३३औँ मगर एकता दिवसबारे मगर अगुवाहरू के भन्छन ?

Read Time:9 Minute, 16 Second

३३ औँ मगर एकता दिवस नेपाल लगायत विश्वका विभिन्न मुलुकमा छरिएर रहेका मगर समुदायले यही फाल्गुण १५ गते शुक्रबार भव्य र उल्लासमय वातावरणमा मनाउँदै छन् । रुपन्देहीमा पनि यसको व्यापक रुपमा तयारीहरु भएका छन् । यसै सन्दर्भमा रहेर नेपाल मगर संघ केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगर लगायत रुपन्देहीमा सक्रिय नेपाल मगर संघसंग आबद्ध जिल्ला , नगर र वडा अध्यक्षज्युहरु तथा मगर अगुवाहरुको संक्षिप्त विचार ।  

प्रस्तुती : सनु थापा मगर

महेन्द्र थापामगर, अध्यक्ष, नेपाल मगर संघ केन्द्रीय समिति , काठमाडौं

            

यो ३३ औं मगर एकता दिवस ले विशेष गरेर अहिले जातीय सद्भाव र जातीय सचेतनाको लागि सन्देश प्रवाह गरोस् भन्ने उद्देश्यका साथ मनाउन गईरहेका छौं र संगसंगै यसै अवसरमा मगर अधिकार र सचेतनाको लागि काठमाडौंमा प्रथम पटक मगरहरुको अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्न गइरहेका छौं । यो सम्मेलनमा करीब १८ देशमा बसोबास गर्ने  मगरहरुको सहभागिता रहने छ । यसको सम्पुर्ण तयारी पुरा भएको छ । ईतिहास भाषा, संस्कृतिको संरक्षण र संबद्र्धन मगर संघको मुल मन्त्र नै हो । यसैमा संघीय लोकतान्त्रिक गणतन्त्र पनि जोडीएको छ । अहिले देशमा संविधान बनाउने समय चलिरहेको हुँदा हामी मगरहरु विचार र सिद्धान्तले फरक फरक हौँला तर अब मगरहरुको साझा मुद्दामा एक हुनु पर्छ भन्ने हो । यो मगर स्थापना दिवसलाई एकता दिवसको रुपमा मनाईरहँदा मगरहरु अझै एकता हुन जरुरी रहेको छ । मगरहरु आफ्नो मुद्दामा एक भएर उभिनु पर्छ । मगर दिवसको यस उपलक्ष्यमा सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना  व्यक्त गर्न चाहन्छु ।

दलबहादुर विरकट्टा मगर, अध्यक्ष ,नेपाल मगर संघ जिल्ला समिति, रुपन्देही

 

मगरहरुको जुन एकता दिवस हो यो मगरहरु जातीय स्वाभिमान जगाउनको लागि , मगरहरुको समृद्धिको लागि , अनुशासित , परिस्कृत र कमजारी पन्छाउने र मगरहरुको पहिचानसंग जोडेर हेर्नु मुल भुमिका रहन्छ । राज्यका हरेक तह र तप्कामा मगरहरुको पहुँच वृद्धि र  शैक्षिक जागरणसंग पनि यो दिवसको महत्व जोडिनु आवश्यक छ । आदिवासी जनजाति मध्ये प्रमुख जातिको रुपमा रहेको मगरहरुको यो राज्य निर्माणमा महत्वपुर्ण भुमिका रहँदै आएको छ । त्यसैले कुनै पनि कोणबाट यो राज्यले मगरहरुलाई अधिकारवञ्चित गर्न मिल्दैन । मगर दिवस भातृत्व जगाउनका साथै यो दिवस आन्दोलनको रुपमा पनि मनाउनुपर्छ ।  पहिचानबाट विमुख भएकाहरुलाई राज्यको मुल धारमा ल्याउनको लागि पनि पहलको रुपमा भुमिका खेल्नुपर्छ । सिङ्गो मगरहरुले अहिले भईरहेको जातीय राज्यको भ्रम चिर्न पनि महत्वपुर्ण भुमिका खेल्नुपर्छ । पहिचानको मुद्दामा पनि मगरहरुले महत्वपुर्ण भुमिका निर्बाहा गर्नु पर्छ । र यो ३३ औं मगर एकता दिवसको सुखद अवसरमा म व्यक्तिगत एबं नेपाल मगर संघ जिल्ला कार्य समिति रुपन्देहीको तर्फबाट देश विदेशमा रहनु भएका सम्पुर्ण मगर लगायत अन्य ग्रैह्र मगरहरुमा सुख शान्ति , समृद्धि एबं उत्तर–उत्तर प्रगतिको शुभकामना कामना व्यक्त गर्न चाहान्छु । 

अध्यक्ष, क्या. किशन बहादुर थापा मगर नेपाल मगर संघ बुटवल उपमहानगर पालिका, रुपन्देही

