मनोज घर्तीमगर
वरिपरि घना जंगल छ । डाँडैमा विश्व शान्ति स्तूप भएकोले सरसर हावा पनि चल्छ बेलाबेला । अग्लो स्थानमा रहेको शान्ति स्तूप पुग्दा निकै रमाईलो अनुभुति हुन्छ । शान्त वातावरण रहेको यो क्षेत्रबाट पोखरा शहरका अलावा विभिन्न हिमालहरु हेर्न सकिन्छ । नामुम्योहोरेंङगेयोव नामक मन्त्र जप्दै लामाहरु साँझ विहान पुजा गरिरहेका हुन्छन् ।
पुम्दी भुम्दी गाविस वडा नं.१ मिनथुम्कीमा रहेको छ विश्व शान्ति स्तूप । स्तूपको क्षेत्रफल २१ रोपनी ८ आना १ पैसा २ दाम छ । स्तूप जापानी भिक्षुहरुको संस्था निम्पोन जोन म्याहोजीले बनाई दिएको हो । स्तूपको एक सय १५ फिट उचाई छ भने गोलाइ ३ सय ४४ फिट छ । स्तुपको चारैतिर बुद्धका चारवटा महत्वपूर्ण मूर्तिहरु छन् । जसमध्ये पूर्वी मोहडामा राखिएको मूर्ति जापानको एक परिवारका अपाङ्ग दिदी बहिनीले उपहारस्वरुप दिएका हुन् । योे बुद्धको धर्मचक्र मूर्ति हो ।
स्तूपको दक्षिणी मोहडातिर नेपालमा निर्मित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको जन्म र कपिलवस्तुको झल्को दिने मूर्ति छ । बुद्धले एक हातको औला जमिनतिर अर्को हात ठ्याएर आकाशतिर फर्काएका छन् । यसको अर्थ के होला ? धेरैलाई थाहा नहुन सक्छ । बुद्ध जन्मिने बित्तिकै चारदिशातिर ७/७ पाईला हिडेका थिए । चारदिशाको चार कोण, आकाश र जमिन हेरेपछि उनले १० दिशा हेरे । जताततै हेर्दाखेरी आफूभन्दा ठूलो कोही नदेखेर म भन्दा ठूलो कोही रहेनछ भनेर आकाश र जमिन देखाएको किवंदन्ती छ ।
स्तूपबाट हिमालहरु मजाले देख्न पाईन्छ । पोखरा शहर, फेवाताल, रानीवन, सराङकोट, काहुँडाडा, मट्टिखान, भरतपोखरी, क्रिष्ति लगायतका ठाउँ पनि निकै राम्ररी हेर्न पाईन्छ । दक्षितिरको फुस्रेखोला पुम्दी भुम्दी हेर्दै मन बहलाउन सकिन्छ । स्तूपको पश्चिमी मोहडामा बुद्धको ध्यान मुद्राको मूर्ति देख्न सकिन्छ । यो मूर्ति श्रीलङ्काले उपहार दिएको हो । स्तूपको सबैभन्दा आकर्षण भनेको गजुर हो । १३ तले यो गजुर २० फिट उचाइको छ । गजुरको भित्री भागमा हिरा, मोति, पन्ना, मुगा, मणिक, सुन, चाँदी तामा जस्ता बहुमुल्य धानु र बुद्धको अस्तु राखिएको हामीले थाहा पायौ । गजुरको सबभन्दा माथिल्लो भागमा श्रीलंकाले दिएको ठूलो स्फटिक (क्रिष्टल स्टोन) स्टोन राखिएको छ । यसमा निलो र रातो बत्ति बल्छ ।
यहाँबाट धौलागिरी, निलगिरी, माछापुछ्रे र अन्नपूर्ण हिमालका दृश्यावलोकन गर्न सकिन्छ । यो बाहेक लमजुङ र गोर्खा हिमालको अर्धचन्द्रकार दृश्य पनि हेर्न सकिन्छ । जोअन्न लुम्ले भ्यू टावर, पञ्चासे लेक, सराङकोट, ऐतिहाँसिक कास्कीकोट, काहुँ डाँडा, अर्मला, बिजयपुर र कन्धनी डाँडा लगायतका स्थानहरु भने मजाले हेर्न पाईन्छ । उत्तरी मोहडामा बुद्धको अर्को मूर्ति छ । भगवान गौतम बुद्धको सम्यक संवुद्धको परिनिर्वाण मूर्ति छ यहाँ । यो मूर्ति थाइल्याण्डले उपलब्ध गराएको हो ।
