चितवन (रत्ननगर), २ माघ
अनमिनको बिदाइपछि माओवादी लडाकूको तेस्रो डिभिजन शक्तिखोर चितवनमा सेना समायोजन विशेष समिति मातहतको टोली हतियार रेखदेखका लागि आएको छ ।
अनमिनको बिदाइलगत्तै आठ सदस्यीय टोली माओवादी लडाकूको शिविर चितवनमा आएको हो । टोलीले हिजो साँझदेखि नै आफ्नो काम सुरु गरेको छ ।
टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी तथा लडाकू गरी आठजना सदस्य रहेको माओवादी तेस्रो डिभिजनका सहायक कमान्डर दीपकले जानकारी दिए ।
विशेष समितिको टोली आउने वित्तिकै हिजो साँझ नै शिविरमा रहेका अनमिन प्रतिनिधिहरुलाई विदाइ गरिएको सहायक कमान्डर उदयबहादुर चलाउनेले जानकारी दिए ।
शान्तिप्रक्रियामा सघाउन नेपाल आएको अनमिनको थपिएको म्याद सकिएपछि लडाकू रेखदेखको जिम्मा विशेष समितिले पाएको हो ।
विशेष समिति मातहतको टोली र माओवादी लडाकूहरुबीच गएराति नै लडाकूको रेखदेख र हतियार संरक्षणको विषयमा अनमिनले खेलेको भूमिका र अन्य विषयमा छलफल भएको बताइएको छ ।