जिप्सी ज्याज लेकसाइड

Read Time:6 Minute, 3 Second

मनोज घर्तीमगर

पोखराको लेकसाइडमा सबै देशको खान पाक्छ । रमाउनलाई सबै देशका मान्छे ओइरिन्छन् ।

बेलाबेला विभिन्न देशको सँस्कृति पनि देख्न पाइन्छ । सबै देशको भान्सा, सँस्कृति र मान्छे मात्र होइन, संगीतमा पनि कम छैन लेकसाइड । यो साता लेकसाइडमा पोखरेलीले सुन्दै नसुनेको त्यस्तै नयाँ संगीतको स्वाद लिए । त्यो थियो युरोपियन संगीत–जिप्सी ज्याज ।

नेपालमा पूरानो गीतलाई लोक गीत भने झै यूरोपमा जिप्सी संगीत भनिदो रहेछ । यहाँ गीत गाउँदै गाउँठाउँ घुम्नेहरु गन्धर्व हुन् । यूरोपमा भने जुनसुकै समुदायका मान्छेले फिरन्ते तरिकाले गीत गाउँछन्, संगीत बजाउँछन् ।  यसरी पूराना गीत गाउँदै संगीत बजाउँदै हिड्ने टोलीलाई नै यूरोपमा जिप्सी ज्याज भनिन्छ । त्यही जिप्सी ज्याज को टोली विभिन्न देश घुम्ने क्रममा पहिलो पटक पोखरा आइपुगेको हो । नेपालीलाई नौलो लाग्ने संगीतबारे पर्यटकिय क्षेत्र लेकसाइडमा ‘जिप्सी ज्याज फेस्टिबल’ आयोजना भयो ।

पोखरेलीलाई यूरोपको निकै प्रसिद्ध जिप्सी ज्याज संगीतको रसपान गर्ने मेलो जुराइदिएका हुन्, यहाँका पर्यटन व्यवसायी सिरोज कोइराला, सुदेश श्रेष्ठ र दोर्जे लामाले । उनीहरुकै अगुवाईमा जिप्सी ज्याज टोली पोखरा आएको हो । बुधबार सेन्टरप्वाइन्टको इक्लिप्स, विहीबार ओलिभ रेस्टुरेन्ट र शुक्रबार मधुशाला रेष्ट्रो एन्ड लाउन्ज बारमा जिप्सी ज्याज टोलीले अनेकन युरोपेली धुन गुन्जायो । त्यहि धुन सुन्न गएका पोखरेली उनीहरुको प्रस्तुति देखेर मन्त्रमुग्ध भए । ‘जिप्सी ज्याज संगीत देखाउँदै, सुनाउँदै संसारभर हिडेको टोलीलाई पोखरा ल्याउन नछुटाउँ भनेर यहाँ ल्याएका हौं’ मधुशालाका सिरोज कोइराला भन्छन्,‘विभिन्न क्षेत्रका संगीतकर्मीहरुलाई ल्याउने क्रममा जिप्सी ज्याज टोलि ल्याएका हौं । अब हरेक वर्ष जिप्सी ज्याज फेस्टिभल गर्ने योजनामा छौं ।’

फ्रान्सका च्याङ्गोरानाले जिप्सी संगीतलाई बढावा दिए । उनी गीतार बादका प्रसिद्ध भएकाले जिप्सी संगीतमा बढी प्रयोग गीतार नै भयो । सन् १९३० देखी अमेरिकामा ज्याज संगीत जन्मियो । यूरोपको जिस्सी र अमेरिकाको ज्याज फ्यूजन भएर जिप्सी ज्याज संगीत बन्यो । यसमा दुई गीतार, डबल बेस, भ्वाइलिन र कर्डियन बाजा समावेश हुन्छन् । यी बाजाहरुबाटै निकालिने यूरोपेली धुन नै जिप्सी ज्याज संगीत हो । पहिले संगीतसँगै गाउने भए पनि अहिले गीत गाउन छाडेर बाजा मात्रै बजाउने गरिन्छ । पोखरामा तीन दिनसम्म चलेको जिप्सी ज्याज फेस्टिभलमा संगीत पारखीको भिड लाग्यो । गीतार बादकहरुको त तछाडमछाड नै थियो । ‘नेपालमा जिप्सी ज्याज संगीत विस्तारै फलँदैछ, गत वर्ष हामीले काठमाडौंमा जिप्सी ज्याज फेस्टिभल ग¥यौं’ नेपाल जिप्सी ज्याजका सहप्रबन्धक प्रतिक प्रधान भन्छन्,‘पोखरामा पहिलो पटक गरिएको जिप्सी ज्याज फेस्टिभल पूर्ण सफल भयो, पोखरेलीले दिएको प्रतिक्रियाले हामी उत्साहि छौं ।’
 
जिप्सी ज्याज संगीत सुनाउन नेपाल आइपुगेको टोलीले यहाँका विभिन्न ठाउँमा जिप्सी संगीत पस्किसेको छ । विशेष गरि गीतार, भ्वाइलिन लगायतका साधनबाट उनीहरुले संगीत सुनाएका थिए । जिप्सी ज्याज संगीत सुनाउन स्विट्जरल्यान्डका निकोलस फाडेर, ग्रेग पिट्टि, जेभिएर मोइलियन, श्यामुयल पोट, फ्रान्सका ड्यानियल जिभोन, नेपालका हरि महर्जनसहित १५ जना पोखरा आएका थिए । ‘जिप्सी यूरोपको पुरानो धुन हो, यसमा नेपाली बाजालाई मिलाएर बजाउँदा नेपालीले धेरै मन पराउने गरेका छन्’ १५ वर्षदेखी जिप्सी ज्याज संगीत कर्ममा लागिरहेका काठमाडौं न्यूरोडका हरि महर्जन भन्छन्,‘फेस्टिभलमा पोखरेलीले धेरै साथ दिनुभो । विदेशीको पनि उत्तिकै सहभागीता देखियो ।’

जिप्सी ज्याज संगीतप्रति आकर्षण बढेपछि महर्जन फ्रान्समै गएर त्यहाँको विश्वविद्यालय र छुट्टै प्रशिक्षकसँग प्रशिक्षण लिएर यो संगीतलाई नेपालमा मलजल गरिरहेका छन् ।

तस्वीर : प्रतिक प्रधान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %