दाङ २९ पुस
दाङ जिल्लालाई कम्लहरी मुक्त जिल्ला घोषणा गरिएको दुई वर्ष पुग्न लागि सक्दा समेत व्यवहारमा लागु हुन नसकेपछि पछिल्लो समयमा घरघरमा छापा मार्ने अभियान तिव्र बनाइएको छ ।
सरकारी प्रतिनिधि र सरोकारवाला संघसंस्थाहरुको संयुक्त पहल कदमिमा सुरु गरिएको छापा अभियान अन्तगर्त २४ जना कम्लहरी बालिकाको उद्धार गरिएको छ । यसैगरी जिल्लामा अझैं पनि ५० जना कम्लहरीको उद्दार हुन बाँकी रहेको सम्बन्धित संस्थाहरुले जनाएका छन् ।
उद्दार हुन बाँकी रहेकामध्ये अधिकांश कम्लहरीहरु जिल्लाबाहिर बस्ने भएकाले उनीहरुको उद्धारमा गाह्रो भएको सहयोग समाज नेपाल दाङका कार्यक्रम संयोजक गेद्दुलाल चौधरीले जानकारी दिए ।
उद्दार गरिएका २४ जनामध्ये २ जनालाई नर्तीस्थित होस्टेलमा राखिएको र अन्यलाई अभिभावकको जिम्मा लगाइएको संयोजक चौधरीले बताए । उद्दार गर्न बाँकी रहेका कम्लहरीहरुको उद्दारका लागि बुधबारबाट जिल्ला भित्रने नाकाहरुमा चेकजाँच सुरु गरिएको छ । कम्लहरीहरु माघी मान्न घर आउने भएकाले नाकाहरुमा सवारी साधनहरुको चेकजाँच गरी उनीहरुको उद्दार गरिने भएको हो ।
गतवर्ष पनि माघीको अवसरमा जिल्ला भित्रने मुख्य नाकाहरुमा चेकजाँच गरी कमलहरीहरुको उद्दार गरिएको थियो । महिला तथा बालबालिका अधिकृत प्रभा श्रेष्ठको अगुवाइमा जिल्लाका सबै स्थानमा छापा मार्ने अभियान तिव्र बनाइएको र केही दिनभित्रै जिल्लाका सबै बालिकालाई मुक्त गर्ने योजना रहेको छ ।