विश्वमा बनेका विश्व शान्ति स्तूप मध्ये यो ७१ औं हो । नेपालमा लुम्बिनी र यहाँ गरि दुई वटा विश्व शान्ति स्तूप छन् तीमध्ये यो पहिले बनेको हो । सबैभन्दा बढी विश्व शान्ति स्तूप जापानमा छन् जहाँ ५५ वटा छन् भने भारतमा ११ वटा विश्व शान्ति स्तूप रहेका छन् । यहाँ स्तूप हेर्न आएका स्वदेशी, विदेशी पर्यटकहरु झुम्मिएका हुन्छन् । कोही ध्यानमग्न भएर बसेका हुन्छन् । कोही वारिपारीको दृश्यावलोकन गरिरहेका । त्यहाँ हेलिप्याड पनि छ । स्तूप हेर्न हेलिकोप्टरबाट आउने विशिष्ट पाहुनाको लागि बनाईएको हो यो । स्तूप सातै दिन खुल्ने हुनाले जुन दिन गए पनि खुला हुन्छ । बिहान ५ बजे खुलेपछि साँझ ७ बजे बन्द हुन्छ । पुस माघमा भने ५ बजे खुलेर साँझ ५ बजे बन्द हुन्छ । स्तूपको अगाडी रहेको गार्डेनमा विभिन्न बोटबिरुवा हेर्दै रमाउन सकिन्छ । ‘यहाँ नेपालका विभिन्न जिल्लाबाट मात्र हैन विदेशबाट आउने पर्यटकको समेत लर्को लाग्छ’ शान्तिस्तूपका कर्मचारी दुर्गा बोगटी भन्छन्‘यहाँ पछिल्लो समय नेपालीहरु बढी आउन थालेका छन् ।’
यो विश्व शान्ति स्तूप विश्वको ७१ औं नम्बरमा पर्छ । विं सं. २०३० भदौ २१ गते जापानी भिक्षु निचिदास्सु फुजीईले शिलन्यास गरेको भए पनि विभिन्न कारण देखाउँदे सरकारले २०३१ सालमा भत्काईदियो । पोखरा उप–महानगर पालिकाको मापदण्ड विपरित निर्माण गरेको भन्दै भत्काईदिएपछि यसको निर्माण कार्यमा बाधा आयो । त्यतिबेला भत्काईदिए पनि २०४९ साल जेठ ८ गते पुनः शिलन्यास गरिएको हो । त्यतिबेलाका प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाले २०४९ सालमा शिलन्यास गर्नुभयो । २०५६ सालमा निर्माण सम्पन्न हुँदा पनि गिरीजा प्रसादले नै उद्घाटन गरेका थिए ।
स्तपू जान पनि निकै सजिलो छ । पोखराको लखनचोकबाट खाडेखोला जाने गाडीमा गएर पुम्दीमा झर्नुपर्छ । त्यहाँबाट करिब २५ मिनेट उकालो हिडेपछि विश्व शान्ति स्तूप पुग्न सकिन्छ । आफ्नै साधन छ भने त काईदा भईहाल्यो । यदि पकेट गरम छ भने ट्याक्सी पुग्छन् स्तूपकको फेदैसम्म । खाजा खानको लागि स्तूपको नजिकै खाजाघर खुलेका छन् । यहाँ फिल्म र म्यूजिक भिडियो खिज्नका लागि धेरै मानसि आउँथे । तर, उनीहरुले जथाभावी गर्न लागेपछि गत वर्षदेखि यहाँ फिल्म र म्यूजिक भिडिायो सुटिङका लागि भने बन्देज लगाईएको छ । पछिल्लो समय यहाँ युवायुवतिले डेटिङ स्पटको रुपमा समेत यसलाई प्रयोग गर्न थालेका छन् । यहाँ छिर्नलाई कुनै पनि शुल्क लाग्दैन । स्तूपलाई सहयोग गर्न चहानेले त्यहाँ रहेको दान बक्समा आफूलाई इच्छा लागेको रकम खसाल्न सक्छन् ।