किसन राई
हङकङ, १९ मार्च – पहिचानसहितको सङ्घीयता, संघीयतासहितको संविधानका लागि नेपालमा सञ्चालित आन्दोलनलाई सहयोग गर्न हङकङमा दुई सहयोग समिति गठन भएको छ ।
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन र एनेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चालाई सहयोग गर्न समिति गठन भएको हो ।
पद्मरत्न तुलाधर नेतृत्वको राष्ट्रिय आन्दोलनलाई सहयोग गर्न मैनबहादुर थापाको संयोजकत्वमा ६१ सदस्य रहेका छन् । सहसंयोजक नरहाङ राई रहेका छन् ।
३० दलीय मोर्चालाई सहयोग गर्ने समितिमा चाहिँ पाँच राजनीतिक दल र भातृसंस्था रहेका छन् । सहयोग समितिको संयोजक एनेकपा (माओवादी) हङकङ रहेको छ भने समितिका सदस्य सचिव सङ्घीय समाजवादी पार्टीको भातृसंस्था समावेशी नेपाली समाज रहेको छ । सदस्यहरुमा राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी र लिम्बुवान राष्ट्रिय मोर्चा रहेका छन् ।
राष्ट्रिय आन्दोलन सहयोग समितिका सदस्य इन्द्रसिंह राईले मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको संयोजकत्वमा गठित समितिलाई आर्थिक, नैतिकलगायतका सहयोगको लागि समिति गठन गरिएको बताए । पद्मरत्न नेतृत्वको राष्ट्रिय आन्दोलनले आदिवासी जनजातिलगायत उत्पीडित समुदायको अधिकारको लागि सम्झौताहीन संघर्ष गर्ने बताउँदै आएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, हङकङका अध्यक्षसमेत रहेका आन्दोलन सहयोग समितिका संयोजक थापाले नगेन्द्र कुमाल नेतृत्वको महासंघले भन्दा तुलाधर संयोजकत्वको राष्ट्रिय आन्दोलन पहिचानसहितको सङ्घीयताको लागि स्पष्ट भएकोले छुट्टै समिति गठन गर्नुपरेको बताए ।
एनेकपा (माओवादी) हङकङका सचिव रविन लिङ्देनका अनुसार ३० दलीय मोर्चामा रहेका राजनीतिक पार्टीका शाखा तथा भातृसंस्थालगायतलाई समेटेर मोर्चा सहयोग समिति गठन गरिएको हो । सहयोग समितिमा ३० दलीय मोर्चामा नरहेको र केन्द्रीय समिति नै हङकङमा रहेको राजनीतिक दल लिम्बुवान राष्ट्रिय मोर्चा (लिरामो)समेतलाई समेटिएको छ ।
अध्यक्ष अविचन्द्र इङ्नामले पहिचानसहितको सङ्घीयताको लागि नेपालमा राजनीतिक मोर्चालाई सघाउन हङकङमा सहयोग समिति बनेकोले लिरामोलाई पनि समेटिएको बताए । उनका अनुसार लिरामोको उद्देश्य नेपालमा लिम्बुवानसहित जातीय पहिचानमा आधारित सङ्घीयता स्थापना रहेको ईसमताले समचार छापेको छ ।
तस्बिरः इन्द्र लक्सम