मकवानपुर, २५ पुस
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले माओवादीले प्रयोग गरेको ‘जनविद्रोह’ शब्दावली मात्रै भएकाले साँच्चै जनविद्रोह नहुने बताएकाछन । माओवादीले जनविद्रोह नगर्ने भएकाले सन्त्रस्त नहुन उनले आग्रह गरे । नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति कोइरालाले विगतमा पनि जनविद्रोह शब्दावली प्रयोग गरेर जनतालाई आतङ्कित मात्र पार्ने काम गरेकाले माओवादीले जनविद्रोह नगर्ने बताए ।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई जनविद्रोह शब्दावली मात्र भएको बताएकाले आत्तिनुपर्ने अवस्था नभएको उनले प्रस्ट पारे । ‘मैले प्रचण्डजीसँग कुरा गरेको छु ।
उनले ‘जनविद्रोह’ शब्दावली (टर्मिनोलोजी) मात्रै हो भन्नुभएको छ,’ उनले भने ।उनले एकीकृत नेकपा (माओवादी) शान्तिप्रक्रियाबाट बाहिर जान नसक्ने भन्दै युद्धको बाटो रोजे माओवादी पतन हुने चेतावनीसमेत दिए । सभापति कोइरालाले छिट्टै मुलुकले नयाँ सरकार पाउने बताउँदै सरकारको नेतृत्व भने काँग्रेसले नै गर्ने उनले दावी गरे ।
काँग्रेस केन्द्रीय सदस्य तथा सेना समायोजन विशेष समितिका सदस्य डा रामशरण महतले अनमिनको विकल्प विशेष समिति नै भएको बताए । विशेष समितिलाई लडाकूहरुको रेखदेख, नियन्त्रण र निर्देशनका लागि जिम्मेवारी संविधानले दिएकाले छुट्टै संयन्त्र गठनको आवश्यकता नभएको बताए ।