सुन्ने होइन, हेर्ने गीत

Read Time:8 Minute, 17 Second

मनोज घर्तीमगर

अहिले गीतभन्दा धेरै म्युजिक भिडियो चल्छ । गीत सुन्नेमात्रै भन्दा पनि हेर्दे सुनेर रमाउने र मज्जा लिनेहरु बढेका छन् । त्यसैले अहिले जस्तोसुकै गीतको पनि म्युजिक भिडियो बनाउने चलन बढेको छ । गीत चल्ने वा नचल्ले भनेर निक्र्यौल गर्न म्युजिक भिडियोको महत्वपूर्ण भूमिका छन् । गीतमात्रै राम्रो बनाएर मख्ख पर्ने जमाना गइसकेको छ । अहिले दर्शक अनि स्रोता दुवैलाई एकै पटक मनोरञ्जन दिने गीतको उत्तम उपाया बनेको छ, म्युजिक भिडियो । अहिले गायक गायिकाहरु दर्शक स्रोता बाँध्नलाई गीतसंगसंगै म्युजिक भिडियो पनि उत्तिकै राम्रो बनाउनुपर्ने बाध्यताको भूमरिमा फसेका छन् ।

पोखरामा आजभोली महिनामा करिब २० देखि २५ वटा म्युजिक भिडियोहरु निर्माण हुन्छन् । काठमाण्डौंबाट म्यूजिक भिडियो छायाङ्कन गर्न आउनेलाई जोड्ने हो भने, यहाँका त्योभन्दा चार गुणा बढी भ्यूजिक भिडियो बन्छन् । यहाका विभिन्न प्रोडक्सन हाउसहरुले पनि म्युजिक भिडियोहरु बनाईरहेका छन् । कहिले गाउका गीत । कहिले पप रक गीत । कहिले फिल्मका गीत । कहिले लोकदोहोरी गीत । कहिले आधुनिक गीत अनि कहिल्यै ¥याप गीतहरुको म्युजिक भिडियो बन्ने क्रम पोखरामा बाक्लिएको छ । आखिर किन यति धेरै म्यूजिक भिडियो बन्छन् पोखरामा ? ‘सुन्ने गीतको जमाना गइसकेको छ, म्यूजिक भिडियो नबनाए गीत चल्दैनन्’ लोकदोहोरी प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष एवं गायक शंकर बिरही गुरुङ भन्छन्,‘मान्छेलाई सुन्ने र हर्ने गीत चाहिएको छ । त्यसैले हरेक गीतको म्यूजिक भिडियो बनाउनैपर्ने बाध्यता भएको छ ।’ हप्तैपिच्छे यहाँ नयाँनयाँ एल्बम पनि रिलिज भइरहेका छन् । तीनका म्यूजिक भिडियो पनि बनेकै छन् ।
म्यूजिक भिडियो नबनाइएपछि गीतको प्रचारप्रसार कम हुने र चल्न पनि गाह्रो हुने धेरै गायकगायिकाको अनुमान छ । सायद त्यसैले होला, पोखरामा हप्ता बिराएर म्युजिक भिडियो बन्ने गरेका छन् । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र धराशायी हुँदै गएपनि गीत रेकर्ड गराउने र म्युजिक भिडियो बनाउनेहरुको संख्या भने बढेर गएको छ । गीतहरु राम्रो भए पनि स्रोता माझ पुग्न गाह्रो हुने भएकाले म्यूजिक भिडियो बनाउनै पर्ने बाध्यता रहेको चर्चित गीतकार राजकुमार बगरेको स्वीकारोक्ति छ । ‘प्रविधिको विकासले स्रोता र दर्शकले एकै पटक सुन्ने अनि हेरेर गीतको मजा लिन चहान्छन्’ गीतकार बगर भन्छन्,‘टिभीमा सबैको पहुँच पुगेकाले म्यूजिक भिडियो नबनाइएका गीत खासै चल्दैनन् । सुन्ने र हेर्ने गीत बनाउनु स्रष्टाको बाध्यता हो ।’
