देब पचभैया
काँकडभिट्टा, २७ फागुन – पहिचानको पक्षमा आन्दोलन गर्दै आइरहेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले ‘मेची–महाकाली’ पहिचान यात्रा शुरु गरेको छ । राष्ट्रिय आन्दोलन नेपालले पहिचान विरुद्ध वादीहरु दलहरु होसियार भन्दै मेची महाकाली यात्रा सुरु गरेको हो ।
बुधबार दिउँसो १२ बजे काँकडभिट्टा चोकमा सुरु भएको सभालाई सम्बोधन गर्दै संघीय समाजवादीका केन्द्रीय अध्यक्ष तथा सभासद् अशोक राईले आदिवासी जनजातिहरुको आवाजलाई विर्सिएर आफू खुशी संविधान बनाउनेहरु होसियार रहन चेतावनी दिएका छन् । अध्यक्ष राईले पहिचानवादीहरु एक भएर अगाडि बढिरहेको यो अवस्थामा केही तत्वहरु आदिवासी जनजाति विरुद्ध लागेको हुँदा तिनलाई सजग गराउन मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरिएको बताए ।
‘यो आन्दोलन राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको लागि हो, सबै उपेक्षित उत्पीडित जाति वर्ग, लिङ्ग र समुदायको मुक्तिको लागि हो ।’ उनले भने, त्यसैले मेची–महाकाली यात्राको शुभारम्भ गरिएको छ । उद्घाटन कार्यक्रममा नेवाः देय दवूका केन्द्रीय अध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नरेश ताम्राकारले यथास्थित र प्रतिगमनका विरुद्ध संघर्ष गर्नका लागि सबै आदिवासी जनजाति जातीय पहिचान सहितको संघीय संविधान निर्माणमा जुट्नुपर्ने बताए ।
उनले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत गर्नका लागि स्वाशासित क्षेत्र, सुरक्षित क्षेत्र र विशेष क्षेत्र निर्माण गर्नका लागि आदिवासी जनजाति राष्ट्रिय आन्दोलन सुरु गरिएको बताए । जनजाति महासंघ झापाका अध्यक्ष पारसमणि राईको सभापतित्वमा भएको थियो ।
उद्घाटन सभामा लिम्बुवान राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको छ ।