मुककाजी (काजी) गुरुङ, हङकङ
मिति २५ जनवरी २०१५ का दिन मंकी हिलमा तमु जातिको एक थर मध्ये “प्हच्यु” भाई खलकहरुले ल्हु ल्होसार तथा माघे सक्रांन्तिको शुभ अवसरमा आफ्नो तेस्रो भेट्घाट कार्यक्रम सम्पन्न गरेका छन ।

कार्यक्रममा प्हच्यु भाई खलकका दाजुभाई, बुहारीहरु, चेलीबेटी तथा ज्वाईंहरु र भान्जाभान्जीहरु सबैलाई समेटिएको थियो । सयौंको संख्यामा उपस्थित प्हच्यु भाई खलकहरुले एक आपसमा ल्होसारको शुभकामना आदानप्रदान गरेका थिए । माघे सक्रान्तिको अवसर पारेर दाजुभाईहरुले आफ्नो चेलीबेटी, ज्वाईं तथा भान्जाभान्जी हरुलाई आमन्त्रण गरेका थिए भने चेलीबेटीहरुले आफ्नो दाजुभाईहरु लाई परम्परा अनुसार सेल रोटी र माघे सक्रान्तिको बिशेष खानाको परिकार तरुल कोसेली स्वरुप लगेका थिए ।
कार्यक्रममा छोटो औपचारिक कार्यक्रम सम्पन्न गरेका थिए । प्हच्यु भाई खलकका अध्यक्ष तेज बीर पहच्यु तमुको अध्यक्षतामा प्हच्यु भाई खलकका अग्रज सदस्य भिम राज प्हच्यु तमु र वहांको धर्मपत्नी सुना तमुलाई पनि मञ्चमा आसिन गराएका थिए । यसै क्रममा भिम प्हच्यु तमु स्थायी रुपमा स्वदेश (नेपाल) फर्किने कार्यक्रम रहेको हुंदा वहां लगायत वहांको धर्मपत्नी सुना तमुलाई अध्यक्ष तेज बीर पहच्यु तमुले फेटा तथा पछ्यौरा (क्रमु) ओढाई फूलको गुच्छाद्वारा सम्मान तथा बिदाई गरे ।
यसैक्रममा भिम प्हच्यु तमुले आफ्नै प्हच्यु भाई खलकबाट यति ठूलो मान सम्मान पाउंदा ज्यादै खुशी ब्यक्त गरे भने भाई खलकबाट पाएको उक्त मान सम्मानलाई जिबन भर नबिर्सने वाचा गरे । यसैगरि नेपालमा रहेर पनि प्हच्यु भाई खलकलाई आफुबाट हुन सक्ने सहयोग, सल्लाह तथा सुझाबहरु दिईरहने बताए र प्रवासमा रहेर पनि आफ्नो भाई खलकलाई अझ बिस्तार गरेर अगाडि बढाउंन सम्पूर्ण भाई खलकलाई आग्राह गरे ।
अन्तमा अध्यक्ष तेज बीर पहच्यु तमुले हङकङस्थित तमु प्हच्यु भाई खलकले आयोजना गरेको कार्यक्रमलाई आफ्नै कार्यक्रम सम्झेर उपस्थित भईदिएकोमा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे भने आउंदो दिनहरुमा पनि प्हच्यु भाई खलकले आयोजना गरेको कार्यक्रमहरुमा उपस्थित भईदिनको लागि उपस्थित भाई खलकका दाजुभाई, चेलीबेटी तथा ज्वाईंहरु र भान्जा भान्जी हरुलाई आग्रह गरे ।
यसैगरि भाई खलककै सदस्य भिम राज प्हच्यु तमु तथा वहांको धर्म पत्नी लामो समय पश्चातको हङकङ बसाईलाई त्यागेर स्वदेश जाने खबरले दुख लागेको बताए भने वहांको नेपाल बसाई तथा नेपालको कार्यकाल प्रति सफलताको शुभकामना ब्यक्त गरे ।
कार्यक्रमलाई प्हच्यु भाई खलकका सचिव भोजेन्द्र प्हच्यु तमुले सञ्चालन गरेका थिए भने सचिव भोजेन्द्र प्हच्यु तमुले आफ्नो दाजुभाईहरुको लागि माघे सक्रांन्तिको लागि ल्याएको कोसेली प्रति चेलीबेटीहरुलाई बिशेष धन्यवाद ब्यक्त गरे ।