२०३९ साल फागुन १५ गतेका दिन तनहुँको दमौलीमा प्रथम राष्ट्रिय अधिवेशनमा नेपाल मगर संघले वैधानिकता प्राप्त गरेको थियो । यसै ऐतिहासिक दिनलाई मगर एकता दिवसको रुपमा मनाउँदै आईरहेका छौं । यसरी वैधानिकतालाई २०३९ लाई पर्खे पनि २००७ को प्रजातन्त्र पछि २०१२ साल तिर बाट नै मगर समाज सुधार लाङघाली परिवार, लाङघाली परिवार संघ जस्ता मगर समाजको एकता गतिविधिहरु चलेको थियो । २०१४ साल गुल्मीको भार्से र तनहुँको कुलुङ्मा मगरहरुलाई एकजुट गराउने काम भयो त्यस पछि लगातार मगरहरुले कार्यक्रमहरु गर्दै आएर नेपाल मगर संघको स्थापना भयो अथवा संघले बैधानिकता पायो ।

अध्यक्ष, प्रेम थापामगर नेपाल मगर संघ तिलोत्तमा नगर समिति , रुपन्देही

मगरहरुलाई एकताबद्ध बनाउने काम नेपाल मगर संघले गरेको छ । यसको स्थापना दिवसको अवसरमा अहिले ३३ औ दिवस मनाईरहँदा हामी संस्थागतरुपमा धेरै पाको भैसकेका छौं । हामिले ३३ बसन्त पार गरिसकेका छौं । मगर जागरणको हिसाबले यो उपलब्धी मान्नु पर्छ । तर अझै मगरहरुको समृद्धि भैसकेको छैन । मगर समुदायको विकास र पहुँचको लागि हामिहरुले अझै संघर्ष गर्न जरुरी छ । यसमा हामी सबै मगर दाजुभाईहरु एक भएर अगाडी बढ्नु पर्छ । कला र संस्कृतिको हिसाबमा धनी मगर समुदायले आफ्नो हक र अधिकारको लागि अब अन्तिम लडाँई लड्ने बेला भएको छ यसमा सबै मगर एक भएर लाग्न  आग्रह गर्छु ।

अध्यक्ष, श्याम राना मगर नेपाल मगर संघ गाउँ समिति मोतिपुर, रुपन्देही

मगर एकता दिवसलाई सिर्जनात्मक रुपमा मनाउन तर्फ प्रयास गर्नुपर्छ । पहिचान सहितको संघीयताको दवाबको लागि शक्ति प्रदर्शनको रुपमा पनि यो ३३ औँ मगर एकता दिवसलाई सदुपयोग गर्न जरुरी छ । मगर संस्कार र संस्कृतिको विकास र संरक्षण गर्दै आगामी नयाँ पुस्ताहरुले मगर समाजको बारेमा जान्न र बुझ्न मिल्ने बातावरणको अब सिर्जना  गर्नु पर्ने बेला भएको छ । यो मगर दिवसको अवसरमा सम्पुर्ण मगर दाजुभाई दीदि–बहीनीहरुको सुस्वास्थ र उज्वल भविष्यको कामना गर्दछु ।

अध्यक्ष माथवरसिङ सलामी मगर साबिक आनन्दवन गाउँ समिति, रुपन्देही

यो मगर दिवस मगरहरु एकता भएको दिवस हो । यसलाई सास्कृतिक पर्वको रुपमा विकास गर्न आवस्यक छ की छैन भन्ने बहस सुरु भएको छ । यो समय सान्दर्भिक पनि छ  तर यो उचित छ की छैन यो बारेमा सबैले बहस गर्न जरुरी  भएको छ । मगर एकता दिवसले सम्पुर्ण मगरहरुको एकता संगसंगै मगर भाषा , धर्म , संस्कार र सस्कृतिको पनि संरक्षण गर्दै लैजाने काम गर्न जरुरी देखिएको छ । यो गौरबको दिनमा मगर युवा पिडीहरुलाई आफ्नो पहिचान जोगाउन तर्फ लाग्न आग्रह गर्दछु ।

अध्यक्ष , सुर्य कुमार सारु मगर सिद्धार्थ यातायात व्यवसायी समिति

Surya Kumar Sarumagar

यो मगर दिवस खास गरेर मगर संघ स्थापना भएको कुरा हो , यसैलाई नै एकता दिवसको रुपमा मनाउँदै आईरहेका छौं । यसले मगरहरुलाई सांस्कृतिक र सामाजिक रुपमा एकता बनाएको छ । तर अब मगरहरु राजनैतिक र वैचारिक रुपमा पनि एकता हुन जरुरी भएको छ । यो मगर दिवस प्रत्येक वर्ष मनाईरहँदा मगरहरुलाई वैचारिक र राजनैतिक रुपमा एकै ठाउँमा बाँध्ने काम गर्नु पर्ने देखिन्छ । राजनैतिक रुपमा पनि मगरहरु एकता हुन सकेको खण्डमा यसैमा नै मगर समुदायको हित छ । त्यसैले यो ३३ औं एकता दिवस मनाईरहँदा मगरहरु सामाजिकरुपले मात्र होईन राजनैतिकरुपले पनि एकता हुनु पर्ने कुराको सन्देश जान जरुरी छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %