मनोज घर्ती मगर
सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाजले गरेको ‘दोस्रो म्यूजिकल फेस्टिभल’मा पोखरेलीहरुले भरपुर मनोरञ्जन लिएका छन् । तामाङ समुदायका युवायुवतीसगै अन्य जातजातिका युवायुवती पनि बुधबार पोखराको प्रदर्शनी केन्द्रमा कम्मर मर्काइ मर्काइ नाँचे । चिसो साझ भएपनि कलाकारको प्रस्तुतीमा पोखरेली युवा पुस्ता असिन पसिन भए । कन्सर्टमा गायक निमा रुम्बा युवायुवतीहरुको विशेष आकर्षण बने । त्यस्तै शितल मोक्तान, रोज मोक्तानको प्रस्तुतीमा पनि उनीहरु खुब उफ्रिएर नाचे । कन्सर्टमा तृष्णा गुरुङ, जि नाईन ब्याण्ड र अल्जाईमर ब्याण्डको प्रस्तुती भैरहदा दर्शकले उनीहरुलाई पूरै साथ दिए ।
ल्होसार संस्कृतिको संरक्षण एवं पोखरा –६ लेकसाइडस्थित निर्माणाधिन तामाङ शान्ति गुम्बाका लागि रुपैंया संकलन गर्ने उद्देश्यले म्युजिक फेस्टिभल गरिएको बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले बताए । उनका अनुसार गुम्बा निर्माणका लागि अनुमानित झण्डै डेढ करोड रुपैया खर्च लाग्नेछ । ल्होसार कन्सर्टबाट झन्डै १० लाख रुपैया बचत हुनेछ । कन्सर्ट साझ सात बजेसम्म चलेको थियो ।