पछिल्लो समय म्यूजिक भिडियो नबनाएर पनि अडियो मात्रै भएका गीतहरु नचलेका पनि होइनन् । तर, भिडियोको तुलानामा ती गीतहरु ओझेलमै पर्छन् । टेलिभिजनहरुमा प्रमोशन गर्न फोटो मात्रै राखेर पनि काम चलाउने गायकगायिकाहरु थुप्रै छन् । तैपनि यस्ता गीतहरु ओझेलमै पर्ने गरेको शब्द संकलक निरा पिजीको अनुभव छ । ‘म त तिम्रो मान्छे बन्न सकिन…’ बोलको गीत रचना गरेकी निराको गीतले एक हप्ता अघि चितवनको कालिका एफएमले आयोजना गरेको कालिका म्यूजिक अवार्डमा स्वर र संगीतमा म्युजिक अवार्ड पायो ।
म्यूजिक भिडियो नबनाएकै कारण गीतको जति चर्चा हुने पर्ने थियो त्यो भएन । ‘देशविदेशबाट गीतको म्यूजिक भिडियो किन यूटुबमा नहालेको भनेर फोन गरेपछि हामी हैरान भयौं’ अवार्डमा भाग लिन बेलायतबाट हालै नेपाल आएकी गीतकार निरा भन्छिन्,‘यो गीतको म्यूजिक भिडियो नबनाएकोमा अहिले आएर पछुतो लागेको छ । हामी छिट्टै यो गीतको म्यूजिक भिडियो बनाउनेछौं ।’
निराजस्तै म्यूजिक भिडियो नबनाएकै कारण गीत राम्रा भए पनि टेलिभिजन च्यानलमा बज्ने र बाहिर चर्चा नभएपछि थकथकी मान्ने सर्जकहरु थुप्रै छन् । पछिल्लो समय म्यूजिक भिडियो नबनाइएका गीतहरु दर्शकको दिमागका सम्झनै आउन नसकने भइकसकेका छन् । त्यसो त जताततै टेलिभिजनको सहज पहुँच भएकाले म्यूजिक भिडियो बन्ने क्रम बढेको हो । यो बाहेक टेलिभिजनमा देखिएका गीतहरु एकपटक सुन्ने र हेर्ने बित्तिकै त्यसको गहिरो छाप दर्शकमा पर्ने भएकाले हरेक गीतका म्यूजिक भिडियो बन्ने गरेको चर्चित म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट बनाउँछन् । ‘अहिले म्यूजिक भिडियो नबनाइएका गीत दर्शकको नजरमा पर्नै छाडिसके’ महिनामा २०/२५ वटा सम्म म्यूजिक भिडियोको निर्देशन गर्ने प्रकाश भन्छन्,‘गायकगायिकाले पनि व्यापारिक फाइदा लिन सजिलो हुने भएकाले म्यूजिक भिडियोलाई नै जोड दिन्छन् ।’
पोखराबाट बनेका थुप्रै म्युजिक भिडियोहरु भने राष्ट्रिय स्तरका टेलिभिजन च्यानलमा भने आक्कलझुक्कल मात्रै देखिन्छन् । त्यसो त यहाकै केबल च्यानलहरुमा पनि त्यति साह्रो भिडियोहरु बजेको पाईदैन । पोखराबाटै हप्ता बिराएर बनेका म्यूजिक भिडियो भने कहाँ जान्छन् कसैलाई पत्तो हुँदैन । राष्र्टियस्तरका भिटीमा भिडियो बजाउनका लागी पोखराबाट काठमाण्डौ पुग्नुपर्ने बाध्यता भएकोले पनि यहा बन्ने भिडियोहरु स्थानिय च्यानलमा मात्रै सिमित बन्न पुगेको पोखरेली निर्देशकको भनाई छ । पोखरामा नेत्र गुरुङ, जसु गुरुङ, जितेश प्रधान, श्रीकान्त सिग्देल, दीपेन्द्र श्रेष्ठ, कृष्णकुमार गुरुङ, माओत्से गुरुङ, युग गुरुङ, सर्वज्ञमान शाक्य, मिलन केसी, विराज पिपी लगाएतका म्युजिक भिडियो निर्देशकहरु सक्रिय छन् । त्यतिकै मात्रामा यहा म्युजिक भिडियोलाई करिअर सम्झिएर लागिपरेका टेक्निशियन र कलाकारहरु पनि छन् । म्युजिक भिडियो पनि बन्छन् तर प्रचारप्रसार अभावमा निर्देशक देखि लिएर कलाकार सबै पोखरामा मात्रै सिमित बनिरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %