देविका घर्तीमगर
दाङ, माघ २४ – नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय समितिले दाङका ४० जना मुक्त कमलहरीलाई छात्रबृत्ति रकम सहयोग गरेको छ ।
महासंघले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी आर्थिक अवस्था अत्यन्तै विपन्न भएका ४० जना कमलहरीलाई प्रतिब्यक्ति ५००० रुपैयाँका दरले छात्रबृत्ति रकम सहयोग गरेको हो । महासंघका केन्द्रिय महासचिव पेम्बा गुरुङ भोटेले उक्त रकम मुक्त कमलहरी विद्यार्थीहरुलाई हस्तान्तरण गरेको हो । मुक्त कमलहरी विकास मञ्च केन्द्रिय समितिको आयोजनामा एक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा छात्रबृत्ति रकम हस्तान्तरण गर्दै नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय महासचिव पेम्बा गुरुङ भोटेले मुक्त कमलहरीहरुका निमित्त महासंघले सानो रकमबाट सहयोगको शुरुवात गरेको बताए । कमलहरीलाई पुर्नस्थापना गर्नका निमित्त राज्यले उचित कार्यक्रम ल्याउनुपर्ने बताउँदै महासचिव भोटेले महासंघको तर्फबाट पनि सक्दो पहलकदमी गरिने जानकारी दिए । मुक्त कमलहरी विकास मञ्च दाङका अध्यक्ष उर्मिला चौधरीको अध्यक्षता तथा महासंघका महिला सचिव यशोदा चौधरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले मुक्त कमलहरीहरुका निमित्त प्राप्त सहयोग सही ठाउँमा उपयोग गर्न आग्रह गरेका थिए ।
मुक्त कमलहरी विकास मञ्चका कोषाध्यक्ष गीता चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा महासंघ दाङका अध्यक्ष तिलबहादुर पुनमगर, थारु कल्याणकारीणी सभा दाङका अध्यक्ष तेजबहादुर चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) दाङका अध्यक्ष देविका घर्ती मगर, नेपाल कुसुण्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुण्डालगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा महासंघका केन्द्रिय कानुनी सल्लाहकार रामजी कोङ्रेनले महासंघले ल्याएको छात्रबृत्ति कार्यक्रमको बारेमा जानकारी दिएका थिए भने, नेपाल युथ फाउण्डेशनका परामर्शदाता ज्ञानु थापाले क्षमता विकास सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजिकरण मुक्त कमलहरी विकास मञ्चका संस्थापक अध्यक्ष मञ्जिता चौधरीले गरेका थिए ।
मुक्त कमलहरीका निमित्त नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय समितिले यसअघि दाङका चार गाविसका अति विपन्न कमलहरीलाई छात्रबृत्ति रकम सहयोग गर्दै आएको थियो ।