मनोज घर्तीमगर
पोखराका नेवार युवतीहरुमाझ सुन्दरी प्रतियोगिता हुने भएको छ ।
नेवा खलः कास्कीको आयोजनामा हुने पाँचौ सँस्करणको ‘मिस नेवाः पोखरा’ को फागुन १ गतेदेखि प्रतियोगितामा आउने नेवार समुदायका युवतीहरुलाई प्रशिक्षण दिन शुरु हुनेछ । प्रतियोगितामा २५ जनाले सहभागिता जनाउनेछन् । एक महिने प्रशिक्षण पछि पाँचौ सँस्करणको मिस नेवाः छनौटका लागि चैत ७ गते अन्तिम प्रतिस्पर्धा हुनेछ ।
‘पछिल्लो पुस्तालाई नेवार सँस्कृति बुझाउन यस्तो प्रतियोगिता प्रभावकारी माध्यम भएको हाम्रो अनुभव छ’ नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले भने–‘त्यसैले हामी वर्षेनी नेवार समुदायका युवतीहरुमाझ सुन्दरी प्रतियोगिता गर्दै आएका छौँ ।’ प्रतियोगिताको क्रममा युवतीहरुलाई नेवार समुदायको भाषा, स“स्कृति, इतिहास र रहनसहनको बारेमा विशेष रुपमा सिकाइने उनले बताए । विजेताले उपाधीसहित ४० हजार रुपैँया पुरस्कार पाउनेछिन् । फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १५ हजार रुपैँया पुरस्कार पाउनेछिन् । त्यस्तै ६ वटा विभिन्न विधामा प्रतियोगीहरुलाई पुरस्कृत गरिने आयोजकले बताएको छ । हरेक विधामा उत्कृष्ट हुनेले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् ।
चारवटा सँस्करण पुरा भैसकेको मिस नेवाः पोखरामा अहिलेसम्म निकिता श्रेष्ठ, रश्मिता नकर्मी, समुना बज्राचार्य र रुची श्रेष्ठ टाईटल जितेका छन् ।