बुटवल, २४ पुस ।
मातृका यादवले पुनर्गठित गरेको नेकपा माओवादी र एमाओवादीबाट विद्रोह गरी संगठीत भएकाहरुले संयुक्त जनवादी मोर्चा नेपाल गठन गरेका छन् । भोलानाथ बस्याल अध्यक्ष रहेको २१ सदस्यीय केन्द्रीय समिति बनाएको मोर्चाले आउँदो २०६८ बैशाख २३ देखि २५ गते सम्म बुटवलमा प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ । मुलुकमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नभएकाले आफूहरु संयुक्त जनवादी मोर्चा गठन गरी क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लागेको शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुले घोषणा गरेका हुन् ।मोर्चाको महासचिवमा बेदप्रकाश शर्मा, उपाध्यक्षमा भगवति आचार्य, सचिवमा दानबहादुर घर्ती, कोषाध्यक्षमा नवराज दुलाल छन् । वर्गसंघर्षको उठान, राष्ट्रिय, जातीय, क्षेत्रीय र वर्गीय युद्ध र राष्ट्रियताको पक्षमा आफूहरुले आन्दोलन गर्ने अध्यक्ष बस्यालले बताए । पूर्व माओवादी लडाकु, अयोग्य लडाकु, पुनर्गठीत नेकपा माओवादी र एकीकृत माओवादीका क्षेत्रीय ब्यूरो र राज्य कमिटीका सदस्यहरु मोर्चामा संगठीत भएको पनि त्यस अवसरमा बताइएको थियो । मातृका यादवको माओवादी पार्टीमा क्षेत्रियता, अधिनायकवाद हावी हुनुको साथै योजना र राजनीति विनाको पार्टी भएको हुदा विद्रोह गरेको बताएका थिए ।
पुर्नगठीत माओवादीका संयोजक मातृका यादवले आफूहरुमाथि आर्थिक अनियमितताको आरोप लगाएको भए त्यसलाई पुष्टि गर्न चुनौती दिंदै बस्यालले प्रत्येक जिल्ला कमिटी, क्षेत्रीय कमिटी र केन्द्रीय कमिटीको हिसाव बुझ्न र बुझाउन यादवलाई केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरे ।
गोविन्द घर्ती