पनि सहयोग पुगोस् भनेर कार्यक्रमदेखि नै यो कार्यको सुरुवात गरी रु. १० हजार आर्थिक सहयोग हस्तान्तरण गरे । वास्तवमा देशले शिक्षा क्षेत्रमा लगानी गर्नैपर्ने र यो क्षेत्रलाई मजवुद बनाएमा मात्रै देशको हरेक क्षेत्र मजवुद हुन्छ भन्दै मुकारुङले आफूसँग प्रशस्त पैसा भएर सहयोग गरेको होइन तर रुकुमजस्तो दुर्गम गाउँमा बसेर पढ्दै गरेका विद्यार्थीहरूको सुन्दर भविष्यका लागि सहयोग गरेको कुरा बताए । त्यसरी सहयोग गरेकामा मुकारुङलाई सम्मान पनि गरिएको थियो ।
सङ्गीतकार मुकारुङले गीति एल्बमका गीतहरूको सङ्गीतपक्षको समीक्षा गर्दै एल्बममा रहेका गीतहरूमा सङ्गीतको विविधता रहेकोले एल्बम उत्कृष्ट भएको कुरा व्यक्त गर्नुभयो । सबै गीतमा स्थापित र स्थापित हुँदै गरेका सङ्गीतकार, सङ्गीत संयोजक र गायकगायिका रहेकाले सबैले आफ्ना तर्फबाट सक्दो मेहनत गरेका कारण एल्बम उत्कृष्ट हुन पुगेको कुरा प्रष्ट्याउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि श्रवण मुकारुङले आफूले ३२ वर्षको गीति लेखनयात्रामा धेरै आरोहअवरोह पार गरेको र यसै क्रममा गीतकार इखमान पुनमगरको गीति एल्बमका गीतहरूका बारेमा बोल्ने अवसर जुटेकोमा खुसी व्यक्त गर्नुभयो । गीतकार महाकाव्य लेख्दैन, ठूला ठूला ठेली तयार गर्दैन तर महाकाव्यका या ठूला ठूला ठेलीका कुरा समेट्छ भन्दै गीतकार इखमान पुनमगरले आफ्ना गीतमा यो कार्य गर्न सफल भएको कुरा गीतमा लाइन पढ्दै व्याख्या गर्नुभयो । विदेशमा बस्ने नेपाली श्रष्टाले सधैँ देश र समाजको प्रतिविम्ब उतारेको भन्दै मुकारुङले गीतकार इखमानले पनि यही कार्यमा सफलता प्राप्त गरेको कुरा उल्लेख गर्नुभयो । कुनै बेला आफूले एल्बम निकाल्ने सपना बोकेको र यो एल्बम सुनेपछि आफूलाई ईष्र्या लागेको भन्दै मुकारुङले नेपाली गीतसङ्गीतमा विदेशमा कर्म गर्ने नेपालीहरूको ठूलो लगानी रहेको कुरा व्यक्त गर्नुभयो । गीति एल्बम ‘परदेशीको दिन’मा विधि विषयका गीतहरू रहँदारहँदै पनि विदेशमा बस्नुपर्दाको पीडाको वाहुल्यता रहेको कुरा राख्नुभयो । रचना, सङ्गीत, सङ्गीत संयोजन र रेकर्डिङ सबैका पक्षबाट एल्बम उत्कृष्ट बनेका कारण यो एउटा बलियो भएको छ, मुकाङले भननुभयो ।
सङ्गीतकार सन्तोष श्रेष्ठले एल्बमको समीक्षा गर्दै रुकुम जन्मथलो भएका गीतकारहरूबाट आधुनिक गीतिएल्बम नआएको र यो एल्बम नै पहिलो र ऐतिहासिक एल्बम भएको कुरा राख्नुभयो । नेपालको मध्यपश्चिमदेखि नेपालको पूर्वी भागका सङ्गीतकारहरूको सङ्गीत रहेकाले एल्बम स्तरीय बनेको कुरा श्रेष्ठले राख्नुभयो । कला अनुरागीको सहजीकरण रहेको यस कार्यक्रममा सङ्गीतकार अविदको शुभकामना मन्तव्य रहेको थियो । सुरप्रभा गीतसङ्गीत प्रा.लि.का अध्यक्ष गीतकार भावेश भुमरी सभापति रहेको यस कार्यक्रममा भुमरीले नै एल्बम निर्माणको संयोजन गर्नुभएको थियो । एल्बम निर्माणका क्रममा आफूले गरेका कामहरूको अनुभव सुनाउँदै भुमरीले आफूले अत्यन्त पारदर्शी रूपले काम गरेको र सबै हिसाब विस्तृतमा राख्ने अनि दिने गरेको कुरा राख्नुभयो । यसो गरेमा नेपाली सङ्गीत उद्योगले निरन्तरता पाउने छ भन्दै भुमरीले आफूले सधैँ हिसाबमा ख्याल राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा आफ्ना कुरा राख्दै बेलायतका कार्यरत गीतकार इखमान पुनमगरले भन्नुभयो, “म अहिले मेरो जन्मभूमि नेपालमा यहाँहरूको साथमा छु र लगभग २२ वर्षको विदेशको सेवामा मैले व्यक्तिगत रूपले जे गरेँ ती सबै आज मेरा लागि गौण बनिदएका छन् । यिनै कारण आज म हर्षले गदगद छु । मैले विदेशको कामका क्रममा अनुभूत भएका कुराहरूलाई कहीँ गीत त कहीँ कविताका रूपमा लिपिबद्ध गर्दै रहेँ । यसरी लिपिबद्ध गरेका गीतहरूलाई बजारमा ल्याउन मन लाग्यो र यसैबाट मेरो जन्मथलो रुकुमको गुनामस्थित श्री प्राथमिक विद्यालयको भौतिक सुधारमा थोरै सामाजिक काम गर्ने सपनालाई साकार बनाउने बाटोतिर लाग्न पनि मन लाग्यो । यसका साथै त्यही गाउँमा एउटा बुद्ध मूर्ति निर्माण गर्ने कार्यलाई पनि अगाडि सारेको छु अर्थात् यस एल्बम बिक्रीवितरणबाट जति रकम उठ्ने छ, सम्पूर्ण रकमको विवरणसहित आजको डेढ वर्षमा एउटा औपचारिक कार्यक्रम गरी सम्बन्धित संस्थाहरूलाई हस्तान्तरण गर्ने छु र त्यतिबेला थोरै भए पनि मैले टेकेको माटोको सेवा गरेको अनुभूत गर्ने छु । म आफू यति लामो समयसम्म विदेशको सेवा गरेको पीडाबाट थोरै भए पनि मुक्त भएछु भन्ने सम्झने पनि छु । यसलाई मेरो सार्वजनिक प्रतिवद्धता हो भनेर लिइदिनुहुन सबैप्रति विशेष अनुरोध समेत गर्दछु ।” कार्यक्रमा एल्बममा कार्य गरेका सबै सदस्यहरूलाई मायाको चिनो वितरण गरिएको थियो भने सबै गीतको स्थायी श्रवणसहित एल्बमको एक गीतको भिडियो पनि देखाइएको थियो । आफ्नै गाउँ रुकुमको गुनामलाई समेटेको ‘रुकुम सिस्ने काखैमा भेरी सलल’ गीतको भिडियो सुरेश थापाले निर्देशन गर्नुभएको हो भने सुशीला थापा र देव आलेले नायिका र नायकको भूमिका निर्वाह गर्नुभएको छ ।
दिनेश सुब्बा, बुलु मुकारुङ, सन्तोष श्रेष्ठ अविद र रोशनराज गुरुङको सङ्गीत रहेको यस एल्बममा रिमा गुरुङ होडा, मनोजराज, स्वरुपराज आचार्य, अन्जु पन्त, कृष्णभक्त राई, कर्मग्याल्छेन बमजन, मिलन अमात्य र बानिका प्रधानको स्वर रहेको छ भने नोर्बु शेर्पा, विष्णु अधिकारी, बबीराज घतानी, कुमार थापा, सञ्वि बराली र झलक सङ्गीतमको सङ्गीत संयोजन रहेको छ । एल्बमका सबै गीत सङ्गम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएका हुन् भने सबै गीतको रेकर्ड र सम्पादन मित्र लामाले गर्नुभएको हो । यस एल्बमलाई सुरप्रभा गीतसङ्गीत प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।